स्वास्थ्य

किमोथेरापी र रेडियोथेरापी गर्ने बिरामीले गर्नुपर्ने खानपान

डा सुभाष पण्डित/डा सीमित सापकोटा

किमोथेरापी र रेडियोथेरापी गर्ने बिरामीले धेरै समस्या खेप्नुपर्छ। बिरामीले आहारविहारमा परहेज गर्नुपर्ने त छँदै छ, खाने क्रममा पनि हैरानी बेहोर्नुपर्ने हुन्छ। भोक नलाग्ने, मुखमा बिमिरा आउने, खाना निल्न गाह्रो हुने, पोलेको महसुस हुने, खानाको स्वाद नै बदलिए जस्तो लाग्ने, गन्ध आउने लगायत हुन्छ।

यी समस्या आउन नदिन बिरामीले विशेष रुपमा बनाइएको खाना विशेष तरिकाले खानुपर्ने हुन्छ। ताजा तथा पौष्टिक खानेकुरामा जोड दिनुपर्छ। बिरामीले निम्न कुरा पालना गर्नु आवश्यक हुन्छः

– सामान्यतया दिनको तीन पटक मुख्य भोजन गर्ने हाम्रो चलन छ। तर, किमोथेरापी र रेडियोथेरापी गरेका बिरामीले यसो नगरी दैनिक ७/८ पटक थोरै–थोरै भोजन गर्ने।

– खाना चपाउन र निल्न गाह्रो भएमा खानालाई बढी समय पकाएर नरम बनाएर खाने।

– खाना बनाउने तरकारी, दाल जस्ता सामग्री तथा फलफूल ताजा र स्वच्छ हुनुपर्छ।

– खाना पकाउँदा प्रयोग गरिने भाँडाहरु राम्ररी धुने।

– दैनिक दुईदेखि तीन लिटर तरल पदार्थ सेवन गर्नुपर्छ। पानी, मिल्कसेक, नरिवल पानी लगायत बढी मात्रामा सेवन गर्ने।

– सधैं उमालेको र स्वच्छ पानी मात्र पिउने।

– पोषणयुक्त पाउडर सधैं खाली पेटमा खान जोड दिने। रुटिन नै बनाएर बिहान ७ बजे, ११ बजे र साँझ ५ बजे खाने।

– पिरो र धेरै मसलादार खानेकुरा नखाने।

– घर बाहिर (होटल, क्यान्टिन, स्ट्रिट फुड) बनाएका खानेकुरा नखाने।

– अचार, पापड, अमिलो दहीका साथै लेज, कुरकुरे, वेफर जस्ता प्याकेटमा बन्द भएका स्न्याक्स नखाने।

– कृत्रिम रङ, गन्ध र स्वाद प्रयोग गरिएका खानेकुरा नखाने।

– सलाद, पातलो बोक्रा भएका फलहरु केरा, मौसम, सुन्तला, अनार, खरबुजा आदि खाँदा हुन्छ।

– मुखमा बिमिरा आएमा एक सय ग्राम बन्दाकोभी उसिन्ने र त्यसलाई पिसेर जुस बनाई आवश्यक मात्रामा नुन हालेर पिउने। दिनभरिमा ३–३ घण्टाको अन्तरालमा ३/४ पटक पिउने। तपाईं चाहनुहुन्छ भने ४ सय ग्राम बन्दाकोभीको जुस बनाई फ्रिजमा राखेर समय–समयमा पिउन सक्नुहुन्छ।

– बिरामीका साथै परिवारका अन्य सदस्यले सरसफाइमा विशेष ध्यान दिने र आफ्नो वरिपरिको स्वच्छतामा पनि ध्यान दिने।

– बिरामीसँग भेट्न आउने आफन्तहरुलाई निश्चित दूरीमा राख्ने।swsthyakhabarpatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button