खबरहेड लाइन

सत्ताइस लाख लाइसेन्स छापिए

लक्ष्मण दर्नाल

काठमाडौँ, साउन १ गते । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा उत्तीर्ण गरेपछि प्रिन्ट लाइसेन्स प्राप्त गर्न बर्सौं कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । बर्सौंदेखि छाप्न बाँकी रहेका २७ लाख प्रति लाइसेन्सको छपाइ सम्पन्न भएपछि अब बर्सौं कुर्नु नपर्ने भएको हो ।

सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची अनुसार लाइसेन्स छपाइ कार्यलाई तीव्रता दिइएपछि बर्सौंदेखि बाँकी रहेको काम तीन महिनामै सम्पन्न भएको छ । चार वर्षदेखि छाप्न बाँकी रहेका २९ लाख प्रति लाइसेन्समध्ये २७ लाख प्रति छपाइ सम्पन्न भएको र बाँकी दुई लाख लाइसेन्सको समयावधि एक वर्षभन्दा कम भएकाले तत्काल नछापिएको सुरक्षण मुद्रण केन्द्रले जनाएको छ ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको विशेष पहल, निरन्तर समन्वय र उच्च प्राथमिकताका कारण लामो समयदेखि छपाइ हुन बाँकी रहेका सबै २७ लाख सवारीचालक अनुमतिपत्र छपाइ सम्भव भएको हो । सञ्चारमन्त्री डा. तिमिल्सिनाले पदभार ग्रहण गरेदेखि नै नागरिकले सहज र समयमै सेवा पाउनुपर्ने विषयलाई प्राथमिकतामा राख्दै स्मार्ट लाइसेन्सको बर्सौंदेखिको ‘ब्याकलग’ अन्त्यलाई मन्त्रालयको प्रमुख कार्यसूचीमा राख्नुभएको थियो ।

केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाले भन्नुभयो, “बर्सौंदेखि छाप्न बाँकी रहेका लाइसेन्स छापिएका छन् । अब नियमिततर्फको जान्छ। पुराना बाँकी छैनन् ।” यातायात व्यवस्था विभागसँग दुई चरणमा सम्झौता गरेर लाइसेन्स छापिएको थियो । पछिल्लो सम्झौता असार मसान्तसम्मको थियो । सम्झौता अनुसार तोकिएकै समयमा छपाइ कार्य सम्पन्न भएको उहाँको भनाइ छ ।

पहिलो सम्झौतामा १६ लाख ५५ हजार प्रति छापिएको थियो भने दोस्रो सम्झौतामा १० लाख छापिएको छ । मुद्रण केन्द्रले अतिरिक्त समय गरी दैनिक ५० देखि ६० हजारसम्म प्रिन्ट गरेको थियो । दोस्रो सम्झौता वैशाख ४ गते भएको थियो । छापिएका लाइसेन्स सम्बन्धित यातायात कार्यालयमा वितरणका लागि विभागले पठाइरहेको छ ।

२०७२ सालमा लागु भएको स्मार्ट लाइसेन्स सुरुकै दिनदेखि छाप्न बाँकी रहँदै आएको थियो । सुरुवाती दिनमा दैनिक माग करिब पाँच हजार रहँदा दैनिक दुई हजार पाँच सयसम्म छाप्ने गरिएको थियो । जसले गर्दा क्रमशः छाप्न बाँकी लाइसेन्सको सङ्ख्या थपिँदै जाँदा २९ लाखसम्म पुगेको हो । सेवाग्राहीले प्रिन्ट लाइसेन्स प्राप्त गर्न कम्तीमा तीन वर्षसम्म कुर्नुपर्ने बाध्यता रहेको थियो । काठमाडौँ उपत्यकाबाहिरका यातायात कार्यालयमा हुलाकबाट पठाइएको छ ।

केन्द्रले छापेको लाइसेन्समा क्युआर राखिएको छ । पहिला विभागले छापेकोमा चिप्स राखिएको थियो । गुणस्तरका हिसाबले चिप्स राखिएको लाइसेन्स राम्रो मानिए पनि क्युआरसहितको हालको लाइसेन्स नेपालमा छाप्न सकिने उच्च गुणस्तरको भएको उपसचिव तिमिल्सिनाले बताउनुभयो । पहिला चिप्स रिड गरेर चेकजाँच गरिन्थ्यो भने अब क्युआर रिड हुने छ ।

हाल अत्यावश्यक, नियमित र छाप्न बाँकी गरी तीन प्रकारले लाइसेन्स छापिएका छन् । अत्यावश्यक विभागबाटै वितरण हुन्छन् भने नियमित र पुराना छापिएका लाइसेन्स सम्बन्धित कार्यालयमा पठाइएको छ । अब केन्द्रले नियमिततर्फको लाइसेन्स छाप्ने छ । विभागका अनुसार हाल नेपालमा दैनिक तीन हजारदेखि पाँच हजारको सङ्ख्यामा लाइसेन्सको माग छ ।

मुद्रण केन्द्रले ट्रायल परीक्षा उत्तीर्ण गरी राजस्व बुझाएका तथा अनुमतिपत्र नवीकरण गरेका सेवाग्राहीको यातायात व्यवस्था विभागबाट दैनिक प्राप्त हुने करिब तीन हजारदेखि पाँच हजार विवरणका आधारमा २४ घण्टाभित्रै स्मार्ट लाइसेन्स छापेर विभागलाई हस्तान्तरण गर्दै आएको पनि मन्त्रालयले जनाएको छ । यस व्यवस्थाबाट नयाँ लाइसेन्स वितरण प्रक्रिया थप छिटो र व्यवस्थित भएको छ ।

मन्त्रालयका अनुसार मुद्रण केन्द्रमार्फत अब सातै प्रदेश सरकार तथा सम्बन्धित यातायात मन्त्रालयसँग समन्वय गरी सवारीचालक अनुमतिपत्र छपाइसम्बन्धी सम्झौता गर्ने तयारी भइरहेको छ । मुद्रण केन्द्रका अनुसार सवारीचालक अनुमतिपत्रसँगै नागरिकता, राष्ट्रिय परिचयपत्र, अन्तःशुल्क स्टिकर, हुलाक टिकट तथा जग्गाधनी प्रमाणपत्रलगायत अन्य सुरक्षण मुद्रण सामग्री पनि स्वदेशमै उत्पादन गर्ने तयारी भइरहेको छ । यस्ता सुरक्षण मुद्रण सामग्री स्वदेशमै उत्पादन हुन थालेपछि बिदेसिने करोडौँ रुपियाँ बचत हुनुका साथै स्वदेशभित्रै पुँजी परिचालन, रोजगारी सिर्जना र गुणस्तरीय सार्वजनिक सेवा प्रवाहमा महìवपूर्ण योगदान पुग्ने सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button