मूल खबर

शोधनान्तर स्थितिमा सुधार, बढ्यो रेमिट्यान्स

काठमाडौँ। अघिल्लो वर्ष घाटामा रहेको नेपालको शोधनान्तर स्थिति गत आर्थिक वर्षमा सुधारिएको छ । सरकारले आयातमा गरेको कडाइले गत वर्ष करिब तीन खर्बले बचतमा रहेको हो ।

नेपाल राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरेको आव २०७९/८० को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार गत असारसम्ममा शोधनान्तर स्थिति दुई खर्ब ९० अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति दुई खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्ष दुई अर्ब १५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा दुई अर्ब २१ करोडले बचतमा रहेको छ । आव २०७९/८० मा चालु खाता ७२ अर्ब १६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता छ खर्ब २३ अर्ब ३८ करोडले घाटामा रहेकोमा गत वर्ष यस्तो घाटा कम भएको हो । अमेरिकी डलरमा अघिल्लो वर्ष पाँच अर्ब १७ करोडले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा ५५ करोड ७१ लाखले घाटामा रहेको छ ।

उपभोक्ता मुद्रास्फीति बढ्यो

आर्थिक वर्ष २०७९/८० मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ । अघिल्लो आवमा यस्तो मुद्रास्फीति ६.३२ प्रतिशत रहेको थियो । अघिल्लो आवको तुलनामा आव २०७९/८० मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेस्टुरेन्ट तथा होटल उपसमूहको मूल्य वृद्धि १४.४२ प्रतिशत, मरमसलाको १२.५० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १०.७० प्रतिशत, सुर्तीजन्य पदार्थको ९.८८ प्रतिशत र दुग्ध पदार्थ तथा अन्डाको ९.२३ प्रतिशत रहेको छ ।

वस्तु निर्यातमा कमी

आर्थिक वर्ष २०७९/८० मा कुल वस्तु निर्यातमा २१.४ प्रतिशतले कमी आई एक खर्ब ५७ अर्ब १४ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो निर्यात ४१.७ प्रतिशतले बढेको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३१.३ प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ११८.३ प्रतिशत र १०.७ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा जिङ्क सिट, पार्टिकल बोर्ड, अलैँची, ऊनी गलैँचा, पोलिस्टर धागोलगायतका वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहनालगायतका वस्तुको निर्यात घटेको छ । समीक्षा वर्षमा कुल वस्तु आयातमा १६.१ प्रतिशतले कमी आई १६ खर्ब ११ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आयात २४.७ प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.४ प्रतिशत, १५.९ प्रतिशत र २०.७ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा स्पोन्ज आइरन, रासायनिक मल अन्य स्टेसनरी सामान, अलकत्रा, कागजलगायतका वस्तुको आयात बढेको छ भने सवारीसाधन तथा स्पेयर पार्ट्स, एमएस बिलेट, औषधी, पेट्रोलियम पदार्थ, कच्चा भटमासको तेललगायतका वस्तुको आयात घटेको छ ।

रेमिट्यान्स आप्रवाह २१.२ प्रतिशतले वृद्धि

समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह २१.२ प्रतिशतले वृद्धि भई १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ । अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह ४.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई नौ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४०.३ प्रतिशतले वृद्धि भई चार लाख ९७ हजार ७०४ पुगेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या ३९२.० प्रतिशतले बढेको थियो । त्यसै गरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई दुई लाख ७७ हजार २७२ पुगेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या १९८.५ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा खुद ट्रान्सफर २०.६ प्रतिशतले वृद्धि भई १३ खर्ब ४८ अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर ४.३ प्रतिशतले बढेको थियो ।

विनिमय सञ्चितिमा बढोत्तरी

अघिल्लो वर्षको असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले वृद्धि भई २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकोमा २०८० असार मसान्तमा २३.१ प्रतिशतले वृद्धि भई ११ अर्ब ७४ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैङ्कमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०८० असार मसान्तमा २७.४ प्रतिशतले वृद्धि भई १३ खर्ब ४५ अर्ब ७८ करोड कायम भएको छ ।

बैङ्क तथा वित्तीय संस्था (राष्ट्र बैङ्कबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा एक खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०८० असार मसान्तमा २१.४ प्रतिशतले वृद्धि भई एक खर्ब ९३ अर्ब ५९ करोड पुगेको छ । २०८० असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button