मूल खबर

जनताले जोगाएको झापा काँकरभिट्टाको देवकोटा पार्क

काँकरभिट्टा । मेचीनगर नगरपालिका वडा न ६ मा अवस्थित देबकोटा पार्क पूर्वी नेपालको सिमा नाकामा रहेको देशकै पहिचान बोकेको एक स्थल हो । नेपाली साहित्यका उज्वल नक्षत्र महाकवि लक्ष्मीप्रसाद देबकोटा र उनको साहित्य सृजनाको स्मरण र श्रद्धाका लागि नामाकरण गरिएको देबकोटा पार्क क्षेत्रमा बिगत केही वर्ष यता देखि प्रत्येक वर्ष देबकोटा पार्क संरक्षण समितिको मूल आयोजनामा गठित उपसमितिद्धारा देबकोटा र उनका उच्च कृतिको स्मरणमा विविध कार्यक्रम आयोजना गरिदै आएको छ ।
आजको देबकोटा पार्क मेचीनगर नगरपालिकाको मात्र नभएर देशकै एक साहित्यिक पावन स्थल बनेकोछ । पूर्वी सिमा भएर ओहोरदोहर गर्ने हजारौँ यात्रुहरुको नजर यो पार्कमा पर्ने भएकाले पनि यो स्वदेशमा मात्र नभएर बिदेशमा समेत परिचित बन्न पुगेको छ । आजको रमणिय देबकोटा पार्क यो यात्रा सम्म आईपुग्दा यसले धेरै आरोह र अवरोह झेलेको छ। देबकोटा पार्क मात्र नभएर मेचीनगर नगरपालिका वडा नं ६ मा रहेका अन्य केही सार्वजनिक स्थलको बचाउका लागि त्यो समयमा यहाँका केही सचेत नागरिक नतातेका भए शायदै आजको देबकोटा पार्क रहने बन्ने थियो कि थिएन भन्न सकिदैन ।
जतिबेला तत्कालिन गा्रमिण आवास कम्पनीले यहाँको जग्गालाई बाँडभाग गर्ने काम गर्न शुरु गरेको थियो त्यो बेला यहाँका युवाहरुले भविष्यको काँकरभिट्टालाई गंभीरतापूर्वक नसोचेका भए आजको देबकोटा पार्क क्षेत्र रहेको स्थान मात्र होइन अरु केही सार्वजनिक स्थल समेत कुन ब्यक्तिका नाममा रहेका हुन्थे यसै भन्न सकिन्न । गा्रमीण आवास कम्पनीकोे कार्यकालको अवधिमा ब्यक्तिगत स्वार्थका लागि यहाँको सार्वजनिक क्षेत्रमा आँखा गाड्ने समूह पनि आन्तरिक रुपमा सकृय नभएको होइन तर त्यो बेला ठाकुरप्रसाद शिवाकोटीको अध्यक्षतामा बनेको काँकरभिट्टा बस पार्क तथा सार्वजनिक स्थल बचाउ समितिले गरेको कार्य आज पनि आभारी पात्र बनेको छ । गा्रमीण आवास कम्पनीका केही लोभीपापी कर्मचारी र यहाँका केही ब्यक्तिले यस क्षेत्रका सार्वजनिक स्थललाई आफ्नो नाममा दर्ता गर्नका लागि न्वारनदेखिको बल नलगाएका होइनन् तर यहाँका सचेत नागरिकको प्रतिरोधका अगाडि उनीहरु गलेरै छाडेका थिए । बिगतको त्यो नागरिक प्रतिरोधको परिणामकै कारण आज काँकरभिट्टा बसपार्क, देवकोटा पार्क र अहिलेको ६ नं वडा कार्यालय रहेको परिसर सार्वजनिक स्थलका रुपमा रुपान्तरण मात्र भएनन् यहाँ क्रमश मनमोहक दृश्यहरु निमार्ण समेत भएकाछन् ।बिसं२०५४ सालमा गठन भएको काँकरभिट्टा बस पार्क तथा सार्वजनिक स्थल बचाउ समितिमा रहेका ठाकुरप्रसाद शिवाकोटी, कुमार राई, गोपाल तामाङ्ग, अर्जुन तिवारी र दीपक पोखरेल लगायतका युवाहरुको सकृयता र यहाँका सचेत नागरिक अगुवाहरुको बलियो प्रतिरोध र उपस्थितिकै उपज भन्नु पर्छ आज नेपाली साहित्यका ज्योती महाकवि लक्ष्मीप्रसाद देबकोटाको नाममा देबकोटा पार्क रहन सफल भएको छ ।


