मूल खबर

हराउँदै पिङ खेल्ने संस्कृति

धनकुटाको छथरजोरपाटीस्थित ताङ्खुवामा स्थानीयद्वारा निर्माण गरिएको रोटे पिङ । तस्बिर : कविराज घिमिरे

कबिराज घिमिरे

हिले। दसैं र तिहार लक्षितगरी लगाइने पिङ एक दशक अघिसम्म धनकुटामा जताजतै देख्न पाइन्थ्यो । धनकुटाका गाउँमा लिङ्गे र रोटे गरी दुईखाले पिङ खेल्ने प्रचलन थियो । तर अहिले दसैं आउँदा पनि पिङ खेल्ने संस्कृति हराइसकेको छ ।

गाउँभरीका गाउँले भेला भएर स्थानीय बाबियो, बाँस आदिवाट लिङ्गे पिङ तयार पारिन्थ्यो । त्यस्तै, खयर सल्लोलगायतको काठबाट रोटेपिङ्ग तयार हुन्थ्यो । दसैंमा मान्यजनबाट टीका, जमरा र आशीर्बाद लिइसकेपछि एक पटक धर्ती छाड्नै पर्छ भन्ने मान्यताको आधारमा खेलिने पिङ दसैंमा नौरथा लागेसँगै लगाइन्थ्यो र तिहारसम्म खेल्ने गरिन्थ्यो ।

त्यो बेला दसैं–तिहारको मुख्य मनोरन्जनको साधनको रुपमा पिङ्गलाई लिइने गरिन्थ्यो । त्यस्तै, दसैंमा टीका लगाइसकेपछि धर्ती छाड्दा गति परिन्छ भन्ने मान्यताको आधारमा परापूर्बकालदेखि पिङ्ग खेल्ने प्रचलन रहेको धनकुटा नगरपालिका १ का बिश्वनाथ दहालको भनाइ छ ।

“पिङ्ग त्यो बेलाको दसैं–तिहारको एक मात्र मनोरन्जको साधन थियो, टीका लगाएर वा सबै भेला भएर के गर्नेभन्दा पहिले पिङ लगाउने र खेल्ने कुरो हुन्थ्यो” दाहालले भन्नुभयो ।

मनोरन्जका साधनसहित सहर बजारमा मेलामा लगाइने रोटे पिङ्गका कारण काठका रोटे पिङ्ग लोप हुदैगएको तथा गाउँमा युवापुस्ता नहुँदा पिङ्ग लोप हुदैगएको धनकुटा नगरपालिका माधब गुरागाईको भनाइ छ ।

पछिल्लो समय नेपाल प्रहरी, ससस्त्र, नेपाली सेनालगायतले पिङ्ग लगाउने गरेका छन् । त्यो बाहेक निक्कै कम मात्रामा पिङ्ग देख्न पाइन्छ ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button