सृजनाको चौतारी

राष्ट्रपतिद्धारा स्रष्टाहरु सम्मानित

गोरखापत्र अनलाइन
काठमाडौँ राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको सांस्कृतिक वैभव विश्वसामु चिनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा सोमबार यहाँ आयोजित प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव २०७९ पुरस्कार समर्पण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो। उहाँले भन्नुभयो, “नेपाली भूमि ज्ञानभूमि हो। यस भूमिमा लुकेर बसेको सांस्कृतिक वैभव बाहिर निकालेर विश्‍वसामु चिनाउन अझ धेरै काम गर्न बाँकी छ। यसै भूमिमा अनादिकालदेखि सिर्जना भएका अनेकौँ दर्शन, ज्ञानग्रन्थ र औषधिविज्ञानको महत्व उद्‍घाटन गर्नुपर्नेछ ।”

उहाँले अगाडि भन्नुभयो, “नेपाली समाजमा युगौँदेखि जीवित रहँदै आएका लोकसाहित्य एवं सांस्कृतिक निधि सङ्कलन गरेर बाहिर ल्याउनुपर्नेछ। नेपाली सिर्जना पनि विश्‍व साहित्यको उत्कृष्ट कोटीमा पर्न सक्छन् भन्ने कुरालाई अनुवादमार्फत विश्‍वसामु पु-याएर प्रमाणित गर्नुपर्ने छ।”

सम्मान तथा पुरस्कार वितरण समारोहलाई आफूले अग्रज पुस्तालाई सम्मान र अनुज पुस्तालाई प्रोत्साहन गर्ने हाम्रो परम्पराकै निरन्तरताका रूपमा लिएको बताउनुहुँदै उहाँले सत्पात्रलाई सम्मान गर्दा राष्ट्रको शिर पनि उँचो हुने धारणा व्यक्त गर्नुभयो। सो अवसरमा प्राडा गोविन्दराज भट्टराईलाई ‘नेपाल प्रज्ञा अनुवाद पुरस्कार’ र भारतको दार्जिलिङनिवासी वरिष्ठ साहित्यकार नरबहादुर दाहाललाई ‘भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार’ प्रदान गरियो।

पुरस्कारको राशि जनही दुई लाख रुपियाँ रहेको छ। हरेक दुई–दुई वर्षमा प्रदान गरिने यी पुरस्कार उहाँहरूलाई २०७८ र २०७९ को लागि प्रदान गरिएको नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव प्राडा जगतप्रसाद उपाध्यायले जानकारी दिनुभयो।

त्यसैगरी सो अवसरमा नेपाल ‘प्रज्ञा दर्शनशास्त्र पुरस्कार’ प्राध्यापक विद्यानाथ उपाध्याय भट्टलाई, ‘नेपाल प्रज्ञा संस्कृति पुरस्कार’ प्राडा प्रेमकुमार खत्रीलाई, ‘नेपाल प्रज्ञा सामाजिक शास्त्र पुरस्कार’ डा. नयनाथ पौडेललाई प्रदान गरिएको थियो।

त्यसैगरी ‘नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार’ वरिष्ठ कवि रामचन्द्र भट्टरार्ई, ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार’ शेर्पा भाषा साहित्यका लागि खेन्पो ङवाङ वोसेर लामा र थारू भाषा साहित्यका लागि शर्मिलाकुमारी चौधरीलार्ई प्रदान गरिएको थियो। यी पुरस्कारको राशि जनही एक लाख रुपियाँ छ।

त्यसैगरी सो अवसरमा राष्ट्रिय कविता महोत्सव–२०७९ का उत्कृष्ट प्रतियोगीलाई पुरस्कार प्रदान गरिएको थियो। महोत्सवमा प्रथम टीका आत्रेय (सुनसरी), द्वितीय यात्रीप्रकाश पाण्डे (धादिङ) र तृतीय सीता तुम्खेवा (भक्तपुर), किरण सिवा (सुनसरी), कमलराज केसी (अछाम)लाई पुरस्कृत गरिएको थियो।

प्रथम, द्वितीय र तृतीय हुने कविकवयित्रीलाई क्रमशः ५० हजार, ४० हजार र ३०÷३० हजार रुपियाँ नगद, पदक तथा प्रमाणसहित पुरस्कृत गरिएको थियो। प्रथम, द्वितीय र तृतीय हुने कवि तथा कवयित्रीलाई क्रमशः स्वर्ण पदक, रजत पदक र कास्य पदकसमेत प्रदान गरिएको थियो। राष्ट्रपति भण्डारीले प्रज्ञा नेपाली बृहत् शब्दकोश र तस्बिरमा नेपाल कृतिको अङ्ग्रेजी संस्करण ‘नेपाल इन इमेजेज’ ग्रन्थको लोकार्पण गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button