कला

‘ओ माई गड’ बाट प्रभावित हो ‘घामड शेरे’ ?

तपाईंले यही कात्तिक ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको निर्देशक टर्न अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का अभिनीत फिल्म ‘घामड शेरे’ को ट्रेलर हेर्नुभयो ? यदी, हेर्नुभएको छ भने तपाईंलाई यसको कथावस्तु बलिउड फिल्म ‘ओ माई गड’ सँग मिल्दोजुल्दो लाग्नसक्छ । किनकि, दुबै फिल्मले उठाएको विषयवस्तुमा खासै अन्तर छैन । ‘घामड शेरे’ मा खोलालाई र ‘ओ माई गड’ मा भगवानलाई मुद्धा हाल्ने विषय उठाइएको छ ।

‘घामड शेरे’ को ट्रेलर सार्वजनिक भएपछि ‘ओ माई गड’ को कथा चोरेर फिल्म निर्माण भएको भन्दै व्यापक टिका-टिप्पणी भइरहेको छ । फिल्मको ट्रेलरमा पनि यस प्रकारका प्रतिक्रिया थुप्रै आएका छन् । विदेशी फिल्मको कथा चोरेर थुप्रै नेपाली फिल्म निर्माण भएका कारण ‘ओ माई गड’ ले उठाएको विषयवस्तुसँग ‘घामड शेरे’ को कथा मिल्दोजुल्दो लाग्ने भएका कारण यो फिल्मलाई प्रभावित वा चोरीको आरोप लाग्नु अनौठो होइन । तर, के फिल्मको कथा चोरिएकै हो त ?

निर्देशक हेमराज विसीले फिल्मको कथावस्तु ‘ओ माई गड’ सँग नमिल्ने दाबी गरेका छन् । उनले भने- ‘ट्रेलर रिलिज भएपछि हामीमाथि चोरीको आरोप लाग्छ भन्ने पहिल्यै थाहा थियो । किनकि, ‘ओ माई गड’ भगवानलाई मुद्धा हाल्ने विषयमा केन्द्रित थियो । ‘घामड शेरे’ मा खोलालाई मुद्धा हाल्ने विषय उठाइएको छ । दुबै फिल्मले कल्पनाभन्दा बाहिरको कुरा उठाएका कारण यो प्रश्न उठेको हो । तर, ‘ओ माई गड’ सँग फिल्म मिल्दैन । कथावस्तु विल्कुलै फरक छ ।’

आफूले ‘ओ माई गड’ भन्दा अगाडि नै ‘घामड शेरे’ को कथाको खाका तयार पारिसकेको पनि उनले बताए । ‘यो फिल्मको कथाको खाका मैले ‘होस्टेल’ भन्दा अगाडि नै तयार गरेको थिएँ । त्यतिबेला ‘ओ माई गड’ प्रदर्शनमा पनि आएको थिएन । दुबै फिल्ममा मुद्धा हाल्ने कुरा मिल्दोजुल्दो लागे पनि ‘घामड शेरे’ ले उठाएको विषयवस्तु निकै अलग छ । फिल्म हेरेपछि त्यो छलङ्गै हुन्छ’, उनले भने । उनी आफू दर्शकलाई चिट गर्न नसक्ने बताउँछन् ।

‘घामड शेरे’ को केन्द्रिय भूमिकामा रहेका अभिनेता निश्चल फिल्मको कथा सुन्दा नै आफ्नो दिमागमा ‘ओ माई गड’ आएको सम्झन्छन् । उनी भन्छन्, ‘जब मैले फिल्मको कथा सुनेँ तब मेरो दिमागमा पनि ‘ओ माई गड’ नै आएको थियो । त्यहाँ भगवानलाई मुद्धा हालिएको थियो । यसमा खोलालाई मुद्धा हाल्ने विषय उठाइएको छ । दुबै एउटै चिज त भयो नी भनेर मैले हेमराजलाई भनेको थिएँ । तर, जब मैले फिल्मको पूरा स्क्रिप्ट पढेँ तब फिल्मको कथावस्तु फरक पाएँ ।’

खोलालाई मुद्धा हाल्ने कुरा मात्र मिल्दोजुल्दो लाग्नसक्ने उनको भनाई छ । ‘मैले फिल्मको थुप्रै विधामा हात हालेको छु । त्यसैले म दर्शकलाई झुक्याउन सक्दिनँ । कपी नै गर्नु थियो भने आधिकारिक रुपमा राइट्स लिएरै गर्थ्यौं’, उनले अगाडि भने- ‘मैले हेमराजलाई फिल्मको ट्रेलर रिलिज भएपछि यो प्रश्न उठ्छ भनेर पहिल्यै भनेको थिएँ । यदी, फिल्म मिलेको हुन्थ्यो भने म गर्दै गर्दिन थिएँ । र, हेमराजलाई पनि फिल्म नबनाउन भन्थेँ । तर, ‘ओ माई गड’ सँग फिल्म मिल्दैन ।’

निर्देशक विसी फिल्मको कथावस्तु सुर्खेतको आसपासमा घटेको एउटा घट्नासँग नजिक भएर बनेको बताउँछन् । उनले ‘घामड शेरे’ को कथाको जन्मबारे जानकारी दिँदै भने- ‘सुर्खेतमा एउटा जोक्स निकै प्रख्यात छ । धेरैले यो सत्य पनि मान्छन् । तर, कसैलाई त्यसको वास्तविकता थाहा छैन । त्यहाँ एक व्यक्तिले किनेको खेत खेलाले बगाउँछ । तर, उसले कानुनी रुपमा कुनै उपाय नभेटेपछि खोलालाई नै मुद्धा हाल्न खोज्छ । फिल्मको आइडिया त्यहीँबाट आएको हो ।’

पहिलो पटक अभिनेता निश्चल र अभिनेत्री स्वस्तिमाले अनस्क्रिन रोमान्स गरेको फिल्म हो, ‘घामड शेरे’ । यसकारण पनि दर्शकमाझ यो फिल्मको निकै प्रतिक्षा भइरहेको छ । फिल्ममा स्वस्तिमाले निश्चलको सालीको भूमिका निभाएकी छन् । सुष्मा निरौला, निश्चलको श्रीमतीको भूमिकामा छिन् । गौरी मल्लको फिल्ममा अतिथी भूमिका छ । निर्देशक विसीले आफ्नै जन्मथलो सुर्खेतमा फिल्म खिचेका हुन् । फिल्म कमेडी विषयवस्तुमा निर्माण भएको ट्रेलरले बताउँछ ।flimykhabaronline

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button