खबर

हिमालयन बैंकको अध्यक्षमा श्रेष्ठ

काठमाडौं । हिमालयन बैंकको आइतबार काठमाडौंमा सम्पन्न ३१औँ वार्षिक साधारणसभाले प्रिमियम मूल्यमा थप सार्वजनिक निष्कासन एफपिओ जारी गर्ने प्रस्ताव पारित गर्नुका साथै सञ्चालक समितिसमेत चयन गरेको छ । साधारणसभाले बैंकले आफ्नो कुल सेयर पुँजीमा आवश्यक सर्वसाधारण सेयर धनी सेयर अनुपात कायम गर्न अंकित मूल्यमा प्रिमियम थप गरी साधारण सेयर थप सार्वजनिक निष्कासन गर्ने तथा उक्त थप सार्वजनिक निष्कासन संख्या निर्धारण गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंक सञ्चालक समिति अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको सभापतित्वमा भएको साधारणसभाले बैंक तथा यसका सहायक कम्पनीसहितको एकीकृत वित्तीय विवरण पारित गरेको छ । श्रेष्ठले समीक्षा वर्षमा सिभिल बैंक प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको तथा तत्कालीन सिभिल क्यापिटल मार्केट लिमिटेडलाई पनि बैंकको सहायक कम्पनी हिमालयन क्यापिटलले प्राप्ति गरी एकीकृत कारोबार सुरु गरिसकेको जानकारी गराउनुभएको थियो । बैंक निकट भविष्यमा सेवा विस्तारलाई ध्यानमा राख्दै धितोपत्रसम्बन्धी कारोबार गर्न हिमालयन सेक्युरिटिज लिमिटेडको नाममा अर्को सहायक कम्पनी दर्ताको तयारीमा समेत रहेको छ ।

बैंकले आर्थिक वर्ष २०७९/०८० को अन्त्यसम्म प्राप्तिसहित दुई खर्ब ७८ अर्ब ५२ करोड निक्षेप संकलन र दुई खर्ब ४२ अर्ब ७५ करोड कर्जा प्रवाह गरेको जनाएको छ । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ६२.४२ र ५५.१७ प्रतिशत बढी हो । हिमालयन बैंकको सञ्चालक समितिमा संस्थापक सेयर धनीबाट प्रतिनिधित्व गर्ने पाँच सञ्चालकमा प्रचण्डबहादुर श्रेष्ठ, फरहान तलिव, जितेन्द्र धिताल, सुनिलबहादुर थापा र प्रतापजंग पाण्डे निर्विरोध निर्वाचित भएका छन् भने सर्वसाधारणबाट आशिष शर्मा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत रमेश सापकोटाले दिनुभएको छ ।

बैंकको सोही दिन बसेको सञ्चालक समितिको बैठकले नवनियुक्त सञ्चालकमध्ये प्रचण्डबहादुर श्रेष्ठलाई सर्वसम्मतरूपमा आगामी चार वर्षका लागि बैंक अध्यक्ष नियुक्त गरेको छ ।हिमालय टाइम्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button