कला

‘कालो अक्षर रातो अक्षर’ मञ्चन

काठमाडौँ। नाटक ‘कालो अक्षर रातो अक्षर’ को काठमाडौँ बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन सुरु भएको छ। नाटकमा शिक्षा प्रणालीमा भइरहेको विकृति, विद्यालयमा विद्यार्थी आन्दोलनले पारेको प्रभावको विषय समेटिएको छ। शैक्षिक क्षेत्रका विसङ्गति, शिक्षाको व्यापार, युवा विद्यार्थीको बाध्यात्मक बहिर्गमन र त्यसलाई ओत दिने विकृति नाटकमा उजागर गर्न खोजिएको छ । नाटकमार्फत अहिलेको शिक्षा प्रणालीले सामाजिक संरचनामा पारेको प्रभाव, विश्व श्रमबजारमा विद्यार्थी बनेर बिदेसिनुपर्ने युवाको बाध्यता, विद्यार्थी आन्दोलन आफैँभित्रको समस्या, युवाको विद्रोहलगायतका मुद्दालाई देखाउन खोजिएको छ । नाटकले आजको राज्यसत्ता र प्रणालीलाई बारम्बार प्रश्न गरिरहन्छ । नाटक शिक्षा क्षेत्रको अहिलेको यथार्थमा लेखिएको छ ।

शिक्षा क्षेत्रमा भएको माफियाविरुद्ध विरोध प्रदर्शनका रूपमा नाटकको कथा घुमेको छ। दिनहुँ सयौँ युवा राम्रो शिक्षाको खोजीमा बिदेसिनुको परेको पीडा र देशमा माफियाको चङ्गुलमा फसेको शिक्षा महँगो र व्यावहारिक नभएको कुरालाई नाटकमा उजागर गरिएको छ। निःशुल्क शिक्षा र व्यावहारिक सिकाइको माग आन्दोलनबाट सुरु गरिएको छ। देशको महँगी त्यसमा पनि सरकारी स्कुल, कलेजहरूलाई विस्थापित गरेर निजीलाई पोषण गर्ने काम हरेक सरकारका पालामा भइरहेको अवस्था नाटकले दर्साउन खोजेको छ । विद्यार्थी वर्गले जति नै क्रान्ति गरे पनि आफ्ना बाबा आमाको सपना साकार गर्न वा भनौँ पैसा कमाउन क्रान्तिमा होमिएका साथीहरूलाई छोडेर विदेश पलायन हुनुपर्ने बाध्यतालाई समेत नाटकमा समेटिएको छ ।

नाटकमा कलाकार दिनेश काफ्ले, मिलन कार्की, अनुप न्यौपाने, बालकृष्ण रिजाल, योगिन राई, रेनुनाथ योगी, सञ्जीव राई, सङ्गीता थापा, सुजैन सिलवाल र सुदीप खतिवडाको अभिनय रहेको छ। नाटकलाई आर के रोमसले लेख्नुभएको हो भने परिकल्पना समिक बडाल र निर्देशन दिलीप खड्काको छ। असोज १७ गतेदेखि २७ गतेसम्म नाटक मञ्चन हुने छ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button