खबर

छोराले गरे आमालाई घर निकाला, श्रीमानको काजकिरिया समेत घरवाहिरनै गर्न वाध्य

छोरा लोकबहादुर खत्रीले घर निकाला गरेपछि आमा पवि खत्री वाहिरनै श्रीमानको काज किरिया गर्नुहुँदै । तस्बिर: रमेश

रमेश विश्वकर्मा

गुल्मी । गुल्मीको मदाने गाउँपालिका– ६, पुर्कोटदह साउने पानीमा छोराहरूले आमालाई घर निकाला गरेका छन् । यसै बिच बुवाको मृत्यु भएपछि आमाले श्रीमानको काज किरियासमेत गर्न नपाएपछि घर वाहिरनै काज किरिया गर्नुभएको छ ।

८४ वर्षीया पवि खत्री क्षेत्रीलाई छोराहरूले मगर समुदायको भन्दै घर निकाला गरेपछि उहाँले सोही गाउँको एक बहुउद्देश्यीय कृषि सहकारी संस्थाको भवन बसेर श्रीमानको काजकिरिया गर्नुभएको थियो ।

विसं.२०२८ सालमा तुलबहादुर खत्रीसँग विवाह गरी घरजम गर्नुभएकी उहाँले मङ्सिर १० गते श्रीमानको मृत्यु भएपछि काज किरिया गर्न नदिई मगर समुदायको भन्दै छोराहरूले घर निकाला गरेको वडा अध्यक्ष मनीराम थापाले बताउनुभयो । तुलबहादुरले पवि खत्री क्षेत्रीसहित तीन वटी श्रीमती विवाह गर्नुभएको थियो । तर पवि मगर समुदायको भन्दै छोराहरूले घर निकाला गरेको थियो ।

श्रीमानको मृत्यु पश्चात् उहाँलाई घरभित्रै आफ्नो श्रीमानको काज किरिया गर्न नदिएपछि आमाले घरमै काज किरिया गर्न पाउनुपर्छ भन्ने मागसहित छोरी नन्दाकुमारीसहितले गाउँपालिकाको न्यायिक समितिमा निवेदन दिनुभएको थियो । न्यायिक समितिले पविको पक्षमा निर्णय गर्दै हिन्दु परम्परा अनुसार काज किरिया गर्न पाउनु पर्ने निर्णय गरेको थियो । तर छोराहरूले भने सो निर्णयलाई स्वीकार नगरी अमानवीय व्यवहार गरेको भन्दै तत्काल कारबाही गर्न माग स्थानीयले गरेका छन् ।

पविको तुलबहादुरसँग विवाह पछि एक छोरी नन्दाकुमारी समेत रहेका छन् । तर छोरा लोकबहादुर खत्रीले आमा पवि खत्री क्षेत्रीलाई घर निकाला गरेको र काज किरिया गर्न समेत दिएनन् । स्थानीय महिला समूहको सहयोगमा उहाँले सहकारीको भवनमा बसेर श्रीमानको काज किरिया गर्नुभएको छ ।

वडा अध्यक्ष मनीराम थापा सहित महिला नेतृ विष्णु कुँवरले छोरा लोकबहादुरले आमा र बहिनी माथि अमानवीय व्यवहार गरी अन्याय गरेको बताउनुभयो । मदाने गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुँवरले भने नागरिकता समेत श्रीमानबाटै बनाएका कारण कानुनी रूपमा आधार भएको र छोराले गरेको व्यवहार गलत भएकाले बताउनुभयो । आमा छोरीलाई अन्याय भएको बताउनुहुँदै उहाँले कानुनी कारबाहीका लागि सहयोग गर्ने बताउनुभयो ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button