मूल खबर

मुख्यमन्त्रीसँगै तीन मन्त्रीले गरे सम्पत्ति विवरण सार्वजनिक

हरिहर नेपाल
विराटनगर ।

संघीय सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरूले सम्पति सार्वजनिक गर्न आनाकानी गरिरहेको बेलामा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की तथा मन्त्रीहरूले भने आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेर संघीय सरकारलाई पाठ सिकाएका छन्।

मुख्यमन्त्रीमा नियुक्ति भएको ९६ दिनमा मुख्यमन्त्री कार्कीले आफूसहित मन्त्रीहरू शम्शेर राई, गणेशप्रसाद उप्रेती र कमलप्रसाद जबेगुको सम्पत्ति विवरणमा सार्वजनिक गर्नुभएको हो।

बुधबार सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार मुख्यमन्त्री केदार कार्कीको श्रीमती शान्तादेवी बस्नेतको नाममा बुढीगंगामा १ कठ्ठा १२ धूर जग्गा छ भने बुढीगंगा र विराटनगरमा गरेर ७ वटा घडेरी छन्।

उक्त जग्गाको मूल्य १ करोड ५६ लाख ९९ हजार रुपियाँ बराबरको रहेको उल्लेख छ। मुख्यमन्त्री कार्कीका घर र सबै जग्गा श्रीमती शान्तादेवी बस्नेतको नाममा छ । कार्कीले पत्नी शान्तादेवीको नाममा बुढीगंगामा रहेको १ कट्ठा साढे १२ धुर जग्गामा घर रहेको उल्लेख गर्नुभएको छ।

उहाँले उक्त घरजग्गा पैत्रिक सम्पत्ति बेचबिखन तथा जागिरबाट आर्जन गरेको उल्लेख गर्नुभएको छ । कार्कीले आफ्नो नाममा बुढीगंगा–२ ‘क’मा पौने ९ धुर, बुढीगंगा–२ ‘क’मै सवा ११ धुर र बुढीगंगा–८ ‘ख’मा ३ कट्ठा जग्गा रहेको र ती सबै जग्गा जागिर, बोनस, कर्जा र सापटीबाट किनेको उल्लेख गर्नुभएको छ।

उहाँकी पत्नीको नाममा विराटनगरका ४ ठाउँमा गरेर १ बिघा ६ कट्ठा सवा १० धुर जग्गा छ। विराटनगरभित्र कित्तानम्बर ४० को २५० वर्गमिटर, कित्तानम्बर ३० को ८८६ दशमलव २५ र कित्ता नम्बर २४ को ४२६ दशमलव २५ वर्गमिटर तथा कित्ता नम्बर उल्लेख नगरिएको १ बिघा २ कट्ठा सवा २ धुर जग्गा छ।

मुख्यमन्त्री कार्की र परिवारका सदस्यको नाममा विभिन्न बैंकमा लगभग ८ लाख रुपियाँ नगद रहेको विवरणमा उल्लेख छ। उहाँको नाममा कृषि विकास बैंकमा २० हजार ८३ रूपियाँ ९० पैसा, उहाँकी श्रीमती शान्तादेवीको नाममा कृषि विकास बैंकमा ८२ हजार ५सय ७८ रूपियाँ ४४ पैसा र एभरेस्ट बैंकमा ३ हजार ६ सय ६० रुपियाँ छ।

यसै गरी छोराहरू साकेत कार्कीको नाममा कृषि विकास बैंकमा ३ लाख ४८ हजार ५ सय ८४ र शाब्दिक कार्कीको नाममा ३ लाख ३९ हजार ८ सय ३६ रुपियाँ ६९ पैसा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । विभिन्न ५२ वटा बैंक तथा वित्तीय संस्था तथा कम्पनीको सेयर मुख्यमन्त्री कार्की, उहाँकी श्रीमती र छोराहरूको नाममा छन् ।

