स्वास्थ्य

गर्भावस्था र व्यायाम

सबाना खातुन

व्यायाम त्यो व्यवस्थित कर्म हो, जसले शरीरका अंगलाई सन्तुलित ढंगले सक्रिय बनाउन मद्दत गर्छ। व्यायामले मांसपेसी, जोर्नी र शरीरका भित्री अंगहरुलाई चुस्त राख्न सहयोग गर्छ। व्यायामले शारीरिक मात्र होइन, मानसिक रुपले समेत स्वस्थ तुल्याउँछ। व्यायामले शरीर लचिलो बनाउनुका साथै शरीरमा ऊर्जा थप्ने र काम गर्ने फुर्ति दिन्छ।

व्यायाम जस्तोसुकै अवस्थामा पनि गर्न सकिन्छ। किनभने व्यायामले कहिल्यै कसैलाई नराम्रो गरेको छैन। दैनिक व्यायाम गर्ने मानिस अन्य मानिसको तुलनमा फुर्तिला हुनुका साथै स्वस्थ देखिन्छन्।

महिनावारी, गर्भावस्था र सुत्केरी अवस्थामा व्यायाम गर्नु हुँदैन भन्ने भनाइ छ। तर, यस्तो बेलामा पनि व्यायाम गर्नु जरुरी हुन्छ। महिनावारी, गर्भावस्था र सुत्केरी अवस्था भनेको सामान्य अवस्था होइन। यो अवस्थामा शरीर कमजोर भएको हुन्छ। हार्मोन परिवर्तन हुने हँुदा तनाव सिर्जना हुन्छ।

यस्तो अवस्थामा आराम गर्दै चिल्लो, पिरो, तारेको खानेकुरा खाँदा अनावश्यक तौल बढ्ने सम्भावना हुनुका साथै मानिस अल्छी हुन्छन्। त्यसैले पौष्टिक आहार खानुका साथै दैनिक ३० देखि ४५ मिनेट शारीरिक व्यायाम आवश्यक पर्छ। महिनावारी भएको समयमा शरीरको माथिल्लो भागको मात्रै कसरत गर्न पनि सकिन्छ। कसरतले शरीरलाई ऊर्जा प्रदान गर्छ। साथै तनावमुक्त हुनसमेत सघाउँछ।

गर्भवतीले कामै गर्नुहँुदैन, बच्चालाई असर गर्छ भन्ने सोचाइ गलत हो। गर्भवतीहरु अन्य समयको तुलनमा काम गर्न नसके पनि सामान्य घरको काम गर्न सकिन्छ। चिकित्सकको सल्लाहअनुसार आफ्नो शरीरले सक्ने शारीरिक कसरत गर्नुपर्छ। यो अवस्थामा शरीर कमजोर हुने हुँदा सामान्य अवस्थामा जस्तो कसरत गर्न नसके पनि सामान्य योग, ध्यान, हिँडडुल गर्न सकिन्छ। यस्तो अवस्थाको व्यायामले शरीरमा फुर्ती आउनुका साथै आमा र बच्चाको स्वास्थ्य राम्रो बनाउन मद्दत गर्छ।

व्यायामले बच्चालाई सकारात्मक ऊर्जा प्रदान गर्छ। बच्चाको विकास गर्नुका साथै गर्भवतीले नियमित व्यायाम गर्नाले सामान्य तरिकाबाट बच्चा जन्मन सक्छ। शारीरिक कसरतले गर्भवस्थाको दुखाइ र पीडा हटाउन मद्दत गर्छ। स्टे«च र योग गर्दा दुखाइ कम गर्न सजिलो हुन्छ र हिँडाइले पेटका मांसपेसीहरुलाई बलियो बनाउँछ।

यस्तो अवस्थामा व्यायाम नगर्दा बच्चाको विकासमा असर गर्नसक्छ र पेटको बच्चा शल्यक्रिया गरेर निकाल्नुपर्ने हुनसक्छ। व्यायाम नगर्दा तौल बढ्न गई शरीर कमजोर बन्दै जान्छ।

सुत्केरी अवस्थामा बलियो बन्नुपर्छ भन्दै अनावश्यक चिल्लो, गुलियो खाने गरिन्छ, जसले शरीर बलियो बनाउनुको साटो तौल बढ्न गई आलश्य प्रदान गर्छ। आमाले खाएको कुरा बच्चाले दूधको माध्यमबाट खाने हुँदा बच्चाको विकासमा पनि अवरोध आउनसक्छ।

सुत्केरी अवस्थामा स्वस्थ रहन आवश्यक व्यायामका साथै खानेकुरामा पनि ध्यान दिनुपर्छ। खानामा विशेषगरी हरियो सागसब्जी, माछा, बोसोरहित मासु, अन्डा, दूध र दूधबाट बनेका परिकार खानाले स्वास्थ्यलाई फाइदा गर्नुका साथै बच्चालाई पनि फाइदा गर्छ। चिल्लो, पिरो, अमिलो अत्यधिक मात्रमा खानाले आमाका साथै बच्चामा पनि अल्छीपन आउँछ।

खाना थोरैथोरै गरेर खानुपर्छ, भोक लाग्यो भने पुनः खाने बानी बसाल्नुपर्छ। मैदाले बनेका खानेकुरा खानुभन्दा आँटाबाट बनेका प्ररिकार खानु स्वास्थ्यका हिसाबले राम्रो हुन्छ। खानाका साथै पानी पनि प्रशस्त मात्रामा पिउनु जरुरी हुन्छ।

व्यायामका फाइदा
स्मरण शक्ति बढाउँछ
तनाव मुक्त गर्छ
रोग लाग्नबाट बचाउँछ
उच्च रक्तचाप, मधुमेह जस्ता नसर्ने रोग नियन्त्रण गर्छ
एकाग्रता ल्याउन मद्दत पुर्‍याउँछ
मनमा आनन्दको अनुभूति दिलाउँछ

(फिटनेस प्रशिक्षक खातुनसँग सिर्जना खत्रीले गरेको कुराकानीमा आधारित) swsthyakhabarpatrika

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button