सृजनाको चौतारी

मुर्दावादको तृप्ति

तिनले आगो ओकलेझैँ भने
पारम्परिक मस्तिष्क पखालेर तिनले भने
मेरा चौथै पाटा मोडे हुन्छ
मलाई सातै डाँडा कटाए हुन्छ
र, मलाई अराष्ट्रिय तत्व भनेर
जे गर्न मन पर्छ त्यो गरे हुन्छ ।
तत्क्षणमा,
अहङ्कारको झोलीबाट फुत्त निस्केर
तिनकै अहम् वाणीका अनुयायी लाग्ने
एकहुल मान्छेहरु टेबुल वरिपरि बसेका थिए
अर्डर गरेर, रोस्ट टोस्ट भुटन चिउरा
सेकुवा पकुवा तरुवा अनि भुटुवा
तथा, विदेशी सिसी भरीको एक झोल मात्रै
तिनले किमार्थ मागेनन्
हाम्रा व्यङ्ग्य बाजे भैरवले भनेजस्तै
तातो रातो सेतो अमिलो धमिलो
अझ कडा, नुनिलो वा गुनिलो जस्तो हुन्छ
यो टेबुलको भव्य सजावट हुन्छ ।
टेबुलमुनि,
टेबुलमाथिका मान्छे छानीछानी, रोजीरोजी
जसै, स्वाद सुँङेर बसिरहेका, पर्खिरहेका
एकहुल बिरालाको फौजले किटानी गर्थ्यो
यो मेरो मान्छे, त्यो तेरो मान्छे
आफ्नोआफ्नो मान्छेले दान गरेर
टेबुलमुनि फाल्ने तीखा र चोखा हड्डी
कि तेरो हुन्छ कि मेरो हुन्छ ।
टेबुलमुनि बिराला घ्याँक पसारेर लड्थे
यसै गरि, दिनहुँ
लड्दालड्दै जिताहाको उर्दी हुन्थ्यो,
जसको शक्ति उसकै भक्ति
केही शक्तिशाली बिरालाले टेबुलमुनि राज गर्थे
केही शक्तिहीनहरु पर कुनामा बसेर, पाखा लागेर
मुर्दावादका म्याउम्याउ गर्थे ।
अचम्म यस्तो हुन्थ्यो
मुर्दावादीहरु भोकको रसमा पनि तृप्त हुन्थे
तर, जिन्दावादका जिताहा ती अटेरी ढाडे
मस्त हड्डी चुस्न पाएर पनि
सदा अतृप्तिको श्वास फेर्थे ।
उता मान्छेहरू, यानेकि टेबुलका मान्छेहरु
मगनमस्त भएर जुरुक्क उठ्दा
धर्खराउँदै, लर्बराउँदै
जब मार्गहीन मुद्रामा हल्लिँदै बाहिर निस्कन्थे
तब, बहिष्कृत ती मुर्दावादीहरुको राज रैथान
त्यही टेबुलमाथि हुन्थ्यो र,
तिनको निष्फिक्री जित हुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button