स्वास्थ्य

दादुरा निवारण गर्न चुनौती

सरोज ढुङ्गेल
काठमाडौँ । सन् २०२६ सम्ममा दादुरा निवारण गर्ने नेपालको लक्ष्यमाथि चुनौती थपिएको छ । पाँच महिनाअघि नेपालगन्जबाट सुरु भएको दादुराले अहिले देशव्यापी रूप लिँदा चुनौती थपिएको हो । हाल काठमाडौँसहित सुर्खेत, बाँके, बर्दिया, कैलाली, बाजुरालगायतका जिल्लामा दादुराको प्रकोप फैलिएको छ।

गत पुसअघिसम्म नेपालगन्जमा मात्र फैलिएको दादुरा पछिल्लो समय काठमाडौँसहित १५ जिल्लामा फैलिइसकेको छ । पछिल्लो समय काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको एक विद्यालयका पाँच जना विद्यार्थीको नमुना सङ्कलन गर्दा चार जना विद्यार्थीमा दादुरा सङ्क्रमण भएको पाइएको छ ।

परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको क्रममा गोकर्णेश्वर एक गुम्बामा अध्ययनरत विद्यालयका चार जनामा दादुरा पुष्टि भएको जानकारी दिनुभयो । उक्त विद्यालयमा अध्ययनरत १५ वर्षमुनिका ५४ जना विद्यार्थीलाई दादुरासँग मिल्दाजुल्दा लक्षण देखिएपछि पाँच जनाको नमुना परीक्षण गरिएको उहाँको भनाइ छ । गत पुसमा नेपालगन्जमा दादुरा फैलिएपछि सरकारले दादुराविरुद्ध खोप अभियान सञ्चालन गरेको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले काठमाडौँमा समेत दादुरा देखिएपछि दादुराविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । उहाँले हाललाई नौ जिल्लाका बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन सुरु गरेको जानकारी दिनुभयो । काठमाडौँमा फैलिएको दादुरा गुम्बामा बस्ने बालबालिका पुष्टि भएको र उनीहरूले हालसम्म दादुराविरुद्धको खोप नलगाएको पाइएको जानकारी दिनुभयो ।

परिवार कल्याण महाशाखाका अधिकृत भरत भण्डारीले गुम्बामा भएका विद्यार्थीलाई निगरानीमा राखिएको जानकारी दिँदै चिकित्सकसहितको टोली परिचालन गरिएको बताउनुभयो ।

उहाँले नौ जिल्लामा दादुरा रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरा जिल्लामा ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइँदै छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले एक जना दादुरा सङ्क्रमितले १८ जनासम्म अन्य व्यक्तिमा रोग सार्न सक्ने बताउनुभयो ।

देशका विभिन्न जिल्लामा दादुरा महामारी देखिएको र यो महामारी अन्य जिल्लामा फैलन सक्ने भन्दै सरकारले बेलाबेलामा खोप अभियान सञ्चालन गर्दै आएको छ । हाल दादुरा फैलिएका स्थानमा बालबालिकाहरूले दादुरा–रुबेला खोप नलगाइएको पाइएको छ ।

नेपालगन्जमा १५ वर्षमुनिका बालबालिकामा दादुरा रुबेला महामारीका रूपमा देखिएको थियो । गत पुसमा १७ जिल्लामा एक हजार एक सय बालबालिका दादुरा सङ्क्रमित भएका थिए । दादुराले एक जनाको मृत्यु भएको थियो ।

सरुवा रोग विशेषज्ञ डा. पुनका अनुसार दादुरा सङ्क्रमित भएपछि ज्वरो आउने, शरीरमा राता बिमिरा देखा पर्ने, रुघाखोकीको लक्षणमा नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्ने जस्ता लक्षण देखा पर्दछन् । उहाँले रोगीको सम्पर्कमा आएको १० देखि १२ दिनपछि मात्र दादुराको लक्षण देखा पर्दछ । दादुरा सङ्व्रmमित व्यक्तिलाई डाबर र बिमिरा देखा पर्नुभन्दा चार दिन अगाडिदेखि र डाबर देखा परेको चार दिन पछिसम्म अर्को व्यक्तिमा

सर्न सक्छ ।गोरखापत्र दैनिकमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button