मूल खबर

थाइल्यान्डमा संसद् विघटन गरिँदै

काठमाडौँ, भदौ १९ गते । थाइल्यान्डमा संसद् विघटन गरिँदै छ । कार्यवाहक प्रधानमन्त्री फुमथम वेचाचाइलले सरकार चलाउन सक्ने अवस्था नरहेपछि संसद् विघटन गर्न राजासमक्ष सिफारिस गर्नुभएको एएफपीले जनाएको छ । त्यहाँको सबैभन्दा ठुलो विपक्षी पार्टीले प्रतिद्वन्द्वी उम्मेदवारलाई समर्थन गरेपछि थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री संसद् विघटन गर्न अघि बढ्नुभएको उहाँको पार्टीले बुधबार जानकारी गराएको छ ।

गत साता संवैधानिक अदालतले कम्बोडियासँगको सीमा विवादमा प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई सत्ताच्युत गरेपछि सरकारको नेतृत्वमा रिक्तता सिर्जना भएको थियो । काम चलाउ सरकारको भूमिकामा रहँदै फेउ थाई पार्टी प्रधानमन्त्रीका लागि आफ्नै उम्मेदवारलाई समर्थन गर्नुपर्ने अवस्थामा विपक्षी पिपुल्स पार्टीलाई सहयोग गर्ने निर्णयमा पुगेको थियो तर पिपुल्स पार्टीले यसको सट्टा रूढिवादी व्यापारी अनुतिन चार्नविराकुललाई समर्थन गर्ने घोषणा ग¥यो ।

यस घोषणाको केही क्षणमै फेउ थाई पार्टीका महासचिव सोरावोङ थिएन्थोङले कार्यवाहक प्रधानमन्त्री फुमथमले ‘सदन विघटनको आदेश पेस गरेको’ बताउनुभयो । थाई संविधान अनुसार राजाले संसद् विघटनलाई स्वीकृति दिएपछि ४५ देखि ६० दिनभित्र नयाँ चुनाव हुनुपर्ने प्रावधान छ ।

फेउ थाई पार्टी सिनावात्रा परिवारको चुनावी प्लेटफर्म हो, जसले दुई दशकदेखि राजतन्त्र समर्थक र सैन्य समर्थक अभिजात वर्गसँग सत्ताको सङ्घर्ष गर्दै आएको छ तर विश्लेषकहरूका अनुसार उनीहरूको प्रभाव क्रमशः घट्दै गएको छ र सत्तामा टिकिराख्न कठिनाइ भएको छ । संसद् विघटनको प्रक्रिया अघि बढ्दै गर्दा अनुतिन शीर्ष पदमा पुग्ने वा नपुग्ने भन्ने प्रश्न अझै स्पष्ट छैन ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button