खबर

ईयूद्वारा हवाई सेवामा सुधारको प्रशंसा, उडान प्रतिबन्ध हट्ने सङ्केत

मंसिर २२, २०७७

काठमाडौं
नेपाली हवाई सेवा प्रदायकलाई उडानमा प्रतिबन्ध लगाएको युरोपेली सङ्घ (ईयू) ले उडान खुला गर्न सकिने सङ्केत दिएको छ । हवाई सुरक्षामा प्रश्न उठाउँदै सात वर्षअघि नेपाली हवाई सेवा प्रदायकलाई उडान प्रतिबन्ध लगाउने गरी सुरक्षा सूचीमा राखेको ईयूले नेपालको पछिल्लो समयको सुधारलाई प्रशंसा पनि गरेको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा आइतबार विज्ञप्ति जारी गर्दै ईयूले हवाई सुरक्षामा देखिएको चुनौती समाधान गर्न नेपाल सरकारले देखाएको प्रतिबद्धताका कारण आएको सुधारको प्रशंसा गरेको हो । ‘नयाँ हवाई उड्डयन विधेयक संसद्मा दर्ता गराएको सहित नेपालले गरेका सुधारका विषयमा ईयू जानकार छ’, विज्ञप्तिमा उल्लेख छ ।

दर्ता भएको विधेयकको व्यवस्था अनुसार कार्यान्वयनमा ल्याउनु महìवपूर्ण हुने पनि ईयूले जनाएको छ । नेपालको यस्तो प्रयासले सुरक्षा सूचीबाट हटाउने प्रक्रिया सुरु गर्न सहज हुने ईयूले उल्लेख गरेको छ । खासगरी संसद्मा दर्ता भएको विधेयकले सुरक्षा सूचीबाट हटाउन लागू हुने तीनवटा मापदण्ड कार्यान्वयनमा लैजान सकिने पनि ईयूले स्पष्ट पारेको छ । विज्ञप्ति अनुसार ब्रसेल्समा नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पछिल्लो पटक भएका सुधारका विषयमा प्राविधिक छलफल अघि बढाउन सकिने बाटो यसले खुला गरेको छ ।

त्यसैगरी हवाई सुरक्षाको प्रभावकारी कार्यान्वयन भए नभएको जानकारी लिन महानिर्देशक सहितको टोलीले नेपालमा भ्रमण गर्ने र नियोगले तयार गरेको प्रस्तावका आधारमा युनियनको हवाई सुरक्षा समितिले सुरक्षा सूचीबाट हटाउन सकिने प्रक्रिया पूरा हुनेछ ।

सुरक्षा सूचीबाट बाहिरिएपछि सङ्घको हवाई सुरक्षा एजेन्सीबाट नेपालको मागका आधारमा आवश्यक प्राविधिक सहयोग समेत उपलब्ध गराउन सकिने विज्ञप्तिमा जनाएको छ । ईयूले नेपाललाई सन् २०१३ डिसेम्बर ५ देखि सुरक्षा सूचीमा राखेको थियो । गोरखापत्र दैनिकमा समाचार छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button