
काठमाडौँ, भदौ ५ गते । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा सभाका सदस्यले नेपाल स्वास्थ्य सेवा, संसद् र पशु चिकित्सक समूहलाई सङ्घीय निजामती सेवा अन्तर्गत राख्न जोड दिनुभएको छ । उहाँहरूले विधेयक मसौदा गर्दा दुवै सेवा र समूहलाई भूलवश वा बुझेरै नराखिएको सम्बन्धमा प्रस्ट्याउन माग गर्नुभएको हो ।
समितिमा सङ्घीय निजामती विधेयक–२०८० माथि दफावार छलफल हुँदै छ । छलफलमा विधेयकका संशोधनकर्ता राष्ट्रिय सभाका सदस्यहरू जितजङ्ग बस्नेत, गोपाल भट्टराई, शेखरकुमार सिंह, डा. अञ्जान शाक्य, मृगेन्द्रकुमारसिंह यादव, झक्कु सुवेदीले नेपाल स्वास्थ्य सेवा, पशु चिकित्सक र प्राविधिक तथा कृषि अनुसन्धानका वैज्ञानिकलाई निजामती सेवा अन्तर्गत राख्न माग गर्नुभयो । उहाँहरूले सोही बेहोरा संशोधनसमेत राख्नुभएको छ ।
सङ्घीय निजामती सेवा विधेयकको दफा ५ मा सङ्घीय निजामती सेवा अन्तर्गत ११ वटा सेवा रहने प्रस्ताव गरिएको छ । निजामती सेवा अन्तर्गत संसद्, नेपाल स्वास्थ्य, पशु चिकित्सक र प्राविधिक तथा कृषि अनुसन्धानका वैज्ञानिक छैनन् ।
छलफलमा उठेका विषयलाई सम्बोधन गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले नेपाल स्वास्थ्य अन्तर्गतका कर्मचारीको सेवा सुविधा र कामको प्रकृतिसमेत फरक रहेकाले विधेयकमा नराखिएको प्रस्ट्याउनुभयो । उहाँले भन्नुभयो, “विगतमा उहाँहरूको आन्दोलनले निजामती कर्मचारीमातहत नबस्ने माग गरे अनुसारै छुट्टै सेवा अन्तर्गत राखिएको हो । सो सेवाका कर्मचारीले गर्ने कामको प्रकृति फरक हुन्छ । निजामती सेवाका कर्मचारीले पाउने सुविधा उहाँहरूका लागि कम हुन जान्छ ।” मन्त्रालयका सचिव रविलाल पन्थले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा प्रतिवेदन लेखनव्रmममा भनिएको गडबडीले संसद् सेवालाई निजामती सेवा अन्तर्गत नराखेर छुट्टै राख्नुपर्ने तर्कलाई बल दिएको बताउनुभयो । समितिले सो विषयमा सहमति गरेको छैन ।
गोरखापत्र अनलाइन



