खबर

विस्थापितको जनजीवन कष्टकर

धनगढी । बाढीका कारण विस्थापितहरूको जनजीवन कष्टकर बन्दै गएको छ। पेटभर खान नपाउँदा तथा उचित बासको व्यवस्था नहुँदा जनजीवन कष्टकर बनेको हो। अन्नबाली जोगाउन र सुरक्षित स्थानमा ल्याउन नसकेका कतिपय विस्थापित चाउचाउको भरमा गुजारा गर्न बाध्य छन्। भजनी नगरपालिकाका विस्थापितलाई छाक टार्न समस्या भएको छ।

नगरपालिकाले खाद्य तथा गैरखाद्य सामग्री सहयोगका लागि सरकारी, गैरसरकारी सङ्घ संस्था, निजी क्षेत्र, सहकारी र नागरिक समाजलाई अपिल गरेको छ।

बाढीका कारण सो नगरपालिकामा सबैभन्दा बढी मानिस विस्थापित छन्। उनीहरूमध्ये केही व्यक्ति विद्यालय र सुरक्षित भवनमा बसेका छन् भने धेरै जसो हुलाकी सडकमा पुगेका छन्। विस्थापितहरूलाई अहिलेसम्म पानीबाहेक नगरपालिकाबाट केही पनि दिन नसकिएको नगर प्रवक्ता विक्रम चौधरीले बताउनुभयो।

बाढीका कारण दुई हजार ३४२ घरपरिवार प्रभावित भएकोमा एक हजार २४ परिवार विस्थापित भएको नगरपालिकाले जनाएको छ। जसमध्ये सबैभन्दा बढी वडा नम्बर ३ र ८ का स्थानीय रहेको नगरपालिकाका विपत् व्यवस्थापन शाखाका अधिकृत विष्णुराज न्यौपानेले बताउनुभयो।

नदीमा दाउरा निकाल्न जाँदा मृत्यु

कैलालीको खुटिया नदीमा दाउरा निकाल्न गएका एक व्यक्तिको मृत्यु भएको छ। गोदावरी नगरपालिका–९, धनचौरीका ४० वर्षीय रत्नप्रसाद भट्टराईको मृत्यु भएको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार खोलाबाट दाउरा निकाल्ने भनेर उहाँ बुधबार खुटिया नदीमा जानुभएको थियो तर फर्केर नआएपछि आफन्तले बिहीबार प्रहरीलाई जानकारी गराएका थिए।

जानकारीपश्चात् खोजीकार्य गर्ने क्रममा जमेको पानीमा भट्टराईको शव भेटिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button