स्वास्थ्य

के हो क्यान्सर स्क्रिनिङ? विधिहरु केके छन्?

डा दीपा गौतम

क्यान्सर विकासशील र विकसित सबै राष्ट्रहरुमा प्रमुख स्वास्थ्य समस्याको रुपमा छ। यसबाट बच्न जीवनशैलीमा सकरात्मक परिवर्तन ल्याउनु आवश्यक छ। सुर्तीजन्य पदार्थ, रक्सी सेवन आदिबाट टाढा रहनुका साथै शरीरलाई स्वस्थ राख्न तौल नियन्त्रणमा राख्नु यसबाट बच्ने प्रमुख उपायहरु हुन्। रोग लाग्नै नदिनु उत्तम उपाय हो तर लागिसकेको अवस्थामा सुरुमा नै पत्ता लगाउनसके अवश्य नै उपचारमा सहयोग हुन सक्छ।

क्यान्सर स्क्रिनिङ भनेको के हो?
कुनै पनि व्यक्तिमा क्यान्सरका लक्षणहरु देखापर्नु अगावै सुरुको अवस्थामा पत्ता लगाउने विधिलाई स्क्रिनिङ भनिन्छ। क्यान्सर फैलनुअगावै थाहा पाउन सकियो भने आयु बढाउन सहयोग गर्छ। रोग नलागेको अवस्थामा यसले अनावश्यक मानसिक तनाव दिने र परीक्षण तथा उपचार खर्च बढाउँछ भने स्क्रिनिङ गर्दागर्दै पनि कहिलेकाहीँ रोग छुट्न पनि सक्छ।

यसका विधिहरु केके छन्?
-पूर्व स्वास्थ्य अवस्थाको विश्लेषण र नियमित शारीरिक स्वास्थ्य परीक्षण (स्वयंले वा डाक्टरले स्तन जाँच गर्ने)
– प्रयोगशालामा परीक्षण- रगत, पिसाब, तन्तु आदिको जाँच
-रेडियोलोजी परीक्षण- मेमोग्राफी, सिटी स्क्यान आदि
– अनुवांशिक र क्रोमोजोमको परीक्षण

कुन किसिमका रोग स्क्रिनिङ गर्न सकिन्छ?
क्यान्सर स्क्रिनिङ धेरै रोगहरुका लागि अध्ययन भइरहेको छ तर पनि अन्तर्राष्ट्रिय स्तरमा निम्न रोगका लागि स्क्रिनिङ उपयोगी मानिन्छ:
-पाठेघरको मुखको क्यान्सर- प्याप स्मेअर, भिआइए परीक्षण, एचपिभी डिएनए परीक्षण
-स्तनको क्यान्सर- मेमोग्राफी
-ठूलो आन्द्राको क्यान्सर- कोलोनोस्कोपी
-फोक्सोको क्यान्सर- रेडियोलोजी परीक्षण (लो डोज सिटी स्क्यान)

कस्ता व्यक्तिलाई स्क्रिनिङ गर्ने?
– नेपाल सरकारले स्वास्थ्य नीति अनुसार ३० देखि ६० वर्षका सबै महिलालाई पाठेघरको मुखको क्यान्सरको लागि भिआइए परीक्षण सिफारिस गरेको छ। अन्तर्राष्ट्रिय स्तरमा भने २१ देखि ६५ वर्षका महिलाको प्याप स्मेअर र एचपिभी डिएनए परीक्षण गरिन्छ।

– ४० वर्षमाथिका महिलाले वार्षिक रुपमा स्तनको परीक्षण गराउनु उपयोगी हुन्छ। तर परिवारका सदस्यमा स्तनको क्यान्सर देखिएको छ भने जुन उमेरमा यस्तो लक्षण देखिएको हो त्यो भन्दा १० वर्षअघिको उमेरमा परीक्षण गर्नुपर्छ र परीक्षण गर्ने समयमा महिलाको उमेर कम्तीमा ३० वर्ष हुनुपर्छ।

– परिवारका सदस्यमा ठूलो आन्द्राको क्यान्सर देखिएको छ भने जुन उमेरमा यस्तो लक्षण देखिएको हो त्यो भन्दा १० वर्ष अथवा ४० वर्षको उमेर जुन पहिला आँउछ परीक्षण सुरु गर्नुपर्छ।

– नियमित लामो समयसम्म सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिहरुले पनि परीक्षण गरे राम्रो हुन्छ। यदि कसैले ३० वा त्योभन्दा बढी प्याक यर चुरोट सेवन गर्छ भने फोक्सोको क्यान्सरको उच्च जोखिममा पर्छन्। कसैले दिनमा २० खिल्ली चुरोट १ बर्षसम्म सेवन गर्छ भने त्यसलाई १ प्याक यर भनिन्छ।

आशा गरौँ कि निकट भविष्यमा उच्चस्तरका प्रविधिहरुले थोरै खर्चमा धेरै किसिमका क्यान्सरहरु सुरुको अवस्थामा पत्ता लगाउने छन्।

-(डा गौतम बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा रेडियसन अन्कोलोजी विभागकी रजिस्ट्रार हुन्)swsthyakhabarpatrik

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button