

झापाको मेचीनगर नगरपालिकामा किन यस्तो हुन्छ ? अहिले सर्वत्र नगर क्षेत्रमा यसको चर्चा हुन थालेको छ । किन यस्तो हुन्छ अर्थात किन मेचीनगर नगरपालिका झापाका अन्य पालिकाको तुलनामा ‘विवाद जस्तै’देखिने विषयमा अलमल परेको हुन्छ । कहिले मकै, कहिले खोला रसीद र ढुङ्गा गिट्टी त कहिले भ्युटावर त कहिले प्रमुख प्रशासकीय अधिकृत यी र यस्तैयस्तै विषयमा समयसमयमा मेचीनगरपालिका चर्चामा आउने गरेको छ। जनचाहना, जनअपेक्षा र जनमान्य विषय भन्दा पनि पृथक विषयका कारण नगरपालिकाका विषयमा यसप्रकारका विषयले उठान पाउनु भनेको पक्कै पनि राम्रो होइन । पछिल्लो समयमा फेरि प्रमुख प्रशासकीय अधिकृृृृृृृृृृतको अधिकार क्षेत्र माथि कार्यपालिकामार्फत जनप्रतिनिधिले हस्तक्षेप गरेको आरोपको विषयले चर्चा पाएको छ ।मेचीनगर नगरपालिकामा पछिल्लो समयमा आउने प्रमुख प्रशासकीय अधिकृतहरुको लगातारको क्रमलाई हेर्ने हो भने यो विषयले पनि चर्चा पाएकै छ । कुनै प्रमुख प्रशासकीय अधिकृत आएको दुई महिना नहुदै सरुवा भएर जान्छन्,कोही बिदामा बसेकै समयमा अन्यत्र सरुवा मागेर जान्छन् त कोही आएका पनि आफ्नो अधिकार क्षेत्र माथि हस्तक्षेप भयो भन्ने गुनासो गर्नुले समग्र नगरको विकासमा यसको असर परेको छ ।र, आम नगरक्षेत्रका सेवाग्राहीमा यसको असर पर्न जान्छ । हामी सबैको आम बुझाई यो हो कि जननिर्वाचित प्रतिनिधिले जनहितका लागि आफ्नो अधिकारको अधिकतम उपयोग गर्न पाउनु पर्छ र गर्नु पनि पर्छ र नगरकार्यपालिकामा रहेका कर्मचारीहरुले पनि विधि सम्मत ढङ्गले नगर प्रशासनलाई संचालन गर्नका लागि आफुले सक्ने सल्लाह र सुझाव जनप्रतिनिधिलाई गर्नु पर्छ यसका अलवा स्थानीय तह संचालनको विधि अनुसार नगरका कर्मचारीहरुले पनि उनीहरुलाई प्राप्त अधिकारको उपयोग गर्न पाउनु पर्छ । सोझो हिसाबमा भन्दा जनप्रतिनिधिले आफ्नो काम, कतब्र्य र अधिकारलाई आत्मसात गर्नु पर्छ भने कर्मचारीहरुले पनि आफुलाई प्राप्त अख्तियारको प्रयोग गर्नु पर्छ जसले समग्र नगर संचालनमा सहयोग पुग्न सकोस ।तर, एकले अर्काको अधिकारलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हस्तक्षेप गर्नु भनको विधिको शासनसँग मेल बन्न सक्दैन । अहिले मेचीनगर नगरकार्यपालिकामा कार्यपालिकाले मेचीनगरका प्रमुख प्रशासकीय अधिकृतको अधिकार क्षेत्र माथि हस्तक्षेप गरेको भन्ने जुन आरोप बाहिर आएको छ यो गंभीर विषय हो यस विषयमा नगरका जनप्रतिनिधि र नगरप्रशासनका कर्मचारी बीच छलफल हुन जरुरी छ । कमजोरी कतैबाट जान अन्जानमा भएको छ भने त्यसलाई ‘ईगो’को रुपमा होइन ‘पाठ’को रुपमा एक अर्काले ग्रहण गरेर आगामी दिन सुमधुर सम्बन्ध स्थापित गरेर जानुनै बुद्धिमता हुन्छ । एकले अर्कालाई आरोप लगाउने भन्दा पनि आआफ्ना कमीकमजोरी कतै छन् भने सच्याएर जान आवाश्यक छ जसले सिङ्गो नगरको हित हुन्छ ।र, आउने दिनमा यसप्रकारका विषयहरु बाहिर नआउने प्रतिबद्धता व्यबहारिक रुपमै कार्यान्वयन गरेर हिजोलाई भुलेर आउने दिनमा जनप्रतिनिधि र नगरका कर्मचारी बीच कर्मचारी र जनप्रतिनिधिको रुपमा भन्दा पनि असल सहयोगी साथीको जस्तो एक अर्काप्रति भावनात्मक सम्बन्धको विकास होस आम नगरवासीको चाहना पनि शायदै यो भन्दा फरक हुदैन होला ।



