खेलकुद

हालान्डको गोलमा नर्वेको जित

एजेन्सी – आगामी सिजनका लागि इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीमा अनुबन्ध भइसकेका युवा स्टार फरवार्ड एर्लिङ ब्राउट हालान्डको गोलमा नर्वेले युइएफए नेसन्स लिग बी ग्रुप ४ को खेलमा जित निकालेको छ ।

बियोग्राडमा बिहीबार राति भएको खेलमा नर्वेले घरेलु टोली सर्वियामाथि १–० को जित निकालेको हो । नर्वेको जितमा पहिलो हाफमा हालान्डले गरेको गोल नै निर्णायक बन्यो । उनले २६औं मिनेटमा मार्कुस पेडर्सनको पासमा गोल गर्न सफल भएका थिए ।

खेलको सुरुवाती समयमै अग्रता बनाएको नर्वेले त्यसपछि घरेलु टोलीविरुद्ध लगातार दवाव झेलेपनि आफ्नो अग्रतालाई जोगाउँदै जित निकाल्न सफल भयो।

हालान्ड यो सिजनको अन्त्यसँगै जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीमा अनुबन्धित भएका छन् । यो जितसँगै नर्वेले लिग बी ग्रुप ४ मा ३ अंक जोडेको छ । समान ३ अंक नै रहेपनि स्वीडेन शीर्षस्थानमा छ । सर्विया तेस्रोमा छ ।

यही समूहको अर्काे खेलमा स्वीडेनले स्लोभेनियालाई २–० ले पराजित गरेको छ । स्वीडेनको जितमा इमिल फोर्सवर्ग र डिजान कुलुसेभ्स्कीले पहिलो र दोस्रो हाफमा गोल गरे । यो जितसँगै स्वीडेन ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । स्लोभेनिया पुछारमा छ ।

अन्य नतिजा
लिग ए ग्रुप २
स्पेनविरुद्ध पोर्चुगल (१–१) र चेक रिपब्लिकविरुद्ध स्वीट्जरल्यान्ड (२–१)
लिग सी ग्रुप २
साइप्रसविरुद्ध कोसोभो (०–२) र नर्दन आयरल्यान्डविरुद्ध ग्रीस (०–१)
लिग सी ग्रुप ४
बुल्गेरियाविरुद्ध नर्थ म्यासेडोनिया (१–१) र जर्जियाविरुद्ध जिब्राल्टार (४–०)
लिग डी ग्रुप २
इस्टोनियाविरुद्ध सान मारिनो (२–०)
लिग बी ग्रुप २
इजरायलविरुद्ध आइसल्यान्ड (२–२)

हाम्रो खेलकुदबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button