
काठमाडौं । नेपाल प्रहरीले आन्दोलनकारी संसद् छिरेको विषयमा अनुसन्धान गर्न समिति गठन गरेको छ । लघुवित्त संस्थाविरुद्ध सङ्घर्ष गरिरहेका आन्दोलनकारी नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन छिरेका घटनाबारे अनुसन्धान गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारी र प्रहरी नायब उपरीक्षक दिनेश घिमिरे सदस्य रहेको छानबिन समिति गठन गरिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिनुभया । समितिलाई घटनाका सम्बन्धमा सूक्ष्म तवरले अनुसन्धान गर्न निर्देशन दिइएको छ ।
समितिले जनप्रतिनिधिमूलक संस्था संसद् भवनको सुरक्षामा लापरबाही गर्ने प्रहरी कर्मचारीमाथि कारबाहीको सिफारिस गर्नाका साथै पुनः यस्ता प्रकारका घटना दोहोरिन नदिन राय–सुझावसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । लघुवित्त संस्थाविरुद्ध सङ्घर्ष गर्दै आएका आन्दोलनकारी साेमबार अपराह्न निषेधित क्षेत्र तोडी नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको २ नं गेटबाट भित्र प्रवेश गरेका थिए ।
प्रहरी प्रधान कार्यालयले संसद् भवनको सुरक्षामा खटिने प्रहरी निरीक्षकसहित ३२ प्रहरीलाई जिम्मेवारी मुक्त गरी अर्को टोली खटाएको छ ।
जनता समाचार