कार्कीले १ करोड ८ लाख २ हजार ऋण देखाउनुभएको छ । जसमा ८ लाख ७० हजार मात्रै तिरेको उल्लेख गर्नुभएको छ। सवारीसाधनमा श्रीमती शान्तादेवीको नाममा ३ लाख १८ हजारको एक थान स्कुटर रहेको उल्लेख छ।

यस्तै, उहाँको परिवारमा विवाह, उपहार तथा खरिद गरेको २५ तोला सुन र चाँदी ८० तोला रहेको उल्लेख छ । यस्तै, श्रीमती शान्तादेवी बस्नेतकै नाममा विभिन्न बैंकमा ७ लाख ९४ हजार रुपियाँ नगद छ।

उक्त रकम तलब, भत्ता, बचत र ब्याजबाट आम्दानी गरेको उल्लेख छ। उहाँकी पत्नी शान्तादेवी कृषि विकास बैंकमा कार्यरत हुनुहुन्छ। मुख्यमन्त्री कार्की भने यसअघि कोशी प्रदेशमै आन्तरिक मामिला तथा कानुन मन्त्री बनिसक्नुभएको छ।

यस्तै, सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री शम्शेर राईको इलामको रोङ गाउँपालिकाको ६ र ४ नम्बर वडामा पाँच ठाउँमा जग्गा रहेको उल्लेख छ। यस्तै, उहाँले आफूसँग १० तोला सुन रहेको उल्लेख गर्नुभएको छ।

सम्पत्ति विवरणअनुसार उहाँसँग बैंक मौज्दात ६२ हजार र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा परिवारको सदस्य मालती राईको नाममा १ लाख ५० हजार रुपियाँ बराबरको सेयर पुँजी रहेको उल्लेख छ।

यस्तै, उहाँको यावा अलैंची खेती तथा नर्सरी र यावा बाख्रा फार्म २०७० सालमा दर्ता गरी सञ्चालन गरिरहेको उल्लेख छ। कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगुको पाँचथर फालेलुङ १, फालेलुङ २ र झापाको दुवागडी मेचीनगर नगरपालिका ५ मा ६ कित्ता जग्गा रहेको उल्लेख छ।

यस्तै, उहाँले साढे ११ तोला सुन र १५ तोला चाँदी रहेको देखाउनुभएको छ। उहाँको १ लाख रुपियाँ बैंक मौज्दात रहेको र अरुण काबेली हाइड्रो पावर लिमिटेडमा ५० कित्ता सेयर रहेको उल्लेख छ।

उहाँले हातेमालो सहकारीबाट ४ लाख रुपियाँ ऋण लिएको र आफ्नो साथमा दुहुना गाई १ वटा, हल गोरु १ र खसी १ वटा रहेको उल्लेख गर्नुभएको छ।

वन, पर्यटन तथा वातावरण मन्त्री गणेश उप्रेतीको भने श्रीमती नरमाया भट्टराईको नाममा विराटनगरमा १ कठ्ठा ५ धुर तथा सुनसरीको इटहरी १० मा ११ धुर जग्गा रहेको उल्लेख छ। यस्तै, १० तोला सुन र २० तोला चाँदी तथा विभिन्न बैंकमा परिवारको नाममा २ लाख ७८ हजार रुपियाँ नगद रहेको उल्लेख छ।

उप्रेतीको परिवारको नाममा विभिन्न वित्तीय संस्थामा १ हजार ४ सय ५० कित्ता सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ। उहाँले विभिन्न बैंक तथा वित्तीय संस्थामा ३९ लाख ५० हजार रुपियाँ ऋण तिर्न बाँकी रहेको देखाउनुभएको छ।

उहाँसँग एउटा होन्डा मोटरसाइकल र सुजुकी ब्रान्डको स्कुटर छ। यस्तै, उहाँले सामूहिक रूपमा कृषि फारम तथा गाई फारम सञ्चालन गरिरहेको उल्लेख गर्नुभएको छ।नेपाल समाचारपत्र दैनिकबाट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button