
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको कार्य क्षेत्र(अधिकार) माथि कार्यपालिकाले हस्तक्षेप गरेको आरोप लागेको छ। चौतारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी अनुसार मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत राजकपुर चम्लागाँईको अधिकार माथि कार्यपालिका मार्फत जनप्रतिनिधिले हस्तक्षेप गरेर निणर्य गर्ने गरेको बताईएको छ । नगरपालिका स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृतको अधिकार क्षेत्र भित्र रहेका कतिपय विषयहरु कार्यपालिकाको बैठकले निणर्य गर्ने गरेको र प्रमुख प्रशासकीय अधिकृतलाई आफ्नो क्षेत्रधिकार भित्रका कुराहरु गर्नबाट समेत कार्यपालिकाले सहयोग नगरेको बताईएको छ । मेचीनगरपालिकाकै एक कर्मचारीले भने—‘ प्रमुख प्रशासकीय अधिकृत ज्युको अधिकारलाई समेत बेवास्ता गर्दै अहिले कार्यपालिकाको नाममा बिभिन्न निणर्यहरु हुने गरेकाछन् यो कानुन सम्मत छैन।र, यसरीनै कर्मचारीहरुका अधिकारलाई कार्यपालिकाको बैठकका नाममा निणर्य गर्दै जाने हो भने भोलीका दिनमा कर्मचारीहरुले नै आफ्नो कानुनी अधिकारको रक्षाका लागि आन्दोलनमा उत्रनु पर्ने अवस्था आउन सक्छ’। ती कर्मचारीका अनुसार कार्यपालिकाले आफ्नो अधिकार क्षेत्र भित्र रहेर निणर्य गर्ने अधिकार हुन्छ भने प्रमुख प्रशासकीय अधिकृत पनि आफ्नो कानुनी दायरामा रहेर निणर्य गर्ने अधिकार हुन्छ तर अहिले मेचीनगर नगरपालिकामा कार्यपालिकाका नाममा हुने निणर्यहरु प्रमुख प्रशासकीय अधिकृतबाट मात्रै हुने कतिपय निणर्यहरु कार्यपालिकाको बैठकले गर्ने बुझिएको छ । मेचीनगर नगरपालिकाकै एक वडा अध्यक्ष भन्छन्— प्रमुख प्रशासकीय अधिकृतले गर्ने निणर्य वा उनको रायसुझावमा गर्नु पर्ने निणर्य कार्यपालिकाका नाममा हुनु राम्रो देखिदैन उनी भन्छन्— अधिकारको कुरा गर्दा कर्तब्यलाई पनि भुल्नु हुदैन ’।मेचीनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरुको आफ्नै खाले ‘कथा’ छ । प्रमुख प्रशासकीय अधिकृतका रुपमा आएका दीनानाथ लम्साल दुई महिना नहुदै सरुवा भएर गएका थिए भने भर्खरै मात्रै गएका सुरेशकुमार दाहाल बिदामा बसेकै समयमा फेरि फर्केर आएनन्। लामो समय सम्म नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको अभाव भएकै समय आएका प्रमुख प्रशासकीय अधिकृत राजकपुर पनि अब कति समय रहने हुन् भन्न सकिने अवस्था छैन । नगरपालिका स्रोतका अनुसार निजामति सेवा आफ्नो जिम्मेवारी पुरा गर्ने कर्मचारीका रुपमा चिनिएका प्रमुख प्रशासकीय अधिकृत राजकपुर चम्लागाँईको जोड विधि सम्मत हुनु पर्छ भन्ने रहेको छ । प्रमुख प्रशासकीय अधिकृतको कार्य क्षेत्र र उनको अधिकारको प्रयोग उनले गर्न पाउनु पर्छ र जनप्रतिनिधिहरुले पनि आफ्नो अधिकार प्रयोग गर्न पाउनु पर्छ भन्ने तर्क अहिले नगरकै कर्मचारीहरु भित्र पनि रहेको छ ।तर, एकले अर्काको अधिकार माथि हस्तक्षेप गरेर समस्यालाई अझ समस्या बनाउने भन्दा पनि आआफ्नो जिम्मेवारी र अधिकारको बोध सबैमा रहनु पर्ने सुझाव दिन्छन नगरकै अर्का एक वडा अध्यक्ष । जनप्रतिनिधि र कर्मचारीहरुको सुमधुर सम्बन्ध र आपसी सहयोगले मात्रै यस क्षेत्रको विकास निमार्णमा गति आउने र जनचाहना अनुसारका काम हुने भएकाले यस प्रकारका विषयहरु बाहिर आउन नहुने बताउँछन् नगरकै एक वडा अध्यक्ष ।



