खबर

एनप्याब्सनको देशव्यापी शुद्धीकरण अभियान : सलकपुरमा कोशी प्रदेश स्तरीय भेला सम्पन्न, झापामा नयाँ नेतृत्व

झापा / । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) ले देशव्यापी शुद्धीकरण अभियान सुरु गरेको छ । शिक्षामा आमूल परिवर्तन, सान्दर्भिक र समय सापेक्ष राष्ट्रिय शिक्षा निति, सामाजिक सुरक्षा कोषको विद्यामान विभेदपूर्ण नितिको अन्य अन्त्य लगायत मागसहित एनप्याब्सनले देशव्यापी शुद्धीकरण अभियान अघि बढाएको हो।

मुलुकको शैक्षिक प्रगतिमा बाधक सावित भएका कानुनको खारेजी, अमिल्दा नितिगत व्यवस्थाको खारेजी र राष्ट्रिय शिक्षा निति निर्माणमा आफ्नो अपनत्व दर्ज गर्ने योजना अनुरुप वैशाख १९ गते मौजुदा केन्द्रिय समितिमा पुनरावलोकन गरेको एनप्याब्सन देशव्यापी संगठन पुनः निर्माणमा जुटेको छ ।

गीता राणा पुनः अध्यक्ष बनेपछि एन प्याब्सनले मोरङको सलकपुरमा कोशी प्रदेश स्तरीय भेला सम्पन्न गरेको छ । भेलाले केन्द्रीय कार्यक्रमलाई सफल पार्न एकताबद्ध पहल गर्ने, हिजोको सांगठनिक सुस्तताको अन्त्य गरी गतिशील बनाउने निर्णय लिएको छ । भेलामा एनप्याब्सन आबद्ध विद्यालयका दुईसय बढी प्रतिनिधिको सहभागिता थियोे ।

राणा अध्यक्ष बनेसँगै एनप्याब्सन झापा सांगठनिक संरचनामा फेरबदलसमेत गरिएको छ । झापामा एनप्याब्सनको नेतृत्व गर्ने जिम्मेवारी धर्मराज माझीलाई दिइएको छ । माझी नेतृत्वको संयोजन समितिले आइतबार बिर्तामोडमा पत्रकार भेटघाट गरी सांगठनिक संरचना, भावी योजना र कार्यक्रम तथा रणनीतिका बारेमा प्रष्ट्याएको छ । पत्रकार भेटमा सबैलाई समेटेर अघि बढ्ने र सशक्त संगठन निर्माणका लागि आपसी एकता अनिवार्य सर्त भएको बताइयो ।

झापाको संयोजन समितिमा सुवर्ण भट्टराई, हरि धिमाल, धिरजनारायण गणेश, लक्ष्मी ढकाल,पूजा कट्टेल, विमल राजवंशी, खेम दाहाल, प्रवासी चौधरीसहित नौजना रहेको जनाइएको छ । संयोजक माझीले केन्द्रमा पूर्वअध्यक्षहरु पाण्डव हमाल, कर्ण शाही, ऋतु सापकोटाले देखाएको सद्भाव र सक्रियता जिल्लामा पनि अनुसरण हुनु पर्ने बताउनुभयो ।

उहाँले केन्द्रीय नेतृत्वमा भूमिका निर्वाह गरिसक्नु भएको जयबहादुर श्रेष्ठ, सन्जीव राई लगायत शैक्षिक अगुवाको भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभयो । पत्रकार भेटघाटमा सदस्य भट्टराई र धिमालले सांगठनिक योजनाका बारेमा मत राख्नुभएको थियो। पत्रकार भेटमा एनप्याब्सन झापामा विगतमा ७५ वटा विद्यालय आबद्ध भएको र अब त्यो संख्या बढ्ने बताइयो ।

एनप्याब्सन गुठी र सार्वजनिकीकरणको विपक्षमा रहेको र कम्पनी ऐन, नितिमा रहेर राज्यलाई कर तिर्न तयार रहेको बताइएको पत्रकार भेटघाटमा कानुनी उल्झनको अन्त्यको माग गरियो । विद्यार्थीलाई विश्व प्रतिस्पर्धी र युग सुहाउँदो शिक्षा एनप्याब्सनको लक्ष्य भएको बताइयो ।

प्रविधियुक्त शिक्षा वर्तमानको अपरिहार्य सर्त भएकोमा एनप्याब्सनमा कुनै दुविधा नरहेको बताइएको कार्यक्रममा सोही अनुरुपको निति निर्माण र व्यवहार गर्न सरकारलाई भनियो । मुलुक शैक्षिक उन्नयनमा निजि क्षेत्रको भूमिकालाई गौण नठान्न एनप्याब्सन झापाले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button