मूल खबर

सन्दर्भ : बाह्रौँ राष्ट्रिय पोल्ट्री दिवस

छिटो हुर्कन थाले ब्रोइलर कुखुरा !

वसन्त पराजुली

नारायणगढ, पुस १७ गते । नेपालमा अहिले ब्रोइलर कुखुरा छिटो हुर्कन थालेका छन् । ९० दिनसम्म हुर्कन लाग्ने ब्रोइलर कुखुरा अहिले ४० देखि ४५ दिनमै तयारी भएको पाइन्छन् ।

चितवन भरतपुरकी किसान पार्वती दाहालले ४५ दिनमै आफूले पालेको ब्रोइलर कुखुरा बेच्नुभयो । “४५ दिनमा बेच्दा मैले पालेको कुखुरा बढीमा तीन किलो दुई सय ग्रामसम्मका भए । साना कुखुरा पनि दुई किलो छ सय ग्रामभन्दा बढी थियो,” उहाँले भन्नुभयो। उहाँले पहिला ९० दिनसम्म पनि कुखुरा पालेर बेचेको अनुभव सुनाउनुभयो ।

“क्रमशः दिन घट्दै गएर ४५ दिनमै कुखुरा निकाल्न थालिएको हो । तौल त ९० दिन राख्दा आउनेभन्दा अहिले ४५ दिनकै तौल बढी भएको छ,” उहाँले भन्नुभयो । उहाँको कुखुरा पाल्ने शैली पनि फरक छ ।

“मैले अरू दिनमा समान दाना दिए पनि १९ दिनको बेलुका र २१ दिनको बेलुका कुखुरालाई भोकै राखिदिन्छु, यसले पनि कुखुराको पेट खाली हुने र भोलिपल्ट मन लगाएर दाना खाँदा ह्वात्तै बढ्ने गर्दो रहेछ,” उहाँले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, “दुई दिनको साँझमा कुखुराको पेट खाली राखिदिँदा त्यसले रातो दिसा र सेतो दिसा गर्ने, पाचन प्रक्रियामा समस्या हुने जस्ता समस्याबाट मुक्ति पाएको अनुभव मैले गरेको छु ।” कुखुराविज्ञ तथा कृषि तथा वन विश्वविद्यालयका प्राडा रेवन्दकुमार भट्टराई पछिल्लो समय नेपालका कुखुरा चाँडै हुर्किरहेका बताउनुहुन्छ ।

“पार्वतीको खोरका कुखुरा तौल बढी नै हो तर पनि अहिले ४० देखि ४५ दिनमा दुई किलोभन्दा बढी तौल कुखुराको आइरहेको छ,” उहाँले भन्नुभयो । उहाँले केही वर्षअघिसम्म कुखुराको दुई किलो तौल आउन ६० दिनदेखि ९० दिनसम्म कुर्नुपर्नेे गरेको बताउनुभयो ।

“अहिले ब्रोइलर कुखुरा पाल्ने दिन पनि घटेको छ भने त्यसलाई खुवाउने दानाको मात्रा पनि पहिलाभन्दा घटेको छ,” उहाँले भन्नुभयो । विज्ञ प्राडा भट्टराईले अहिले कुखुरालाई पहिलेका तुलनामा आधा दानाले पुग्ने बताउनुहुन्छ ।

“पहिला खुला दाना दिइन्थ्यो । आधा खाने आधा फाल्ने । अहिले पौष्टिक तìवले भरिएको गोटा दाना दिइन्छ । त्यो कुखुराले केही नफली खान्छ । पहिलाभन्दा त आधा मात्रामै उसलाई पुग्छ,” उहाँले भन्नुभयो । अहिले एउटा ब्रोइलर कुखुराले आफ्नो जीवन कालमा दुई किलोको हाराहारीमा मात्रै दाना खाने उहाँले बताउनुभयो ।

“कुखुराको वंश सुधार, सुधारिएको गुणस्तरीय दाना, वातानुकूल र प्रविधिमैत्री खोरका कारण अहिले नेपालमा चाँडो कुखुरा हुर्किरहेका छन्,” उहाँले भन्नुभयो ।

एक अमेरिकी अध्ययनले पनि ५० वर्षअघिको तुलनामा अहिले ब्रोइलर कुखुरा छिटो हुर्किरहेको तथ्य सार्वजनिक गरेको छ । अमेरिकाको नेसनल चिकेन काउन्सिलले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा ५० वर्षअघि अर्थात् सन् १९७० मा ५६ दिनमा ३.६९ किलो दाना खाएको कुखुरा १.६४ किलो तौलको भयो तर सन् २०२३ मा आएर ४७ दिनमा एक किलो कुखुरा बराबर १.७५ केजी दाना खपत भएको छ । यो अवधिमा २.९७ केजी तौलका ब्रोइलर कुखुरा उत्पादन भएको र त्यसले ५.१९ किलो दाना खाएको तथ्याङ्क छ । चितवनका पुराना कुखुरा व्यवसायी कपिल खनाल विकसित देशमा भन्दा नेपालमा अहिले छिटो कुखुरा हुर्किरहेको बताउनुहुन्छ ।

“नेपालमा अहिले ४० नै दिनमा ब्रोइलर निकाल्न सकिएको छ । त्यसको तौल पनि औसत २.५ केजीका छन्,” उहाँले थप्नुभयो, “नेपालमा एक किलो तौलका लागि ब्रोइलर कुखुराले १.६ केजी दाना खाइरहेको तथ्याङ्क छ ।”

“कुखुरापालन क्षेत्रमा देखिएको तथ्यले भन्छ, नेपालमा व्यावसायिक रूपमा कुखुरापालन सुरु भएको छ । यसले कम लागतमा कुखुराको मासु उत्पादिन गरिरहेको छ,” उहाँले भन्नुभयो ।

मूल्य भने स्थिर

कुखुराको मासुको उत्पादन लागत घटे पनि नेपालमा कुखुराको मासुको मूल्य भने सन्तोषजनक नभएको गुनासो किसानको छ । किसान पार्वती दाहाल भन्नुहुन्छ, “कुखुराको मासु उत्पादनका लागि लागत त घटेको छ तर अहिले बजारमा मासुको मूल्य ज्यादै न्यून हुँदा समस्या छ ।”

आफूले १५० रुपियाँदेखि १९० रुपियाँसम्म प्रतिकिलो जिउँदो कुखुरा खोरबाट बेच्नु परेको गुनासो उहाँको छ । यो मूल्य भनेको लागत मूल्यभन्दा पनि कम हो । ह्याचरी सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछाने एउटा कुखुरा उत्पादन गर्न प्रतिकेजी दुई सय रुपियाँभन्दा बढी लागत लाग्ने गरेको बताउनुहुन्छ ।

नेपालमा अहिले मासुका लागि ३० लाख ब्रोइलर कुखुरा पालिएका छन् । जसबाट दैनिक छ लाख केजी मासु उत्पादन भइरहेको नेपाल कुखुरा सङ्घका अध्यक्ष रघुनाथ भट्टले जानकारी दिनुभयो ।गोरखापत्र दैनिकमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button