खेलकुद

प्रिमियर लिगका क्लबले सुपर लिग नखेल्ने

वैशाख ८, २०७८

एजेन्सी – इंग्लिस प्रिमियर लिगका क्लबहरुले प्रस्तावित युरोपेली सुपर लिगबाट आफ्नो नाम फिर्ता लिएका छन् । आइतबार घोषणा भएको लिगमा ६ इंग्लिस क्लब संस्थापक सदस्यका रुपमा रहेका थिए ।

म्यानचेस्टर सिटीले मंगलबार विज्ञप्ति जारी गर्दै सुपर लिगमा सहभागिता नजनाउने बताएको थियो । त्यसपछि चेल्सीले पनि आवश्यक कागजात तयार पार्ने प्रक्रिया सुरु गरेको थियो । लगत्तै आर्सनल, लिभरपुल, म्यानचेस्टर युनाइटेड र टोटेनहम हट्स्परले पनि आफ्नो नाम फिर्ता लिएका छन् । आइतबार लिगको घोषणा लगत्तै त्यस विषयलाई लिएर क्लबहरुले चौतर्फी आलोचना खेपेका थिए ।

सिटीले औपचारिक रुपमा नै लिगमा सहभागिता जनाउने सम्पूर्ण प्रक्रिया फिर्ता लिएको पक्का गरेको छ । लिभरपुलले भने सुपर लिगमा आफ्नो सहभागितामा पूर्णविराम लगाएको जनायो । म्यानचेस्टर युनाइटेडले समर्थक, बेलायत सरकार र अन्य सरोकारवालाहरुको सल्लाहलाई मनन गर्दै सहभागिता नजनाउने निर्णय लिएको अभिव्यक्ति दिएको छ ।

आर्सनलले समर्थकलाई खुला पत्र लेख्दै क्लबले गल्ति गरेको र यस निर्णयसँगै समर्थकको भूमिका महत्त्वपूर्ण हुने विश्वस्त रहेको जनाएको छ । टोटेनहमका अध्यक्ष ड्यानिएल लेभीले क्लबको निर्णयका कारण भोग्नुपरेको सास्तीका लागि माफी मागेका छन् । चेल्सीले पनि नाम फिर्ता लिन प्रक्रिया सुरु गरिसकेको जनाएको छ ।

यूईएफए अध्यक्ष एलेक्जेन्डर सेफेरिनले यस कदमको स्वागत गरेका छन् । ‘ प्रिमियर लिग क्लबहरुलाई पुन: स्वागत छ । यी क्लबहरुले हाम्रो प्रतियोगिता मात्र होइन सम्पूर्ण युरोपेली फुटबललाई नै धेरै योगदान दिन सक्छन् । अबको महत्त्वपूर्ण पक्ष कसरी सबैलाई समेटेर अघि बढ्न सकिन्छ भन्ने हो,’ उनले भने ।hamrokhelkud/from

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button