मूल खबर

झापाका अधिकाँश छोटी भन्सार जीवजन्तुको वासस्थान बन्दैं

लक्ष्मी उप्रेती

मेचीनगर ः सशस्त्र द्वन्द्वका समयमा विस्थापित झापाका अधिकाँश छोटी भन्सार कार्यालय अझै पनि पुनःस्थापित नहुँदा राजस्व चुहावट नियन्त्रण हुन सकेको छैन भने भन्सार कार्यालयको उचित रेखदेख पुग्नसक्दा झाडीमा परिणत भई जीवजन्तुको वासस्थान र दुव्र्यसनीको आश्रयस्थल बन्न थालेको छ ।

सीमापारि भारतीय क्षेत्रमा भन्सार कार्यालय नहुँदा नेपालतर्फको भागमा भन्सार कार्यालय सञ्चालन गर्नुको अर्थ नहुने हुँदा जिल्लाका अधिकाँश छोटी भन्सार कार्यालय सञ्चालन बन्द गरिएको भन्सार अधिकारीहरुको भनाई छ । छिमेकी देश भारतसँग १ सय १८ किलोमिटर खुला सिमानामा जोडिएको झापा जिल्लामा झण्डै एकदर्जन छोटी भन्सार कार्यालय छन् ।

झापामा दुईवटा मेची भन्सार कार्यालय र भद्रपुरस्थित मेची नदीमा पक्की पुल निर्माणसँगै भद्रपुर छोटी भन्सार कार्यालयको स्तरोन्नति भएपछि भन्सार विभागले छुट्टै भद्रपुर भन्सार कार्यालयको दर्जा दिएको छ । यसअघि यो कार्यालय मेची भन्सार कार्यालयको मातहतमा छोटी भन्सार कार्यालयको रुपमा रहेको थियो । उक्त कार्यालय सञ्चालनमा आएसँगै झापामा दुई वटा भन्सार कार्यालय भएको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिएकाछन् ।

मेची भन्सार कार्यालय काँकरभिट्टा मातहतमा बाहुनडाँगी, नकलबन्दा, सतिघट्टा र गौरीगञ्ज छोटी भन्सार कार्यालय पर्दछन् जिल्लाका ११ वटा छोटी भन्सार कार्यालय मध्ये बाकी भद्रपुर भन्सार कार्यालयको मातहतमा रहेका छन् । झापाको दक्षिणमा सञ्चालित केचना, झापा, घेराबारी र पञ्चपाडा छोटी भन्सार भद्रपुर मतहतमामा रहने गरी विभागले तोकेको छ । पछिल्लो समय सरकारले छोटी भन्सारलाई विस्थापित गर्ने नीति अघि सारेका कराण पनि सशस्त्र द्वन्द्वका समयमा विस्थापित छोटी भन्सार कार्यालय पुनःस्थापित हुन् नसकेको एकजना भन्सार अधिकारीको भनाई छ ।

अन्तर्राष्ट्रिय नीति अनुसार नेपाल भारतबीच सीमावर्ती क्षेत्रमा दुवै देशका भन्सार कार्यालय हुनुपर्दछ । एकलौटी पाराले कुनै पनि देशले भन्सार कार्यालय सञ्चालन गर्न नसकिने मान्यता रहेको भन्सार अधिकारीहरुको भनाई छ । नेपालतर्फको झापाको मेचीनगर—६ काँकरभिट्टामा मेची भन्सार कार्यालय तथा भारतको पश्चिम बंगाल राज्यसँग सीमा जोडिएको भारततर्फ पानीट्याँकीस्थित रानीगञ्ज नाका पर्दछ । उता भारतको विहार र बंगाल राज्यसँग जोडिएको छ , भद्रपुर छोटी भन्सार कार्यालय ।

