कृषि र किसानमूल खबर

‘लम्पी स्किन’ रोग लागेका पशुको दुध खान योग्य

काठमाडौँ  । पशु सेवा विभागले ‘लम्पी स्किन’ रोग लागेका पशुको दुध खानयोग्य रहेको प्रस्ट गरेको छ । ‘लम्पी स्किन’ रोग लागेका पशुको दुध खान हुने वा नहुने उपभोक्तामा अन्योल रहेका बेला विभागले सो प्रस्ट पारेको हो ।

‘लम्पी स्किन’ को महामारी फैलिएपछि धेरै ठाउँमा दुध खान छाडेका खबरहरू बाहिर आएको छ । त्यसरी उपभोक्ताले खान छाडेपछि दुध खपतमा कमी आएको बताइएको छ । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले करिब १० देखि १५ प्रतिशत उपभोक्ताले दुध खान छाडेको बताउनुभयो ।

जसको घरमा “लम्पी स्किन रोग लागेका पशुले दुध दिइरहेका छन्, ती घरका प्रायःले दुध खान छाडेका छन् र ती सबै दुध बजारमा पठाउने गरेको हुनाले दुध बढी देखिएको अध्यक्ष दाहालको दाबी छ । अहिले बजारमा दुध अत्यधिक बढी भएको छ,” उहाँले भन्नुभयो, “त्यो ‘लम्पी स्किन’ ले मात्र होइन, मूल्य वृद्धि र भारतको दुध लुकीछिपी नेपाल आएका कारणले दुध बढी भएको हो त्यसमध्ये लम्पी स्किन पनि एउटा कारण हो ।”

तर पशु सेवा विभागका महानिर्देशक डा. सम्झना काफ्लेले ‘लम्पी स्किन’ रोग लागेका पशुको दुध खाँदा केही फरक नपर्ने बताउनुभएको छ । गोरखापत्रसँग कुरा गर्दै महानिर्देशक काफ्लेले भन्नुभयो, “लम्पी स्किन रोग नसर्ने रोग हो, पशुबाट मानवमा नसर्ने भएकाले यो रोग लागेको पशुको दुध खाँदा केही फरक पर्दैन ।” यो रोग लागेका बेलामा पशुमा दुध उत्पादन धेरै घट्ने हुन्छ । लक्षण देखाएका वा नदेखाएका सङ्व्रmमित पशुको दुध बजारमा आउन सक्ने हुँदा दुध राम्ररी उमालेर सेवन गर्नु उपयुक्त हुने विभागले जनाएको छ तर बिरामी पशुमा एन्टिवायोटिक प्रयोग गरिएको भएमा त्यस्ता पशुमा एन्टिवायोटिक प्रयोग सुरु भएदेखि प्रयोग गर्न छोडिएको दिनबाट कम्तीमा एक हप्ता अवधिसम्म दुध सेवन गर्न नहुने विभागले जनाएको छ ।

महानिर्देशक काफ्लेले एन्टिवायोटिक प्रयोग भइरहेको पशुको दुध कम्तीमा एक हप्तासम्म खानु हुँदैन तर ‘लम्पी स्किन’ रोग लागेको पशुमा एन्टिवायोटिक प्रयोग नभएको बताउनुभयो । ‘लम्पी स्किन’ रोग लागेको पशुलाई सिटामोल मात्र खुवाइरहेको छ, त्यसैले यसले मानवको स्वास्थ्यमा कुनै असर नगर्ने भएकाले दुध खानमा कुनै बाधा नरहेको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो, “लम्पी स्किन रोग लागेका पशुको दुध खानु हुन्छ कि हुँदैन भनी हल्ला सुनिएको छ, त्यो हल्लाको पछाडि नगएर मज्जाले दुध खाँदा हुन्छ त्यसले मानव स्वास्थ्यमा केही असर गर्दैन ।”गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button