
फिल्मीखबर, काठमाडौं, 2021/05/11
भारतमा भयावह रुपमा फैलिएको कोरोनाको चपेटामा तेलुगु सुपरस्टार जूनियर एनटीआर पनि परेका छन् । सोमवार उनको कोभिड रिपोर्ट पोजेटिभ आएको हो । उनले सोसल मिडियामार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । कोभिड भएपछि उनी होम क्वारेन्टिनमा बसेका छन् । उनले आफ्ना प्रशंसकलाई चिन्ता नदिन र सुरक्षित रहन आग्रह गरेका छन् ।
उनले ट्विटरमा लेखेका छन्, ‘मेरो कोभिड रिपोर्ट पोजेटिभ आएको छ । कृपया, चिन्ता नदिनुहोला, म ठिक छु । अहिले मैले आफूलाई परिवारभन्दा अलग राखेको छु र हामीले डक्टरको रेखदेखमा सबै प्रोटोकलको पालना गरेका छौं । केही दिनदेखि मेरो सम्पर्कमा रहनुभएका सबैले परीक्षण गराउनु होला ।’ कोरोनाका कारण ‘आरआरआर’ को छायांकन रोकिएपछि उनी घरमै थिए ।
एसएस राजामौली निर्देशित फिल्मको कहानी १९२० को दशकका क्रान्तिकारी अल्लूरी सीतारामा राजू र कोमाराम भीममाथि आधारित छ । फिल्ममा एनटीआरसँगै राम चरण, अजय देवगन, आलिया भट्ट र श्रिया सरनको पनि अभिनय रहेको छ । निर्माण अगावै फिल्मको ४७५ करोड भारुमा थिएटर, इलेक्ट्रनिक, सेटेलाइट, डिजिटलसँगै अब्रोड मार्केट राइट्स विक्री भइसकेको छ ।



