स्वास्थ्य

समयमै अस्पताल नपुग्दा मस्तिष्कघात बन्छ घातक

सरोज ढुङ्गेल

काठमाडौँ। मस्तिष्कघातका बिरामी ढिलो गरी अस्पताल आउँदा पूर्ण रूपमा निको पार्न र बचाउन कठिन हुने गरेको छ । मस्तिष्कघात भएको ३० मिनेटदेखि तीन घण्टासम्म अस्पताल पुर्‍याएर विज्ञ चिकित्सकबाट उपचार गराउन सकेको अवस्थामा मस्तिष्कघात पूर्ण रूपमा ठिक हुने सम्भावना बढी रहन्छ तर बिरामी ढिलो गरी अस्पताल आइपुग्दा बचाउन कठिन हुने गरेको हो ।

ढिलो उपचार गर्दा बिरामीलाई पहिलेको अवस्थामा पूर्ण रूपमा ल्याउन नसकिने सम्बन्धित विज्ञहरूको भनाइ छ । वरिष्ठ न्युरोरोग विशेषज्ञ डा. लेखजङ्ग थापाले मस्तिष्कघात भएका बिरामी अस्पतालसम्म आउँदा बचाउन सक्ने अवस्था तथा पहिलेकै जस्तो अवस्थामा ल्याउन सक्ने समय गुज्रिसक्ने बताउनुभयो ।

बिरामी अस्पताल जाँदा पनि नजिकको अस्पतालमा मात्र जाने गरेका हुन्छन् । त्यहाँ विशेषज्ञ सेवा नहुन सक्छ र उपचार प्रभावकारी हुँदैन। वीर अस्पतालका न्युरोरोग विशेषज्ञ डा. अविनाश चन्द्रले पनि वीर अस्पतालमा आउने बिरामी ढिलो गरी आउने जानकारी दिनुभयो । उहाँका अनुसार वीर अस्पताल आउने बिरामीमध्ये १० प्रतिशत मात्र समयमा आइपुग्छन् ।

डा. थापाले मस्तिष्कघातका बिरामीलाई न्युरोसम्बन्धी सुविधा भएका अस्पतालमै लैजानुपर्ने बताउनुभयो । उहाँका अनुसार रगत जमेर (हेमोरेजिक) र रगतको सञ्चालन नभएर मस्तिष्कघात हुने भएकाले बिरामीलाई बचाउन वा पहिलेकै अवस्थामा फर्काउन समयमै अस्पताल पु¥याउनुपर्ने हुन्छ ।

रगत सञ्चालन नभएपछि मस्तिष्कले काम गर्न छाड्छ र पक्षाघातको लक्षण देखिन्छ । यस्तो मस्तिष्कघातमा मानिस हिँडिरहेको भए लड्ने, शरीरको एकातिरको भाग कमजोर हुने गर्छ । दाहिनेतर्फको मस्तिष्कमा घात भयो भने बायाँतर्फ समस्या र बायाँतर्फ मस्तिष्कमा घात हुँदा दायाँतर्फ समस्या हुने गर्छ ।

डा. थापाका अनुसार मस्तिष्कघातले अचानक ज्योति गुमाउनेदेखि शरीरको एक भाग कमजोर गराई पक्षाघात (प्यारालाइसिस) गराउन सक्छ । डा. चन्द्रले जनचेतना नभएका कारण मानिसलाई मस्तिष्कघातले असर गरिरहेको बताउनुभयो । उहाँले मस्तिष्कघातबाट बच्न सही अस्पताल सही समयको फर्मुला लागु गर्न सके पूर्ण रूपमा ठिक हुने बताउनुभयो ।

नेपाल मस्तिष्कघात सङ्घका अध्यक्ष डा. राजु पौडेलले ६० देखि माथिको उमेर समूहका मानिसलाई मस्तिष्कघात धेरै हुने गरे पनि वयस्क र बालबालिकालाई पनि मस्तिष्कघात हुने गरेको बताउनुभयो । उहाँले रगत बाक्लो छ भने मस्तिष्कघातको सम्भावना हुने जानकारी दिनुभयो । नेपालमा मस्तिष्कघातको उपचार महँगो हुने गरे पनि मस्तिष्कघात भएको तीन घण्टाभित्र अस्पताल पुग्न सके महँगो नपर्ने डा. पौडेलको भनाइ छ । समय नाघिसकेपछि उपचारमा गए महिनौँसम्म अस्पतालमा बस्नुपर्ने र खर्च पनि बढ्ने उहाँको भनाइ छ ।

डा. पौडेलले मस्तिष्कघात पनि जटिल रोग हुने भएकाले सरकारले अन्य रोगको उपचारमा एक लाख रुपियाँ सहयोग गरे जस्तै मस्तिष्कघातका बिरामीलाई पनि एक लाख रुपियाँ दिनुपर्नेमा जोड दिनुभयो ।

डा. पौडेलले मद्यपान नगर्ने, चुरोट नखाने, नियमित व्यायाम गर्दा मस्तिष्कघातबाट बच्न सकिने जानकारी दिनुभयो । उहाँले सरकारले रगत पगाल्ने औषधि सबै अस्पतालमा निःशुल्क उपलब्ध गराउन सके मस्तिष्कघातबाट बचाउन सकिने बताउनुभयो ।

यसैबिच विश्व मस्तिष्कघात दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । नेपाल न्युरो सङ्घ, नेसनल न्युरो सेन्टर, स्वास्थ्य पत्रकार मञ्च नेपाललगायतका संस्थाले मस्तिष्कघातबाट बचाउन जनचेतनामूलक कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रमको मध्यस्थकर्ता स्वास्थ्य पत्रकार महेश तिमल्सिनाले गर्नुभएको थियो ।गोरखापत्र दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button