खबर

बैङ्किङ कारोबार पारदर्शी तरिकाले भइरहेको दाबी

काठमाडौँ । नेपालका बैङ्क तथा वित्तीय संस्थाहरूले बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, नेपाल राष्ट्र बैङ्कबाट जारी हुने निर्देशनहरू तथा अन्य प्रचलित ऐन, नियमका साथै बैङ्किङ क्षेत्रका मान्य सिद्धान्तहरू समेतको पालना गरी पारदर्शी तरिकाले बैङ्किङ कारोबार गर्दै आइरहेको जनाएको छ ।

नेपाल राष्ट्र बैङ्कबाट बैङ्किङ कारोबार गर्नका लागि इजाजतपत्र प्राप्त बैङ्क तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैङ्कबाट जारी निर्देशनहरूको अधीनमा रही संस्थाहरूको आआफ्नै नीति तथा कार्यविधि बमोजिम आआफ्नो अधिकार क्षेत्रभित्र रही निक्षेप सङ्कलन तथा कर्जा लगानी गर्दै आएका दाबी गरिएको छ ।

बैङ्क तथा वित्तीय संस्थाहरूमा कुनै पनि लगानीसम्बन्धी कार्य गर्दा सोमा संलग्न हुने सबै कर्मचारी तथा सञ्चालक समितिले विधिको पालना गरी असल मनसायबाट कार्य गर्दै आएको र कथंकदाचित कसैले गलत मनसाय वा नियतले काम गरेको अवस्थामा सोमा संलग्न व्यक्तिहरूलाई प्रचलित कानुनबमोजिम कारबाही हिजोका दिनमा पनि भएको र अब पनि हुनुपर्नेमा द्विविधा नरहेको नेपाल बैङ्कर्स सङ्घले जनाएको छ ।

प्रचलित कानुन, नियमनकारी निकायबाट जारी निर्देशन तथा बैङ्किङ क्षेत्रको मान्य सिद्धान्तको अधीनमा रही काम गरिरहेका बैङ्क तथा वित्तीय संस्थाका कुनै पनि घटनामा प्रत्यक्ष संलग्न नभएका व्यक्तिलाई समेत पदीय ओहोदा वा कागजातमा हस्ताक्षर गरेका कारण निजहरूले असल नियतबाट गरेको कामलाई बेवास्ता गर्दै अनाहकमा कारबाहीको भागिदार बनाइनु हुन्न भन्ने धारणा सङ्घको रहेको छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button