खबरहेड लाइन

‘अराजकताको पराकाष्ठा देखियो’

काठमाडौँ, चैत १६ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादी प्रतिगामी मण्डलेको अराजकताको पराकाष्ठा देखिएको टिप्पणी गर्नुभएको छ । समाजवादी मोर्चा नेपालले शुक्रबार प्रतिगामी चलखेलविरुद्ध काठमाडौँमा आयोजना गरेको प्रदर्शनपछिको सभामा उहाँले राजावादीले भिडलाई उत्तेजित पारेर आतङ्क सिर्जना गर्न खोजेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले समाजवादी मोर्चाले कार्यक्रम राखेपछि राजावादीले समेत कार्यक्रम राखेर बिथोल्ने प्रयास गरेको बताउनुभयो । “नेपाली राजनीतिको ऐतिहासिक दिनका रूपमा चैत १५ गते अङ्कित छ । “एकातिर गणतन्त्रवादीको सभा अर्कोतिर राजावादी प्रतिगामीहरूको एकै दिन पारियो । समाजवादी मोर्चाका तर्फबाट सभा गर्ने निर्णय धेरै अघि भएको थियो,” उहाँले भन्नुभयो, “राजावादीले आजकै दिन प्रदर्शन कार्यक्रम राखे । वातावरणलाई कहीँ न कहीँ धमिल्याउन चाहने, उत्तेजित पार्न चाहने, आतङ्कित पार्न चाहने मनसाय देखियो ।”

राजावादीले शान्तिपूर्ण सभा गर्नुपर्नेमा ढुङ्गामुढा गरेपछि प्रतिव्रmया दिँदै अध्यक्ष प्रचण्डले १२ वर्ष ढुङ्ग्रामा हाल्यो कुकुरको पुच्छर बाङ्गाको बाङ्गै भनेको जस्तो अराजकता देखाएको भन्दै आक्रोश पोख्नुभयो । “तीनकुनेको प्रदर्शनमा प्रतिगामी प्रेत मण्डलेको अराजकता र पराकाष्ठा छताछुल्ल भएको छ । मण्डलेहरूले घरमा आगो लगाएका छन् । प्रहरीमाथि ढुङ्गा प्रहार गरेका छन्,” उहाँले भन्नुभयो, “उनीहरू (राजावादी) ले एक/दुई जना मान्छे मरून् देशैभर आतङ्क फैलियोस् भन्ने चाहेका छन् । यो राजावादीको चरित्र हो ।”

पहिलो गल्तीस्वरूप निरङ्कुश शासन लादेकाले राजतन्त्र अन्त्य भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अर्को गल्ती गरे बाँकी केही नरहने बताउनुभयो । राजतन्त्र इतिहास भइसकेको र अब इतिहासलाई पछाडि फर्काउने दुस्साहस गरे जनताले त्यसलाई परास्त गर्ने उहाँले बताउनुभयो । “युद्ध र आन्दोलनबाट खारिएका जनता, सामन्ती सत्ताबाट दमनमा परेका जनता, दलित, महिला, मधेशी, आदिवासी जनताजाति प्रतिवादमा उत्रने छन्,” उहाँले भन्नुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजतन्त्र फर्कने कल्पना नै गर्न नसकिने बताउनुभयो । देशमा कसैले फेरि शाहवंशको शासन ल्याउन खोज्छ भने त्यसले ठुलो मूल्य चुकाउनुपर्ने भन्दै उहाँले प्रतिगामीलाई होसियार बन्न चेतावनी दिनुभयो ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले गणतन्त्रविरुद्ध विदेशी शक्तिसँग सामन्ती तत्त्वको षड्यन्त्रपूर्ण साँठगाँठ भइरहेको बताउनुभयो । उहाँले ढलेको प्रतिगामी राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी दिनुभयो ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button