स्वास्थ्य

निःशुल्क स्वास्थ्य परामर्श सेवा लिने बढ्दो

सीता शर्मा
काठमाडौँ। “खाना खायो कि पेट डुम्म हुने, वाकवाक हुने भएको छ, ठुलै रोग पो लागे हो कि चिन्ताले महिनौँ दिन भइसक्यो निदाउन सकेको छैन । डर मात्रै लाग्छ, के भएर हो डाक्टरसाब भन्निदिनुहोस् न,” यो भनाइ रोजगारीको सिलसिलामा कतारमा रहेका युवाले वीर अस्पतालको टेलिमेडिसिन सेवा लिनका लागि आएको फोन हो । सरकारले गएको चैत १५ देखि कार्यालय समयमा यसै गरी फोनमा टेलिमेडिसिनमार्फत निःशुल्क स्वास्थ्य परामर्श सेवा दिर्दै आएको छ ।

वैदेशिक रोजगार बोर्डको सचिवालयको निगरानीमा वीर अस्पतालमा सञ्चालित चिकित्सक परामर्श युनिटले विभिन्न ५२/५३ देशमा कार्यरत ६६९ नेपाली श्रमिकलाई स्वास्थ्य परामर्श सेवा प्रदान गरेको जनाएको छ । जसमा ६५ जनाले विशेषज्ञ चिकित्सा सेवा लिएको सो स्वास्थ्य युनिटका मेडिकल अधिकृत डा. सञ्जय धरेलले जानकारी दिनुभयो । उहाँले विशेषज्ञ सेवा लिनेमध्ये अधिकांश सामान्य रोगका कारण पनि ठूलै रोग लाग्यो कि भन्ने आशङ्काले मनोरोगी हुने धेरै भएको पनि जानकारी दिनुभयो ।

टेलिमेडिसिन सेवाका लागि एक युवाको फोन रेकर्ड सुनाउँदै डा. धरेलले भन्नुभयो, “रोग ग्यास्टिकको हुन्छ तर ठुलो रोग लागेको आशङ्का गरेर मानसिक रोगी भएको पाइयो । उहाँलाई मनोचिकित्सकमार्फत परामर्शपछि सामान्य ग्यास्टिकको औषधीले निको भएको छ ।” बोर्डले गत चैत १५ देखि वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्या सल्टाउने उद्देश्यले देशको केन्द्रीय अस्पताल वीरमार्फत निःशुल्क टेलिमेडिसिन सेवा दिर्दै आएको छ । वीर अस्पतालमा सुरु गरेको स्वास्थ्य युनिटका मेडिकल अधिकृत डा. सञ्जय धरेलले विदेशबाट टेलिमेडिसिन सेवा लिनेमध्ये सबैभन्दा धेरै कब्जियत, पेट दुख्ने र खान मन नहुने, छालाको समस्या रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार यीबाहेक ढाड दुख्ने, हातखुट्टा सुनिने, मुटुको धड्कन बढ्ने र मनोरोगसम्बन्धी रहेका छन् । टेलिमेडिसिनमार्फत सेवा लिने श्रमिकले सुनाएका लक्षणका आधारमा सम्बन्धित विशेषज्ञ चिकित्सकले हेरेर चिकित्सकको ‘प्रेस्व्रिmप्सन’ अनलाइनमार्फत उपलब्ध गराउने गराउँदै आएको डा. धरेलले जानकारी दिनुभयो । उहाँले टेलिमेडिसिन सेवामा सेवा लिनेको ठुलो सङ्ख्या खाडी र मलेसिया भए पनि पछिल्लो पटक अस्टे«लिया, जापान, बेलायत, युरोपका विभिन्न देशमा रहेकाले पनि टेलिमेडिसिन सेवामार्फत आफूलाई भएको स्वास्थ्य परामर्श सेवा लिँदै आएका छन् ।

डा. धरेलले वैदेशिक रोजगारीमा रहेका श्रमिकले भनेका समस्या टेलिमेडिसिनका मेडिकल अधिकृतले सुनेर बिरामी श्रमिकलाई विशेषज्ञ सेवा आवश्यक परेमा हरेक आइतबार र शुक्रबार उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । आइतबार र शुक्रबार विदेशी मुलुकमा सार्वजनिक बिदा पर्ने हुँदा ती दिनमा श्रमिकसँग समय हुने भएकाले सेवा उपलब्ध गराउन लागिएको बोर्डका निर्देशक एवं सूचना अधिकारी राजन पौडेलले बताउनुभयो । सामान्य स्वास्थ्य समस्याबारेमा उपचार गराउने व्यवस्था नहुँदा वैदेशिक रोजगारमा गएका कैयौँ श्रमिकको उतै मृत्यु हुने गरेको केही भए पनि राहत होस् भनेर उक्त सेवा सुरु गरेको जानकारी दिनुभयो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई लक्षित गरी टेलिमेडिसिन सेवा सञ्चालन गर्न टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेसँगै सेवा दिँदै आएको छ । बोर्डका अनुसार यसबाट वैदेशिक रोजगारीमा रहेका सबैले सेवा लिन सक्ने व्यवस्था गरिएको छ । विदेशमा श्रमिकले भोग्दै आएका स्वास्थ्य समस्या समाधान गर्न सहयोग पु-याउनका लागि पहिलो पटक सञ्चालनमा ल्याइएको उक्त सेवालाई प्रभावकारी बनाउन सजिलो नभएको स्वयम् सरकारका अधिकारी नै स्वीकार गर्छन् ।

बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले नेपालमा रहेको चिकित्सकले विदेशमा रहेका श्रमिकले भनेका कुरालाई आधार मानेर दिने स्वास्थ्य सेवा प्रत्यक्ष भेटेर बिरामी परीक्षण गरेजस्तो प्रभावकारी हुन नसक्ने बताउनुभयो । उहाँले विदेशमा कार्यरत श्रमिक सामान्य स्वास्थ्य समस्याका कारण जटिल अवस्थाको बिरामी हुन नपरोस् भनी टेलिमेडिसिनमार्फत श्रमिकको आवश्यकता अनुसार स्वास्थ्यसम्बन्धी सल्लाह, सुझाव र परामर्श उपलब्ध गराउन थालिएको जानकारी दिनुुभयो । बोर्डका अनुसार सार्वजनिक बिदाको दिनबाहेक नेपाली कार्यालय समयमा सेवा प्रवाह गर्दै आएको छ । बोर्डका अनुसार विदेशमा रहेका नेपाली श्रमिकले टेलिमेडिसिन सेवा लिनु परेमा ९८५१३४५७०१ र ९८५१३४५७०२ नम्बरमा भाइबर, ह्वाट्स एप वा इमोलगायतका माध्यममार्फत सम्पर्क गरेर सेवा लिन सकिने व्यवस्था गरेको छ ।

कार्यकारी निर्देशक उप्रेतीले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई स्वास्थ्य समस्याबारेमा सल्लाह र सुझाव लिने ठाउँ नहुँदा हाम्रा श्रमिकले मृत्युवरण गर्नु परेकाले यसबाट केही हदसम्म कम हुने विश्वास व्यक्त गर्नुभयो । बोर्डका अनुसार आर्थिक वर्ष २०६५/६६ देखि गत पुस महिनासम्म ११ हजार ५६२ जनाको वैदेशिक रोजगारका क्रममा मृत्यु भएको छ । सो अवधिमा अङ्गभङ्ग भएर फर्कनेको सङ्ख्या दुई हजार २५० जना रहेको छ । यो सङ्ख्या बोर्डबाट आर्थिक सहायता लिनेको मात्रै हो ।गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button