
गोपाल झापाली
झापा / झापाको दमकबाट रंगमञ्च यात्रा शुरु गरेका दमकका किरण चाम्लिङ्ले छोटो समयमा रंगमञ्च र चलचित्रमा सिक्ने तथा काम गर्ने अवसर पाए । २०६९ को तिहार मनाएर संघर्षका लागि काठमाडौं होमिएका उनले ४ वर्ष जति शिल्पि थिएटरमा विताए । सत्यमोहन जोशीद्वारा लिखित मोजिपा लाखे, भवानी भिक्षूले लेखेको हारजीत लगायत कोमा अ पोलिटिकल सेक्स, यल्लो कमेडी, थाङ्ला जस्ता नाटकहरुमा अभिनय गरे । निराखिने अवसर पाए । उपेन्द्र सुव्वाको कथा ‘लाटो पहाड’लाई नाटकमा उतारे, निर्देशन गरे । वीएस राईको ‘जोखाना’ कथालाई नाटक बनाए । सँगै उनको चलचित्र यात्रा पनि शुरु भयो । चलचित्रमा निर्देशन समूहमा रहेर सिक्ने मौका पाए । पुरानोडुंगा र मिष्टर झोलेको सहायक निर्देशन टीममा रहे काम गरे । साईलीमा सहायक निर्देशकसँगै अभिनय पनि गरे । सेन्टी भाईरस र जारीको सहायक निर्देशक पनि भए । अहिले उनी गाउँ फर्किएका छन् ।
दमकबाट रंगकर्म थालेका सिजन दाहाल पनि ०७० सालमा काठमाडौ हानिए । दमकबाट रंगमञ्चको धित नपरे पनि मण्डला थिएटर पुगेका उनले मण्डलाको चौथो व्याचका रुपमा सिक्ने मौका पाए । राजन खतिवडा, दयाहाङ् राई लगायतले उनलाई धार लगाए । मण्डलाका विभिन्न नाटकमा लेखन र निर्देशन समुहमा रहेर काम गरेको अनुभवले शंकर लामिछानेको ‘उ कसको हो’ कथालाई नाट्य रुपान्तरण गरे । बुद्धिसागरको कथालाई ‘गैंडा टाईम्स’ नाटक बनाए र निर्देशन पनि गरे । जुन नाटक अन्तर्राष्ट्रिय नाटक महोत्सवमा पनि प्रदर्शन भयो । यस्तै उपेन्द्र सुव्वाको कथालाई ‘मरिचेको चुपी’ नाटक बनाएर आफ्नो क्षमता मञ्चन गरेका उनले राजन खतिवडासँग मिलेर नाटकको पुस्तक ‘आधा सत्य’ पनि लेखे । छोटो समयमानै रंगमञ्चमा खरो रुपमा उभ्याएका उनले चलचित्र ‘पुरानो डुंगा’ तथा ‘मिष्टर झोले’ को सहायक निर्देशक बने । ‘जारी’, ‘सेन्टी भाईरस’ तथा ‘कवडी कवडी कवडी’ मा मुख्य सहायक निर्देशक भएर देशका स्टार कलाकारहरुलाई आफ्नो चालमा अभियन पनि गराए । रंगमञ्च, निर्देशनसँगै लेखन कार्यमा पनि आफुलाई उभ्याएका उनले चलचित्र ‘चचहुई’ तथा ‘माछा माछा’ को संयुक्त पनि लेखन गरे । उनी पनि अहिले गाउँमा आएका छन् ।
किरण तथा सिजन मात्र होईन । काठमाडौ पुगेर रंगमञ्चमा आफुलाई अभ्यास गराएका, जारी तथा देश खोज्दै जाँदा लगायतका चलचित्रमा अभिनय गरेका तिव्वत राई पनि अहिले आफ्नो रंगमञ्चको जग दमकमै रमाएका छन् । बिभिन्न नाटक तथा चलचित्रमा आफुलाई उभ्याएका मौसम राना लगायतका एक दर्जन बढि कलाकार पुनः अहिले दमकमा रंगमचको जग बसाउँदैछन् । उनीहरुको मियो बनेका छन्, दर्जनौ नेपाली चलचित्रमा अभिनय गरेका कलाकार हेमन्त बुढाथोकी । उनको अध्यक्षतामा बनेको कदम थिएरमा जुटेका कलाकारहरु अहिले संयुक्त रुपमा आफ्ना कदम अघि बढाई रहेका छन् । आफ्ना दौतरीहरुलाई नाटकको अभ्यास समेत गराउँदै आएका सिजन भन्छन्–‘काठमाडौमा केहि समय सिक्ने र काम गर्ने अवसर पाईयो, अब त्यो ज्ञान यहाँ साथीहरुलाई बाँढिरहेका छौं ।’ दमक नगरपालिकाले उपलव्ध गराएको जमिन र प्रदेश सरकार मार्फत प्राप्त बजेटले रंगमञ्चको भौतिक संरचनाको जग हाल्न अहिले उनीहरु जुटेका छन् । आफुले रंगमञ्चमा पाईला हालेको आफ्नै ठाउँमा नाटक घर बनाउने र नाट्य अभ्यासलाई निरन्तरता दिने लक्ष्य सहित थिएटर बनाउन जुटेको कुशल बताउँछन् ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा भई रहेका नाट्य अभ्यासबारे नयाँ कलाकारहरुलाई जानकारी गराउन थिएटरले कार्यशाला पनि सम्पन्न गरेको छ । नाटक अभ्यासलाई निरन्तरता दिन कलाकारहरुलेनै अस्थाई टहरा बनाएका छन् । त्यसैलाई उनीहरुले थिएटर मानेका छन् । व्यवस्थित थिएटर नबने सम्मका लागि कलाकारहरु आँफै खटेर बाँसले बारेको र परालले छाएको नाटक घर बनाएको थिएटरका सचिव मोहन ढुंगानाले बताए । सोहि थिएटरलाई अहिले कलाकारहरुले आफ्नो अभ्यास थलो बनाएका छन् । कलाकारहरु थिएटरमै खाना बनाउँछन्, थिएटरमै सुत्छन् । बाँकि सवै समय नाटककै अभ्यास गर्छन् । दैनिक नाटक अभ्यास गर्दै आएकी चोमू शेर्पाले भनिन्–‘अहिले हाम्रो घर भने पनि मन्दिर भने पनि थिएटरनै हो, अहिले नाट्य अभ्यासका लागि तपस्या थलोको रुपमा थिएटरमा अभ्यास गरि रहेका छौं ।’janasamsadonline