अहिले देवकोटा पार्क संरक्षण समितिको अभिभावकीय उपस्थितिमा अन्य उपसमितिको आयोजनामा प्रत्येक वर्ष यो पावन साहित्यीक स्थलमा महाकवि देबकोटा र नेपाली साहित्यका बारेमा विविध कार्यक्रम हुदै आएको छ । आज पनि महाकवि देबकोटा १११ औँ जन्म जयन्तीको अवसरमा देबकोटा पार्क संरक्षण समिति तथा १११औँ देबकोटा जयन्ती उपसमितिले यस क्षेत्रका साहित्यका अनुरागी र स्थानिय नागरिकको उपस्थितिमा विविध कार्यक्रम आयोजना गरिएको बताईएको छ ।
नेपाली साहित्याकाशका सुपरिचित ब्यक्तित्व महाकवि देवकोटाको जन्म वि सं १९६६ साल कार्तिक २७ गते काठमाडौको डिल्लीबजारमा भएको थियो । साहित्यका प्राय सबै विधाहरुमा आफ्नो असाधारण सृजना पस्केका देवकोटा सबै कृतिहरुमा उत्तिकै ओझ रहेका भएपनि मुख्य गरेर उनको झ्याउरे लयको खण्डकाब्य मुनामदनले प्रसिद्धिको टाकुरोनै नाघेको पाईन्छ । दशकौँपछि पनि उनको यो कृति नेपाली साहित्यको क्षेत्रमा उम्दो रुपमानै रहेको पाईन्छ । देवकोटा अन्य मुख्य कृतिहरुमा खण्डकाब्यमा मुनामदन, सीताहरण, मैना रहेकाछन् भने निबन्धमा फूल र साँढे, उपन्यासमा चम्पा र कवितामा भीखारी, पहाडी पुकार, सुनको बिहान र चिल्ला पातहरु लगायतका रहेकाछन् ।प्रगतिबादीसाहित्यधारलाई आत्मसात गरेर आफ्ना सृजनाहरु जनसमक्ष ल्याउने देवकोटाको साहित्यीक भावधारालाई नेपाली साहित्य रचनाको यात्रामा प्रगतिबादी धारको प्रतिनिधि धार समेत भनेर चर्चा गरिन्छ ।
देवकोटाको मृत्यु विसं २०१६ साल भाद्र २९ गते भएको थियो । नेपाली साहित्य क्षेत्रमा बहुमुखि साहित्य सृजनाको रचनामा आफ्नो सुनौलो नाम दर्ज गरेका महाकवि देवकोटाको साहित्यधाराको प्रवृति भौतिकबादप्रति ढल्केको रहे पनि जिवनको अन्तिम समयमा भने उनले ईश्वरत्वलाई स्विकारेको पाईन्छ । आफ्नो जिवनको अन्तिम यात्राको समयमा देवकोटाले भौतिकवादी चेतका अलवा परमात्माको अदृश्य उपस्थितिलाई नकार्न सकेनन् भन्ने तथ्य उनको यो कविताको पंक्तिले स्पष्ट पारेको छ ।
संसार रूपी
सुख स्वर्गभित्र,
रमें, रमाएँ लिई भित्र चित्र ।
सारा भयो त्यो मरूभूमि तुल्य,
रातै परेझैँ अब बुझ्छु बल्ल ॥१॥
रहेछ संसार निशा समान,
आएन ज्यूँदै रहँदा नि ज्ञान ।
आखिर श्रीकृष्ण रहेछ एक,
न भक्ति भो, ज्ञान, न भो विवेक ॥२॥
महामरूमा कणझैँ म तातो,
जलेर मर्दो बिनु आश लाटो ।
सुकी रहेको तरूझैँ छु खाली,
चिताग्नि तापी जल डाम्न फाली ॥३॥
संस्कार आफ्नो सब नै गुमाएँ,
म शून्यमा शून्य सरी बिलाएँ ।
जन्मे म यो स्वर्ग विषे पलाएँ,
आखिर मै खाक त्यसै बिलाएँ ॥४॥
जे भएपनि नेपाली साहित्यलाई विश्वसामु परिचित बनाउने नेपाली साहित्यका महान नक्षत्र देवकोटाका कृतिहरु नेपालीजनका लागि मात्र नभर आम साहित्यका पारखीहरुका लागि एक सुयोग्य कोशेली भएर सधै रहनेछन् ।

