कृषि र किसान

असिना पानी र हावाहुरीले मकै, तरकारी र केरामा क्षति

चितवन। चितवनमा आएको हावाहुरी र असिनापानीले पूर्वी चितवनमा नगदे बालीमा पारेको असरको तत्काल लगत सङ्कलन गरिने भएको छ ।

जिल्ला समन्वय समिति चितवनले यहाँ आयोजना गरेको कृषिजन्य उत्पादनका क्रियाकलाप लाई सञ्चालन गर्नका लागि समन्वयात्मक बैठकमा तत्काल क्षतिको लगत सङ्कलन गर्ने निर्णय गरिएको हो ।

कालिका, रत्ननगर र खैरहनी र राप्ति नगरपालिकामा परेको असिना पानी र हावाहुरीले मकै, तरकारी र केरामा क्षति पुगेको छ । क्षतिको कृषि ज्ञान केन्द्र भरतपुरले प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना र स्थानीय तहहरुसँग समन्वय गरेर विवरण लिई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत सम्बन्धित निकायमा पठाइने भएको छ ।

बैठकमा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटी ले हावाहुरी र असिनाका कारण पूर्वी चितवनका कृषकले ठूलो नोक्सान व्यहोर्नु परेको भन्दै राहतका लागि आवश्यक पहल थाल्नुपर्ने बताउनुभयो । कृषि ज्ञान केन्द्रको सिफारिसमा साल्ट ट्रेडिङ र कृषि सामग्री संस्थानले मल बीउ वितरण गर्न आग्रह गर्दै अहिलेका बालीलाई आवश्यक पर्ने मल बीउ व्यवस्थापन गर्न उहाँले आग्रह गर्नुभयो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले मल, बीउ, औजार र कृषिजन्य उत्पादनको ढुवानीमा रोक नलगाइएको तर भीडभाड गर्न नहुने बताउनुभयो । कृषि ज्ञान केन्द्रको सिफारिसमा कृषिजन्य उत्पादन र बजारीकरणमा सहजीकरण गर्न प्रशासन सकारात्मक रहेको उहाँले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकाल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सिना, साल्ट ट्रेडिङ लिमिटेडका चितवन प्रमुख बुद्धिविनोद दाहाल र कृषि सामग्री केन्द्र चितवनका प्रमुख रवीन्द्र गौतमले कृषि उत्पादन, बजारीकरण र मल बीउको अहिलेको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।halokhabar/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button