मूल खबर

इन्जिनियरको गैरकानुनी कमाइ ३ करोड

सुनील महर्जन
काठमाडौं । रामबहादुर रानाभाटले सरकारी जागिरमा रहँदाको २४ वर्षमा अनियमितता गरी झन्डै ३ करोड रुपियाँ आम्दानी गरेको पाइएको छ ।

जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही दाङका इन्जिनियर रानाभाटले पदको दुरुपयोग गरी सो रकम कमाएका हुन् । २०४६ असार ३० गते सरकारी सेवामा प्रवेश गरेका रानाभाट गत वर्ष कार्तिक ६ गतेसम्म जागिरे थिए । अकुत सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धानले गरेको छानबिनका क्रममा सो तथ्य खुलेको हो ।

रानाभाटको जीवनशैली अस्वाभाविक, पदीय हैसियतअनुसार अमिल्दो भएको आशंका गरी अख्तियारमा उजुरी परेको थियो । उजुरी परेको महिनौं दिनपछि आयोगले छानबिन गरेर सो स्थिति पाइएको आयोगका प्रवक्ता भोला दाहालले बताउनुभयो ।

इन्जिनियर रानाभाटले कमाएको ३ करोड १५ लाख ८१ हजार ६६ रुपियाँ ८० पैसा बराबरको सम्पत्ति स्रोत नखुलेको भन्दै आयोगले भ्र्रष्टाचारको मुद्दामा विशेष अदालतमा मुद्दा दायर गरेको छ । जागिरे अवधिमा कमाएको र खर्चको गरेको बिच तारतम्यता नदेखिएपछि आयोगको प्रारम्भिक अनुसन्धानले देखाएपछि मुद्दा दायर गरेको प्रवक्ता दाहालको भनाइ रहेको छ ।

आफ्नो हैसियतभन्दा बढी रकम बराबरको आफ्नो र परिवारको नाममा विभिन्न कम्पनीको सेयर, जग्गा, अध्ययन खर्च, घर निर्माण तथा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा रकम जम्मा गरेको देखिएको आयोगले जनाएको छ । रानाभाटको वैधानिक आयको तुलनामा खर्च एवं लगानीसहितको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आएको छ । प्रवक्ता दाहालले भन्नुभयो– ‘वैधानिक रूपले आर्जित सम्पत्तिको अनुपातमा मनासिव नदेखिने किसिमको रानाभाट र निजको परिवारले अमिल्दो र अस्वाभाविक उच्चस्तरको जीवनयापन गरेको देखिन आएको छ ।’

रानाभाटविरूद्ध आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार गैरकानुनी तवरले आर्जन गरेको सम्पत्ति जफत एवं असुल गर्न मागदाबी लिएको छ । आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिबाट बढे बढाई हाल कायम रहेको सम्पत्तिसमेतबाट साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम बिगो र जरिवाना जफत गरी पाउन मागदाबी लिइएको छ ।

त्यस्तै, उनकी श्रीमती राधा रानाभाटको नाउँमा रहेको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र आंशिक स्रोत खुलेको सम्पत्तिबाट बिगो जफत गरी पाउन पनि मागदाबी गरिएको छ । सम्पत्ति जफत गर्नका लागि मात्रै श्रीमती रानाभाटलाई प्रतिवादी बनाइएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, ४८ को दफा २९ ‘ख’ बमोजिम जफत गर्ने प्रयोजनका लागि मात्र उनलाई समेत प्रतिवादी कायम गरिएको थियो।नेपाल समाचारपत्र दैनिकबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button