
बरसाइत पर्वका लागि बाँसजन्य सामग्री बिक्री गर्दै लहानका डुम समुदायका महिलाहरू । तस्बिर : जीवछ यादव
जीवछ यादव
लहान, वैशाख ३१ गते । बरसाइत पर्वका लागि प्रयोग हुने बाँसजन्य सामग्री बनाएर बिक्री गर्दै डुम समुदायका महिलाले राम्रो आम्दानी गर्न थालेका छन् । यस वर्ष जेठ २ गते मधेश प्रदेशमा बरसाइत पर्व मनाइने भएकाले व्रत बस्ने महिलाहरू पूजासामग्री खरिद गर्न बजारमा भिड लाग्न थालेको छ ।
ढकी, डाला, नाङ्लो, बेना (पङ्खा) लगायत बाँसको चोयाबाट बनाइने सामग्रीको माग बढेसँगै सहरी तथा ग्रामीण भेगका महिलाहरू यतिबेला सामग्री बनाउन र बिक्री गर्न व्यस्त छन् । बरसाइत पर्वमा डाला, नाङ्लो र ढकीमा पूजासामग्री राखेर पूजा गर्ने चलन रहेको छ ।
लहान–१ की मिना मरिक, सीता मरिक र पूजा मरिकसहित डुम समुदायका एक दर्जनभन्दा बढी महिलालाई बिहानदेखि बेलुकासम्म बाँसजन्य सामग्री बिक्री गर्न भ्याइनभ्याइ छ । उनीहरूका अनुसार पछिल्ला केही दशकयता विभिन्न समुदाय र वर्गका महिलाले पति, सन्तान तथा पारिवारिक सुख–शान्तिको कामनासहित बरसाइत पर्व मनाउन थालेपछि यस्ता सामग्रीको माग बढ्दै गएको छ ।
ग्रामीण भेगको तुलनामा सहरी क्षेत्रमा बरसाइत पर्व मनाउनेको संख्या उल्लेख्य रूपमा बढेकाले सहरी क्षेत्रका डुम समुदायले आवश्यक सामग्री बनाउन नभ्याएपछि ग्रामीण भेगसँग सम्पर्क विस्तार गरेका छन् । ग्रामीण क्षेत्रमा तयार गरिएका सामग्री सहरी क्षेत्रमा ल्याएर प्रतिसेट ५० देखि १०० रुपियाँसम्म नाफा राखी बिक्री गर्ने गरिएको मिना मरिकले बताउनुभयो ।
उहाँका अनुसार एउटा बाँस ३०० रुपियाँमा खरिद गरी त्यसबाट तीन सेट सामग्री तयार गर्न सकिन्छ । यसरी बरसाइत पर्वको समयमा एक परिवारले २० हजारदेखि ३० हजार रुपियाँसम्म आम्दानी गर्ने गरेका छन् ।
फागुनदेखि असारसम्म विवाह, बरसाइत तथा विभिन्न पूजापर्वका लागि आवश्यक बाँसजन्य सामग्री बनाएर डुम समुदायले राम्रो आम्दानी गर्दै आएका छन् । दलित अभियानकर्मी सोनिया सदायका अनुसार डुम समुदायमा पुरुषभन्दा महिलाहरू आर्थिक उपार्जन र परिवार सञ्चालनमा बढी जिम्मेवार देखिएका छन् ।
उहाँले मुसहर र डुम समुदायमा मदिरा सेवनका कारण पुरुषहरू कम उमेरमै बिरामी पर्ने समस्या रहेको उल्लेख गर्दै मदिरा नियन्त्रण गर्न सके दुवै समुदायको आर्थिक अवस्था सुधार हुने बताउनुभयो । उहाँका अनुसार मदिरा सेवनमा रोक लगाउन यी समुदायका महिलाहरूले पटक–पटक माग गर्दै आएका छन् ।
गोरखापत्र अनलाइन



