खबर

एक दिवशीय अन्तरकृया सम्पन्न

१९मंसिर २०७७
चौतारी पोष्ट अनलाइन
काँकरभिट्टा÷ ‘बाल विवाह तथा कम उमेरमा हुने विवाह न्यूनिकरण परियोजना’ अन्तर्गत जनप्रतिनिधि तथा सरोकारवालासँग शुक्रबार अन्र्तक्रिया गरिएको छ ।
झापाको मेचीनगर, कचनकवल र बाह्रदशी गाउँपालिकामा सो परियोजना सञ्चालन गर्दै आएको महिला जनचेतना केन्द्र काँकरभिट्टाले उक्त अन्र्तक्रिया आयोजना गरेको हो ।
छलफलका क्रममा एम्नेष्टि इन्टरनेशनल नेपालका पूर्व अध्यक्ष हेमकुमार खड्काले बलात्कारका घटनाले समाजमा डरलाग्दो रुप लिईरहनु चिन्ताजनक विषय भएको बताए ।
‘बलात्कार सम्बन्धी घटनाले कहाली लाग्दो रुप लिईरहँदा अपराधीलाई फाँसी दिईनुपर्ने आवाज गुञ्जिने गर्छ’ कार्यक्रमका प्रमुख वक्ता खड्काले भने–‘घटना संवेदनशील हुँदा हुँदै पनि फाँसीको दण्ड भने संयुक्त राष्ट्र संघले स्वीकार्दैन ।’
जुनसुकै अपराधका घटनामा पनि फाँसीको सजाय मानव अधिकार विपरीत भएकाले संयुक्त राष्ट्र संघले जारी गरेको मानव अधिकार सम्बन्धी घोषणा पत्रले मृत्युदण्डलाई नस्वीकार्ने मानव अधिकारकर्मी खड्काले स्पष्ट पारे ।
समाजमा चेतनाको स्तर बढ्दै गएपनि अपराधका घटनामा कमी नआएकोप्रति चिन्ता प्रकट गर्दै खड्काले हिंसाजन्य घटना न्यूनिकरण गर्न हरेक व्यक्ति सचेत र संवेदनशील बन्नुपर्नेमा जोड दिए ।
त्यसक्रममा राष्ट्रिय महिला आयोगकी उजुरी व्यवस्थापन अधिकृत विमला खड्काले पछिल्लोसमय लैंगिक हिँसाका घटना विकराल बनिरहेको चर्चा गरिन् ।
घटनाका पीडित पक्षलाई न्याय दिलाउन आयोगले निर्वाह गर्दै आएको भूमिका बारे स्पष्ट पार्दै अधिवक्ता खड्काले स्थानीय सरकार गठनपछि बनेको न्यायिक समिति हिंसा निवारणमा सहयोगी बन्दै गएको बताईन् ।
‘समितिमा विशेष गरी सीमा विवादका उजुरी बढी पर्ने गरेका छन्’ उनले भनिन्–‘महिला हिंसाका घटना अहिले साइबर अपराधसँग जोडिन थालेका छन् ।’
लैंगिक हिंसा सम्बन्धी अधिकाँश घटनाको पृष्ठभूमि वैदेशिक रोजगारी देखिन थालेको उल्लेख गर्दै अधिवक्ता खड्काले हिंसा नियन्त्रणका लागि जनचेतना जगाउन आयोगले सत्य घटनामा आधारित वृत्तचित्र निर्माण गर्ने योजना अघि सारेको बताईन् ।
उनले बाल विवाहका घटना हुन नदिन प्रहरीसँगको समन्वय प्रभावकारी हुने बताईन् ।
कार्यक्रममा मेचीनगर वडा नम्बर ६ का अध्यक्ष ललित तामाङ, ७ का अध्यक्ष चन्दन मेचे, १० का अध्यक्ष सुवेश पनेरु, नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराई अर्याल, मेची उद्योग वाणिज्य संघ महिला उपाध्यक्ष बिना तामाङलगायतले विचार राखेका थिए ।
उक्त कार्यक्रममा मेचीनगर वडा नम्बर ५ का अध्यक्ष योगेन थापा, जनप्रतिनिधिहरु धिरावती लिम्बू, लक्ष्मी थिङ तामाङ, देवीप्रसाद सुवेदी, चन्द्रकुमारी विक, रुपा गुरुङ, समाजसेवी मैयाँ प्रसाईंलगायतको उपस्थिति थियो ।
आयोजक संस्थाकी अध्यक्ष भुवन सुब्बाको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थापक अध्यक्ष एवं कार्यकारी प्रमुख राधा प्रधान कार्कीले स्वागतसहित औचित्यबारे प्रकाश पारेकी थिईन् ।
महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा अन्र्तक्रिया आयोजना गरिएको कार्यक्रम सञ्चालक तथा संस्थाका कार्यक्रम संयोजक मणिकुमार लिम्बूले जानकारी दिए ।
‘त्याग नै सत्य हो’ भन्ने मूल उद्घोषसहित २०६० सालमा स्थापना भई क्रियाशील रहँदै आएको उक्त संस्थाले परियोजना सञ्चालित अन्य दुई पालिकामा पनि अन्तरकृया गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button