मूल खबरस्वास्थ्य

सन्दर्भ : विश्व थाइराइड दिवस

महिलामा जटिल बन्दै थाइराइड

सरोज ढुङ्गेल
काठमाडौँ, जेठ ११ गते । नेपालमा कुल जनसङ्ख्यामध्ये १२ प्रतिशत थाइराइडबाट पीडित छन् । हर्मोन ग्रन्थीबाट हुने थाइराइड पुरुषको तुलनामा महिलालाई बढी हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा थाइराइड नौ जना महिलालाई हुँदा एक जना पुरुषलाई हुने गरेको छ । चिकित्सकहरूका अनुसार ५० प्रतिशत मानिसलाई थाइराइड भए पनि लक्षण पत्ता लाग्दैन ।

डाइबेटिज एन्ड इन्डोक्राइनोलोजी एसोसिएसन नेपालका अध्यक्ष डा. अमित शाक्यले नेपालमा थाइराइडको समस्या जटिल बन्दै गएको बताउनुभयो । वरिष्ठ थाइराइड रोग विशेषज्ञसमेत रहनुभएका डा. शाक्यले थाइराइडसम्बन्धी केही भ्रम रहेको जानकारी दिँदै बन्दा खान नहुने, मुख बार्नुपर्ने जस्ता भ्रम रहेको बताउनुभयो । “अस्पताल आउने बिरामीको आँकडालाई हेर्ने हो भने थाइराइडका बिरामी बढिरहेका छन्,” डा. शाक्यले भन्नुभयो, “थाइराइड वृद्धि हुँदै जानुमा मानिसको जीवनशैली हो ।”

वरिष्ठ फिजिसियन तथा थाइराइड रोग विशेषज्ञ डा. भोजराज अघिकारीले पुरुषभन्दा महिलामा १० गुणा बढी थाइराइड देखिने जानकारी दिनुभयो । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार विश्वमा थाइराइडबाट पीडित बिरामी ३० करोडको हाराहारीमा पुगेका छन् । नेपालमा १२ प्रतिशतमा थाइराइड समस्या देखिएको छ । डा. अधिकारीले केही वर्षअघि थाइराइडसम्बन्धी स्वास्थ्य शिविरमा १२ प्रतिशतलाई थाइराइडको समस्या देखिएको जानकारी दिनुभयो ।

डा. अधिकारीका अनुसार थाइराइड घाँटीमा हुने एउटा ग्रन्थी हो । थाइराइड दुई किसिमको हुन्छ, जसलाई हाइपो र हाइपर थाइराइड भनिन्छ । हाइपो थाइराइड ग्रन्थी कमीको रोग हो भने हाइपर थाइराइड ग्रन्थी बढी हुने रोग हो । हाइपोमा हर्मोन अल्छी हुन्छ, राम्रोसँग हर्मोन ग्रन्थी बनाउन सक्दैन, हाइपरमा चाहिनेभन्दा बढी ग्रन्थी हुन्छ । हर्मोन ग्रन्थीले पनि काम गर्दछ । उहाँले हाइपो थाइराइड महिलाहरूमा बढी देखिने भन्दै थाइराइड जुनसुकै उमेरमा जुनसुकै मानिसमा समेत लाग्न सक्ने बताउनुभयो ।

बढी थकाइ लाग्ने, शरीर सुन्निने, फुल्ने, निद्रा बढी लाग्ने समस्या हाइपो थाइराइडमा हुन्छ । यस्तै छाला फुस्रो हुने, नङ भाँचिने, कपाल झर्ने जस्ता समस्या पनि हाइपो थाइराइडमा देखिन्छ । महिलामा महिनावारी गडबढी हुने, चिटचिट पसिना आउने जस्ता लक्षण देखा पर्दछ । हाइपर थाइराइड हाइपोभन्दा उल्टो हुन्छ । हर्मोनको मात्रा बढी भएर शरीरमा छिटो छिटो काम गर्न थाल्दछ। हइपरको मुख्य लक्षणमा मुटुको धड्कन बढी हुने, तौल घट्ने जस्ता समस्या पनि देखा पर्दछन् । यस्तै हातहरू काम्ने, नर्भस हुने, धेरै मात्रामा दिशा लाग्ने, निन्द्रा नलाग्ने, पसिना खलखल आउने जस्ता लक्षण देखिन्छ ।

डा. प्रिया योन्जनले पहिले आयोडिनको कमीले गर्दा थाइराइड हुने गरेको बताउनुभयो । उहाँले पहिले पहिले गलगाँडको समस्या पनि हुन्थ्यो भन्दै अहिले आयोडिनको कमीले थाइराइड नभई अटोइम्युनको कारणले थाइराइड हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिला कुनै कारणले घाँटी, छातीको क्यान्सर भएको छ भने पनि थाइराइड हर्मोन कमी गराउँछ ।” यस्तै कुनै कुनै औषधीको प्रयोगले पनि थाइराइड गराउन सक्ने उहाँको भनाइ छ । हाइपो थाइराइडको उपचार सस्तो र प्रभावकारी रहेको भन्दै उहाँले चक्की औषधी दिएपछि हाइपो निको हुने बताउनुभयो ।

थाइराइड रोग विशेषज्ञ डा. सन्तोष शाक्यले हाइपर थाइराइड हाइपोभन्दा अलि जटिल किसिमको रहेको जानकारी दिनुभयो । हर्मोन घटाउने थाइराइडको उपचार निरन्तर १८ महिनासम्म गर्नुपर्ने उहाँको भनाइ छ । बालबालिकालाई पनि थाइराइड रोग लाग्न सक्ने उहाँले बताउनुभयो । उहाँले गर्भवती महिलाले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

थाइराइडको उपचार पाइरहेको छ भने पनि गर्भवती हुन मिल्ने तर नियमित चिकित्सकको निगरानीमा रहनुपर्ने उहाँको भनाइ छ। यसैबिच आइतबार विश्व थाइराइड दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । ‘थाइराइड समस्यामा रोकथाम र समयमै पहिचान’ भन्ने नाराका साथ मनाइँदै छ ।आजको गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button