आजको देबकोटा पार्कको कथा लामो छ ।

ठाकुरप्रसाद शिवाकोटी
तत्कालिन काँकरभिट्टा बसपार्क तथा सार्वजनिक स्थल बचाउ समितिको गठन गरेर यहाँका युवा र सचेत नागरिक समूह तातेका थिएनन् भने आज यहाँ धेरै सार्वजनिक स्थल रहन्थे कि रहन्न थे भन्न सकिदैन । यो क्षेत्रको बिकासको पूर्वाधारका हिसाबले मात्र होइन भविष्य हुन सक्ने प्राकृतिक विपत्तिको समयमा समेत यहाँ सार्वजनिक स्थलको अपरिहार्य आबश्यकता पर्छ भन्ने बुझेरै हामीले त्यो बेला यसको संरक्षण गर्नु पर्छ भनेर लागेका थियौँ । मानविय हिसाबले समेत हरेक ठाउँमा सार्वजनिक स्थलको आबश्यकता पर्छ अझ शहरीकरण भईरहेका क्षेत्रमा त यसको अपरिहार्यतानै हुन्छ तर मलाई त्यो बेला अनौठो यसरी पनि लागेका थियो कि समाजका अगुवा भन्नेहरुलेनै सार्वजनिक स्थललाई निजि बनाउने खेलमा लागेको हेर्दा धेरै नमिठो लागेको थियो ।
म त भन्छु सार्वजनिक स्थल क्षेत्रमा कुनैपनि नाम र बहानामा ब्यबसायिक प्रयोजन वा अरु कुनै प्रयोजनका नाममा भवन बनाउन हुदैन । सार्वजनिक स्थल नाम राखेर त्यहाँ निमार्ण गरियो भने त्यो कसरी सार्वजनिक स्थल हुन्छ ? सार्वजनिक स्थल खुल्ला हुनुपर्छ त्यहाँ अत्याबाश्यक वस्तु भन्दा अरु केही पनि निमार्ण गरिनु हुदैन । आजको काँकरभिट्टा बसपार्क क्षेत्र, देबकोटा पार्क, बसपार्क अगाडिको वाटर फाउन्टेन र बिपिपुष्पलाल वाटिका हेरेर आफैलाई आनन्द लाग्छ किनभने हिजोका दिनमा यहाँका सचेत समूहको एकतालेनै यी सबैको बचाउ भएको छ । मलाई लाग्छ मेचीनगरपालिकाले पनि अब यस क्षेत्रमा रहेका सार्वजनिक स्थलको पहिचान गरि त्यसको उचित संरक्षणमा तदारुकता देखाउनु पर्छ ।(कुराकानीमा आधारित)(समाचार श्रोत जन संसद दैनिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button