मूल खबरस्वास्थ्य

जीवन विज्ञानप्रति बढ्दो आकर्षण

तस्बिर : शान्ता अधिकारी चितवनको भरतपुरमा जीवन विज्ञान समूहद्वारा सञ्चालित चव्रm विज्ञान पाठशालाका प्रशिक्षार्थी ।

चितवन, वैशाख ६ गते । चितवनको भरतपुरमा जीवन विज्ञान अन्तर्गतको चक्र विज्ञान पाठशालामा एक हजार तीन सय जनाले एकसाथ सातदिने अनुशिक्षण सुरु गरेका छन् ।

जीवन विज्ञान दर्शनका प्रवर्धक एलपी भानु शर्मा र रमेश नेपालले पालैपालो चक्र विज्ञान र यसका फाइदाबारे प्रवचन र प्रयोगात्मक कक्षा सञ्चालन गरिरहनुभएको छ । प्रवर्धक एवं गुरु एलपी भानु शर्माका अनुसार जीवन विज्ञान नेपालमा जन्मिएर हालसम्म विश्वका ७० भन्दा बढी मुलुकमा फैलिएको आधुनिक वैज्ञानिक आध्यात्मिक संस्था हो ।

नवयुगको सङ्कल्प बोकेर धर्म, जात, सम्प्रदायभन्दा माथि उठेर यो संस्था राष्ट्र सेवा र मानवसेवामा समर्पित भएको दाबी शर्माको छ । उहाँका अनुसार संस्थाले विगत १४ वर्षदेखि योग, ध्यान र समाधि साधनाका गहन प्रयोगका साथै सकारात्मक सोच, व्यक्तित्व विकास, नेतृत्व विकास, जीवनशैली व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस संस्थाका कार्यव्रmमबाट हालसम्म ४० लाखभन्दा बढी व्यक्तिले लाभ लिइसकेको संस्थाले जनाएको छ ।

भरतपुरमा जारी रहेको चव्रm विज्ञान मानिसले जन्मसँगै लिएर आएको मेरुदण्डमा आधारित रहेको अर्का गुरु नेपालको भनाइ छ । उहाँ भन्नुहुन्छ, “मेरुदण्डको तल्लो भागदेखि शिरको माथिल्लो भागसम्म रहेका सात वटा केन्द्रलाई चक्रका रूपमा मानेर योग साधना गरिन्छ ।” सातदिने यो अनुशिक्षण पूरा गरेपछि अर्थात् चक्र साधनाको माध्यमबाट सक्रिय मानिसले आफ्नो इच्छा अनुरूप प्रयोग गरी जीवनमा सुख, शान्ति र समृद्धि हासिल गर्न सकिने दाबी उहाँको छ ।

मानव शरीरको प्रमुख ऊर्जाका रूपमा रहेका यी सात चक्रलाई योगक्रिया एवं विशेष ऊर्जा ध्यानका माध्यमबाट सक्रिय बनाउन मद्दत मिल्ने दाबी जीवन विज्ञानले गरेको छ । हरेक व्यक्तिको स्वास्थ्य, सुख, साहस, प्रेम, ज्ञान, ध्यान र आनन्दको ऊर्जालाई चक्रले प्रवाहित गरेको हुँदा चक्रलाई सक्रिय बनाएको खण्डमा दुःख, रोग, तनाव, चिन्ता, निराशा, डर, अशान्ति, कठोरता एवं नकारात्मकताबाट मुक्ति मिल्ने नेपालको भनाइ छ । उहाँले दाबी साथ भन्नुभयो, “सात दिनको कोर्स पूरा गरेपछि तपाईं आफैँले यो अनुभव प्राप्त गर्नुहुने छ ।”

जीवन विज्ञानका तीन पाठ्यक्रममा चक्र विज्ञान, समृद्धि सम्वाद र बोध विज्ञान हुन् । गुरु शर्माका अनुसार समृद्धिले भरिएको जीवन र समृद्ध समाज निर्माण गर्न आफ्नो मन एवं भावनामा समृद्धिका बीज अङ्कुरित गर्ने कक्षालाई समृद्धि सम्वाद भनिन्छ । मनमा समृद्धिका भाव तरङ्ग उत्पन्न गरी तिनलाई हासिल गर्ने कार्ययोजना निर्माण गर्दै आवश्यक सत्कर्म गर्न प्रेरित गर्ने समृद्धि सम्वादको नौ दिनको कक्षा हुने गर्दछ ।

त्यस्तै चक्र विज्ञान जस्तै बोध विज्ञान अर्को पाटोका रूपमा जीवन विज्ञानको पाठ्यक्रम हो । चक्र विज्ञान जस्तै सात दिनको यो पाठ्य योजनामा प्रत्येक मनुष्यभित्र गहन शान्ति, दिव्य ऊर्जा र अथाह आनन्द प्राप्त गर्ने योग क्रिया हो । यो क्रियाबाट मानव मात्रमा लुकेको क्षमता उजागार हुने दाबी गरिएको छ । सरल तथा जीवनोपयोगी सूत्रको प्रयोगबाट आफ्नो चेतनामा निखार ल्याउँदै आफूभित्रको बोधको गहिराइमा डुब्न मद्दत गर्ने यो कार्यव्रmमले साधकको जीवनमा आध्यात्मिक चेतनाको विकास गर्न मार्गप्रशस्त गर्ने दाबी उहाँहरूले गर्नुभएको हो ।

भरतपुरमा नयाँ वर्ष सुरुवातसँगै वैशाख २ गतेदेखि जारी सातदिने चक्र विज्ञानको छैटौँ दिन शनिबार बागमती प्रदेश सरकारसमक्ष भरतपुर घोषणापत्र जारी गरी आरोग्य पर्यटनका बारेमा जानकारी दिने कार्यक्रम तय गरिएको छ ।

गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button