खबर

बाघलाई छोराछोरीजस्तै मान्ने ‘बाघ बा’

गोरखापत्र अनलाइन
वसन्त पराजुली

भरतपुर । पैँतालीस वर्ष मात्र पार गर्दै गर्नुभएका आइतराम बोटेको जिउडाल, कपडा लवाइ, खवाइ हेर्दा लाग्छ उहाँ साठी कटिसकेको हुनुपर्छ । झुस्स दारी, पातलो शरीर, मसिनो बोलीका उहाँको नियमित काम हो जङ्गली जनावर, त्यसमा बाघको नियमित स्याहार सुसार गर्ने । यही कामले उहाँलाई धेरैले ‘बाघ बा’ भनेर चिन्छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत बोटेको बाघको स्याहार सुसार गर्नु जागिर नै हो । तर उहाँको अनुभव सन्तुष्टिसँग जोडिएको छ । “रोजगारी त भयो भयो बाघको स्याहार सुसार गर्नु आत्मसन्तोष पनि हो,” उहाँले भन्नुभयो, “पहिले त बाघ देख्ने बित्तिकै डर लाग्थ्यो । विस्तारै बानी परेपछि बाघको स्याहार सुसार सामान्यजस्तै लाग्छ ।”

२७ वर्षदेखि निकुञ्जमा कार्यरत बोटे २५ वर्षदेखि बाघकै स्याहार सुसार गर्नुहुन्छ । अहिले बाघको आनीबानी सबै थाहा भएकाले पनि स्याहार सुसार गर्न सजिलो भएको उहाँको अनुभाव छ ।

विशेषतः घाइते वा नरभक्षी भएपछि उद्धार गरेर ल्याइएका बाघलाई उहाँले खोरमा राखेर स्याहार सुसार गर्नुहुन्छ । अहिले पनि निकुञ्जको मुख्यालय नजिकै रहेको कसरामा तीनवटा यस्तै बाघ थुनेर पालिएका छन् ।

उहाँका अनुसार बाँकेबाघ बाँकेमा मान्छे खाएर नरभक्षी भएपछि ल्याइएको हो । नवलपरासीको पिप्रहाको सीतामाईमा घाइते अवस्थामा भेटिएको सीतेमाई पनि खोरमै छ । माडीको वसन्तपुर क्षेत्रमा मान्छे आक्रमण गरेको वसन्ती पनि थुनेरै पलिएको छ । बाघको नाम त्यसलाई नियन्त्रणमा लिएका ठाउँका आधारमा राख्ने गरिन्छ ।

तिनमा दुईवटा पोथी र एउटा भाले हुन् । यिनीहरूलाई छुट्टाछुट्टै खोर बनाएर राखिएको छ । बाँकेबाघले पाँच जनाको ज्यान लिएको थियो भने सीतेमाईले गाउँमा बस्ने घरपालुवा जनावर मारेर खान थालेपछि नियन्त्रणमा लिइएको हो । वसन्तीले दुई जनाको ज्यान लिएको छ । बाँकेलाई तीन वर्षअघि, वसन्तीलाई छ महिनाअघि र सीतेमाईलाई एक वर्षअघि ल्याइएको हो । बोटेले अहिलेका तीनसहित १२ वटा जिउँदा बाघको स्याहार सुसार गर्नुभएको छ । तीमध्ये चारवटाको मृत्यु भइसकेको छ । पाँचवटालाई उपचारपछि निकुञ्जमै छाडिएको र बाँकी तीनवटा अहिलेका हुन् ।

पालिएका बाघलाई नियमित आहारा मासु र पानी दिइन्छ । “एक दिन बिराएर २० किलो मासु आउँछ, त्यो दामासाहीमा तीनवटालाई बाँडेर दिने हो,” उहाँले भन्नुभयो । मासुको मात्रा पछिल्लो समय घटेर आएकोमा उहाँको गुनासो छ । पहिला एउटा बाघ हुँदा १० किलो मासु आउने तर अहिले तीनवटा बाघलाई २० किलो आउँदा एउटाका भागमा सात किलो पनि नपरेको उहाँको गुनासो छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन भने बाघको आहारा नघटाएको बताउनुहुन्छ । “बाघको आहाराको बजेट थोरै हुँदा केही कम छ तर आवश्यक मात्रा भने घटाइएको छैन,” उहाँले भन्नुभयो ।

“मासु खुवाउने बजेट नै छैन भन्छन्। के गरेर दिनु मासु ? भन्ने जवाफ निकुञ्जबाट आउँछ हामीले त जस्तो आयो त्यस्तै खुवाउनुपर्छ,” बोटेले भन्नुभयो।

पेटभरि खान नपाए बाघ रिसाउने पनि उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो, “बाघ रिसाएको छ या छैन भन्ने कुरा उसले खान पायो या पाएको छैन भन्नेमा भरपर्छ। एक दिन मात्रै खाना खान पाएन भने पनि रिसाएर घुर्छ। वरपर नै जाँदा पनि खोर नै भत्काउँला जसरी आक्रमण गर्न खोज्छ। अनि म ‘ओई कराउँछस्’ भनेर गाली गर्छु, बाघ चुप लाग्छ।”

बाघले रिसाएर घुर्न थालेपछि आफूले गाली गर्दिए टाउको लुसुक्क बनाएर एकातिर गएर बस्ने पनि उहाँले सुनाउनुभयो। “गाली गरेपछि त टाउको निउर्‍याएर कुकुरजसरी नै डराएर बस्छ,” उहाँले भन्नुभयो।

कतिपय अवस्थामा थुनेका बाघलाई निकाल्न जङ्गली बाघ पनि आउने गरेको उहाँले एक घटना सुनाउनुभयो। ५७ सालताका नारायणी नामकी बघिनीलाई जङ्गली बाघ आएर राति नै खोरबाहिरबाट खनेर निकाल्न खोजेको तर आफूहरूले थाहा पाएपछि होहल्ला गरेर त्यसलाई धपाएको सुनाउनुभयो। पछि नारायणीलाई चिडिया घरमा लगिएको र उतै मरेको सुनाउँदा उहाँ दुःखी हुनुहुन्थ्यो।

“आफैँले स्याहार गरेका बाघ त छोराछोरीजस्तो लाग्दो रहेछ। त्यो मर्दा नरमाइलो लागेर खाना नै खान मन लाग्दो रहेनछ,” उहाँले भन्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button