
मेचीनगर। ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा झापाको मेचीनगरमा सरसफाई रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दिवसका अवसरमा मेची भन्सार कार्यालय काँकरभिट्टाले साताव्यापी कार्यक्रम शुरु गरेको छ ।
माघ ५ गतेदेखि शुरु साताव्यापी कार्यक्रम अन्तर्गत सोमबार भन्सार परिसर सरसफाई र रक्तदान कार्यक्रम गरिएको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए । रोटरी क्लब अफ काँकरभिट्टाको संयोजनमा भन्सार परिसरमा नेपाल रेडक्रस सोसाईटि झापाको प्राविधिक सहयोगमा भएको रक्तदानमा ५२ जनाले रक्तदान गरेका थिए । संकलित सवै रगत नेपाल रेडक्रस सोसाईटि झापालाई हस्तान्तरण गरिएको मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी एवम् भन्सार अधिकृत गणपति कडेलले बताए ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक भारतीसहित सशस्त्र, नेपाल र मेचीनगर प्रहरी, उद्योगी व्यवसायीलगायतले रक्तदान गरेका थिए । रक्तदाताहरुलाई रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष इञ्जिनियर रुद्र मैनाली, पूर्व अध्यक्षहरु नवराज खनियाँ, अशोक श्रेष्ठ,दिलीप सुवेदी, राधिका गुरुङ, प्रोजेट चियर दिपेन्द्रराज पाण्डे मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीलगायतले प्रमाण पत्र प्रदान गरेका थिए ।
दिवसकै अवसरमा यसअघि मेची सामुदायिक भवनको कभर्ड हल काँकरभिट्टामा आयोजित झापा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगितामा विर्तामोडका चाण्डक्य पाठक र उत्सव उप्रेतीको जोडीले मेचीनगरका दीपक घिमिरे र दमकका विशाल राईको जोडीलाई पराजित गरेको थियो ।
मेची व्याडमिन्टन क्लबको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा २१—१८ र २१ —१६ को सोझो सेटमा जीत हात पारेको मेची व्याडमिन्टन क्लबका उपाध्यक्ष दीपक घिमिरेले जानकारी दिए । प्रथम हुनेले नगद २५ हजार तथा उपविजेताले नगद १५ हजार रुपैयाँसहित प्रमाण पत्र प्राप्त गर्ने छ । दमका जुनुन राई र कुशल बस्नेत र दमककै सुदेन राई र प्रकाश राई को जोडीले तेस्रो स्थान हासील गर्दै नगद ५÷५ हजार सहित प्रमाण पत्र प्राप्त गर्ने छ ।
पुरस्कार माघ १२ गते शुक्रबार ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका दिन प्रदान गरिने छ । हरेक वर्षको जनवरी २६ का दिन यो दिवस विश्वभर मनाउने गरिन्छ । विश्व भन्सार संगठनको निर्णय अनुसार हरेक जनवरी २६ मा यो दिवस मनाउन थालिएको हो ।