‘भारततर्फ भन्सार कार्यालय नभएका नाकामा नेपालले छोटी भन्सार कार्यालय स्थापन गरे पछि दुवै देशको संयुक्त बैठकमा नेपालले एकलौटी पाराले भन्सार कार्यालय स्थापना गरेको भन्दैं भारतीय पक्षले कुरा उठाउँदै आएका थिए ’ प्रमुख भन्सार अधिकृत रेगमीले भने—‘उनीहरुले भारततर्फ भन्सार नभएपछि खुला सिमानाको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रमा तस्करीसमेत बढ्ने गरेको गुनासो गरेका थिए ।’ ‘सीमापारि भारतीय क्षेत्रमा भन्सार कार्यालय नहुँदा नेपालतर्फको भागमा भन्सार कार्यालय सञ्चालन गर्नुको अर्थ नहुने हुँदा झापास्थित छोटी भन्सार कार्यालय सञ्चालन बन्द गरिएको हो ’ प्रमुख भन्सार अधिकृत रेग्मीले भने ‘सीमापारि भन्सार कार्यालय सञ्चालन भएको भए नेपालतर्फका बन्द रहेका छोटी भन्सार कार्यालय सञ्चालन गर्न सकिन्थ्यो’, रेग्मीले भने—‘ भन्सारको काम नहुने भएपछि झापाका अधिकाँश छोटी भन्सार रहेको कार्यालय भवन प्रयोगविहीन छन् ।’

पुनःस्थापित हुन् नसकेका कार्यालयमा भन्सारका लाखौं रुपैयाँका भन्सारको आफ्नै सम्पति संरचना, भवन जग्गा रहेकाले बेला बेला रेखदेख गर्ने गरिएको छ । ती नाकाबाट आयात निर्यात ठप्प छ । कार्यालयको सञ्चालनको काम बन्द गरिएसँगै कतिवटा कार्यालय रहेका भवन र अन्य संरचनाहरु उचित रेखदेखको अभावमा जीवजन्तु र दुव्र्यसनीको आश्रयस्थल बन्न थालेको स्थानीयवासीको भनाई छ ।

आफ्नै ठाउँको भन्सार कार्यालय बन्द भएपछि बाहुनडाँगी, नकलबन्दा, सतिघट्टा गौरीगञ्जलगायत आसपासका व्यापारीले मेची र भद्रपुर भन्सार कार्यालय वा नाकाबाट मालसामानको आयात निर्यात गर्न बाध्य भइरहेका छन् ।

बाहुनडाँगी सतिघट्टा भन्सार कार्यालय नजिकै नेपाल प्रहरीको प्रहरी चौकी र सशस्त्र प्रहरीको बोडर आउट पोस्ट कार्यालय सञ्चालनमा छ । यता त्यसक्षेत्रमा सञ्चालनमा रहेका छोटी भन्सार कार्यालय तत्कालीन समयमा सशस्त्र द्वन्द्व चर्केसँगै बन्द अवस्थामा छन् । ‘सीमावर्ती क्षेत्रमा भन्सार कार्यालय सञ्चालन गर्दा दुवै देशलाई फाइदा पुग्थ्यो’ एकजना अर्थविद राजेन्द्रकुमार बाँनियाँ भन्छन्—‘लामो सीमामा भन्सार नहुँदा कतिपयले बाध्यताले मालसामानको चोरी निकासी गर्नुपरेको सुनिन्छ, व्यापारीलाई मुख्यः भन्सार कार्यालय पुगेर मालसामानको भन्सार काट्नुपर्दा ठूलो समस्या हुने गर्दछ ।’

भन्सार कार्यालय नहुँदा स्थानीय उद्योगी व्यापारीले दुःख झेलेको बताएका छन् । ‘भन्सार नहुँदा बढेको अबैध व्यपारले जनता र व्यापारीले दुःख पाएका छन्, राज्यको राजस्व संकलन कार्य पनि प्रभावित भइरहेको छ ।’ यी कार्यालय पुनःस्थापनाभन्दा पनि नयाँ प्रक्रियाबाट नयाँ छोटी भन्सार कार्यालय स्थापनाको पहल गरिनु पर्दछ । ’ मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेम प्रसाईले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button