खबर

मधेसमा अपराधः ससाना विवाद, रिसइबीदेखि छलफल क्रममा पनि पेस्तोल देखाउने र गोली प्रहार गर्ने प्रवृति बढ्दै

मंसिर २०, २०७७

काठमाडौं
भदौ ३ गते रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहमाथि खाना खाँदै गर्दा गोली प्रहार भयो। गोली लागेर ढलेका उनी अस्पताल पु(याउनेबित्तिकै मृत घोषित भए। गाउँमा विभिन्न विषयमा छलफल हुँदा उनी फरक मत राख्थे, नाजायज कामको विरोध गर्थे। सोही क्रममा देवाही गोनाही नगरपालिका–१ करुनियाका ३६ वर्षीय रामनरेश राउत पटेलसँग उनको सामान्य विवाद भएको थियो। रामनरेशका बुवाले पुजारीसँग केही रकम ब्याजमा लिएका थिए। उक्त रकमलाई लिएर पनि विवाद उत्पन्न भएको थियो।

लेनदेनको विषयमा भएको सामान्य विवादमा नरेशले आफूसँग भएको अवैध हतियार पुजारीमाथि प्रहार गरे। त्यसपछि फरार रामनरेशलाई आफ्ना सहयोगीसहित प्रहरीले पक्राउ गरी नलकटुवा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद गरेको थियो। कात्तिक २६ गते रौतहटको माधवनारायण नगरपालिका–७ की १७ वर्षीया अमृताकुमारी साहमाथि पेस्तोल प्रहार भयो। साहमाथि गोली हानेर फरार भएका आरेपितहरूलाई प्रहरीले पक्राउ गरी कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद गरेको थियो। त्यस्तै असोज २९ गते पर्साको ठोरी गाउँपालिकाको विजय बस्तीस्थित ओरिया खोलाको बगरमा बन्दुकधारी समूहले प्रहरीलाई ताकेर गोली चलाए। प्रहरीले सावधानी अपनाएका कारण मानवीय क्षति हुन पाएन। अवैध भरुवा बन्दुक, त्यसमा प्रयोग हुने चार राउन्ड गोली र एक थान खुकुरीसहित प्रहरीले चारजनालाई पक्राउ गरेका थिए।

ससाना विवाद, रिसइबीदेखि छलफल क्रममा पनि पेस्तोल देखाउने र गोली प्रहार गर्ने घटना मधेसमा नौलो होइन। अवैध हतियारको बिगबिगीका कारण कोर मधेस (प्रदेश २) मा हत्याहिंसाका घटना बढ्दो छ। सामान्य झगडा र लेनदेन विवादमा अवैध हतियार प्रहार गर्ने र ज्यानै लिनेसम्मका घटनामा कटुवादेखि ‘स्वचालित’ पेस्तोलसम्म प्रयोग भएको पाइन्छ। प्रदेश २ का आठवटै जिल्ला भारतसँग जोडिएका छन्। खुला सीमाका कारण वारिपारिको उठबस र सम्बन्धले आपराधिक गतिविधिलाई पनि मलजल गरेको प्रहरी अधिकारीहरू बताउँछन्। प्रहरीले बेलाबेला बरामद गरेका साना हतियार सीमापारि भारतबाट भित्र्याएको पाइएको छ।  नागरिक दैनिकमा मिथिलेश यादवले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button