खबर

सत्ता साझेदारको बैठक आज

गोरखापत्र अनलाइन
काठमाडौँ। सत्ता साझेदार राजनीतिक दलहरू मन्त्रिपरिषद् विस्तारका सन्दर्भमा मङ्गलबार निर्णायक संवादमा जुट्दैछन्। सत्ता गठबन्धनका तीन दलका शीर्ष नेताको सोमबारको बैठकले मङ्गलबार सत्ता साझेदार दलहरूसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको छलफलमा गठबन्धन दलको बैठक मङ्गलबार अपरान्ह चार बजे बोलाउने समझदारी भएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले बताउनुभयो।

प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले गठबन्धनका तीन शीर्ष नेताको बैठकले मन्त्रिपरिषद् विस्तारलाई टुङ्गो लगाउने गरी छलफल अगाडि बढाएको जानकारी दिनुभयो। उहाँका अनुसार बैठकमा सरकारको नीति तथा कार्यक्रम र समसामयिक विषयमा छलफल हुनेछ। बैठकमा सहभागी हुन कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसँगै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, आमजनता पार्टी र नेपाल समाजवादी पार्टीका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको छ।

कांग्रेसको बैठक बिहीबार

मन्त्रिपरिषद् विस्तारलगायतका विषयलाई लिएर नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक चैत १६ गते बिहीबार बस्ने भएको छ। राष्ट्रिय सभा सदस्य एवं कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समितिको बैठक बस्ने तय भएको हो।

उहाँले विज्ञप्तिमार्फत भन्नुभएको छ, “बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ।”कांग्रेस सहमहामन्त्री जीवन परियारले तनहुँ क्षेत्र नं. १, चितवन क्षेत्र नं. २ र बारा क्षेत्र नं. २ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेदवार सन्दर्भमा छलफल हुने बताउनुभयो।

उहाँले भन्नुभयो, “वैशाख १० गते हुने उपनिर्वाचनका लागि पार्टीका उम्मेदवारको नाममाथि बैठकमा छलफल हुनेछ।” उहाँका अनुसार बैठकमा सभापति शेरबहादुर देउवाले सत्ता साझेदार राजनीतिक दलहरूबीच मन्त्रिपरिषद् विस्तारका सन्दर्भमा भइरहेको छलफलको प्रगतिबारे जानकारी गराउनुहुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button