खबर

कोभिड–१९ : स्वास्थ्य सेवामा वरदान बन्दै छ भारतीय हुलाक सेवा

कोरोना नियन्त्रणका लागि चार सातादेखि लकडाउनमा रहेको भारतीय जनजीवन जटिल बनिरहेको वेला त्यहाँको हुलाक सेवा सक्रिय बनेको छ । लकडाउनका कारण औषधि आपूर्तिमा असहज परिस्थिति उत्पन्न भएपछि हुलाक सेवाले आफ्नो सक्रियता देखाएको हो ।

भारतमा विश्वकै सबैभन्दा ठूलो हुलाक सेवा छ । हुलाकका राता भ्यान विभिन्न सडकमा कुदिरहेको दृश्यसँग धेरै भारतीय परिचित छन् । हजारौँ किलोमिटरको दूरी तय गरेर ती भ्यान ग्रामीण क्षेत्रमा पुग्छन् । देशको हुलाक सेवाको सञ्जालमा ६ लाख गाउँ जोडिएका छन् ।

हुलाकले केवल पत्र मात्र आदानप्रदान गरेको छैन, लाखौँ भारतीयका लागि रकम बचत गर्ने एउटा माध्यम पनि बनेको छ । तर, समयक्रम र आवश्यकताअनुसार हुलाकले आफ्नो सेवाको दायरा पनि फराकिलो पारेको छ । पछिल्लो समयमा देशभरको यातायात सेवा ठप्प भइरहेको हुलाकबाट नै औषधि र उपकरणहरू विभिन्न स्थानमा वितरण गर्न थालिएको छ ।

कोरोना नियन्त्रणका लागि मार्च २४ देखि लकडाउन सुरु भएसँगै अत्यावश्यकीय सेवाबाहेक अन्य सबै गतिविधि ठप्प छन् भने एक अर्ब ३३ करोड मानिस घरभित्र बस्न बाध्य छन् । बन्दका कारण अस्पताल, औषधि कम्पनी, ल्याबजस्ता कोरोनाविरुद्धको अग्रमोर्चामा रहनुपर्ने सेवासँग सम्बन्धित असंख्य उद्योग बन्द छन् ।

‘हामीले असंख्य समस्या झेलिरहेका थियौँ । ग्राहकलाई आफ्ना सामग्री पठाउन सामान्यतया हामी कुरिअरमा निर्भर थियौँ । तर, कफ्र्यु पास नभएकाले कुरियर सेवा पनि ठप्प छ । तर, हुलाक हाम्रा लागि वरदान साबित भएको छ,’ भारतको औषधि निर्माता संघ (आइडिएमए)का कार्यकारी निर्देशक अशोक कुमार मदन भन्छन् । आफ्ना अधिकांश उत्पादन मुटु र क्यान्सरसँग सम्बन्धित भएको उनी बताउँछन्।

केही दिनअघि निर्देशक मदनलाई उत्तर प्रदेशको हुलाक सेवाका वरिष्ठ निरीक्षक आलोक ओझाले फोन गरे । अहिलेको संकटको समयमा हुलाक सेवाको दायरालाई अझै फराकिलो बनाउने योजनामा रहेको ओझाले मदनलाई सुनाए । ‘छलफलपछि हुलाक सेवा निर्बाध ढंगले देशमा पहुँच बढाइदिन सहमत भयो,’ मदनले भने । भारतीय हुलाक सेवा अत्यावश्यकीय सेवाअन्तर्गत परेकाले पनि अहिलेको संकटमा आफ्ना गतिविधि सञ्चालन गर्न अनुमति पाएको हो । ‘हाम्रो आपूर्ति सञ्जाल संकटको समयमा पनि सक्रिय रहेकाले औषधि बजारलाई सहयोग ग-यौँ,’ ओझा भन्छन् ।

