मूल खबर

मातृभाषा सिक्दै कुसुन्डा

कुसुन्डा भाषाका प्रशिक्षार्थी । तस्बिर : सलिम मियाँ

सलिम मियाँ

बिजुवार (प्युठान), फागुन २० गते । दाङ, राजपुर गाउँपालिका–७ निवासी बालाराम कुसुन्डा ३७ वर्ष पुग्नुभयो तर उहाँलाई अहिलेसम्म मातृभाषा बोल्न आउँदैन । “म कुसुन्डाको छोरा हुँ तर आफ्नै भाषा बोल्न, लेख्न जान्दिनँ,” उहाँले भन्नुभयो, “त्यसैले प्युठान आएर भाषा सिक्दै छु, आफ्नो भाषा जान्नुपर्ने रहेछ ।”

बालाराम हाल प्युठानको सरुमारानी–४, बड्डाँडामा कुसुन्डा भाषा सिक्दै हुनुहुन्छ । उहाँले भन्नुभयो, “परिवारमा कसैले यो भाषा जान्दैन । यदि नसिक्ने हो भने हाम्रो भाषा, संस्कृति र पहिचान सबै हराउँछ ।” १० कक्षासम्म पढ्नुभएका बालारामले भविष्यमा कुसुन्डा भाषा जानेर अरूलाई सिकाउने धोको रहेको सुनाउनुभयो ।

स्वर्गद्वारी नगरपालिका–२, खालका राजु कुसुन्डालाई आफ्नो कुसुन्डा भाषा छ भन्ने थाहा भए पनि ज्ञान थिएन । उहाँले भन्नुभयो, “हाम्रो पुर्खाको भाषा जान्न पाए हुन्थ्यो भन्ने लागेको थियो ।” ४० वर्षीय राजु पनि कुसुन्डा भाषा सिक्दै हुनुहुन्छ ।

सरुमारानी गाउँपालिकाले कुसुन्डा भाषा संरक्षणका लागि १५ दिने भाषा कक्षा सञ्चालन गरेको छ । पालिकाले कुसुन्डा भाषा संरक्षणसम्बन्धी कानुनसमेत पारित गरेको बताउँदै गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले भन्नुभयो, “हाम्रो उद्देश्य कुसुन्डा भाषा नयाँ पुस्तामा हस्तान्तरण गरेर यसको संरक्षण र विकास गर्नु हो ।”

देशभरका ३५ वटा कुसुन्डा समुदायका सदस्य सहभागी प्रशिक्षण सोमबारदेखि सुरु भएको छ । कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुन्डाले सरुमारानी गाउँपालिका कुसुन्डा भाषा कक्षा सञ्चालन गर्ने देशकै पहिलो पालिका रहेको दाबी गर्नुभयो । उहाँले कुसुन्डा भाषा, संस्कार र संस्कृति संरक्षणका लागि पालिकाले प्रशिक्षण सञ्चालन गरेको बताउँदै सबैको चासो बढे भाषा जीवित रहने उल्लेख गर्नुभयो ।

दाङ, घोराही–१८, सुपैलाखुटीकी ५० वर्षीया कमला कुसुन्डा एक जना मात्र कुसुन्डा भाषा बोल्न जान्नुहुन्छ । उहाँबाहेक यो भाषा जान्ने कोही पनि छैन । कुसुन्डा भाषाका अनुसन्धानकर्ता एवं शिक्षक उदय आलेका अनुसार अहिलेसम्म कुसुन्डा भाषा पुनर्जीवित गर्न सकिने अवस्थामा छ ।

कुसुन्डा भाषा नेपालमा रहेका चार भाषा परिवारमा नपर्ने अलग भाषा हो । यसका २५ व्यञ्जन वर्ण र छ वटा स्वर वर्ण तथा करिब दुई हजार मूल शब्द छन् । नेपालका प्युठान, रोल्पा, दाङ, कपिलवस्तु, अर्घाखाँची, सुर्खेत, तनहुँ, गोरखालगायतका जिल्लामा कुसुन्डा जातिको बसोबास छ । कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुन्डाले प्युठानसहित आठ जिल्लामा १५९ जति कुसुन्डा बसोबास रहेको जानकारी दिनुभयो, जसमा ६७ पुरुष र ९२ जना महिला छन् ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button