औषधि क्षेत्रसँग सम्बन्धित धेरै मानिसले फोनमार्फत सहयोग मागेको ओझाको भनाइ छ । अहिले विभिन्न प्रदेशमा हुलाकले नै स्वास्थ्यसेवासँग सम्बन्धित औषधि तथा उपकरण एक ठाउँबाट अर्को ठाउँमा पु¥याएर जीवनरक्षकको काम गरेको छ ।

ओझाका अनुसार लकडाउन सुरु भएपछि हुलाक सेवाले औषधिदेखि कोभिड–१९ परीक्षण गर्ने किट, एन–९५ मास्क, भेन्टिलेटर, अन्य औषधि र अन्य उपकरणहरू राता भ्यानमा एउटा सहरदेखि अर्को सहरमा पठाउन थालेको छ । तर, लामो दूरीमा अत्यावश्यकीय उपकरण पठाउन हुलाककै कार्गो विमानको प्रयोग गरिएको छ । अहिलेको संकटको समयमा आफूहरूलाई आएका सबै अनुरोध हुलाकले पालना गरेको छ ।

‘हामी भारतमा सबैभन्दा ठूलो सञ्जाल भएको कम्पनी हौँ । यस्तो अवस्थामा हामीले सहयोग गर्नुपर्छ भन्ने मान्यता हो,’ ओझा भन्छन् । थप तीन साता लकडाउन लम्ब्याइएसँगै आगामी दिनमा हुलाकको भूमिका अझै बृहत् हुने देखिएको छ ।

हुलाक सेवाप्रति आमस्वास्थ्यकर्मीको विश्वास बढेको छ । ‘अहिलेको संकटमा हुलाकले साँच्चै नै जीवनरक्षकको काम गरेको छ,’ उत्तर प्रदेशका एक स्वास्थ्यकर्मी बताउँछन् । हुलाक सेवाको दायरा सबै राज्यमा बढाउनुपर्ने उनको भनाइ छ ।

दिल्ली सरकारी अस्पतालमा मिडिया सेल

नयाँदिल्लीमा रहेका सरकारी अस्पतालमा मिडिया सेल स्थापना गरिने भएको छ । मंगलबार नयाँदिल्ली सरकारले सो निर्णय गरेको हो । नयाँदिल्लीमा रहेका सबै सरकारी अस्पतालले कोभिड–१९ बारेको सूचना सम्प्रेषणमा सहयोग पु¥याउन मिडिया सेल स्थापना गरिएको उनले बताए ।

सेलबाट सम्प्रेषण हुने सूचनाले नागरिकसमक्ष कोभिड–१९ बारे सही जानकारी पुग्ने विश्वास गरिएको छ । अहिले कोभिड–१९ का विषयमा सञ्चारमाध्यमका साथै सामाजिक सञ्जालमा पनि फरक–फरक समाचार आएकाले नागरिकलाई द्विविधा भएको भन्दै ती सबैखाले सूचनालाई एकै ठाउँबाट सम्प्रेषण गर्न सेलले सहयोग गर्ने दिल्ली सरकारले जनाएको छ ।

सोमबार नयाँदिल्लीको एक सरकारी अस्पतालमा ज्वरो आएर पुगेका एक पुरुषलाई कोरोना भाइरसको त्रासले त्यहाँका चिकित्सकले उपचार गर्न नमानेको भिडियो सामाजिक सञ्जालमा आएको थियो । आफ्ना बुबाले भारतको राजधानीजस्तो नयाँदिल्लीकै सरकारी अस्पतालमा पनि उपचार नपाएको भन्दै पीडितकी छोरीको भिडियो सामाजिक सञ्जालमा फैलिएको थियो । त्यसपछि यस रोगसम्बन्धी समाचारलाई व्यवस्थित र विश्वासयोग्य बनाउन अलग्गै मिडिया सेलको स्थापना गर्न नयाँदिल्ली सरकारले आदेश दिएको हो ।nayapatrikadainik/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button