खबरहेड लाइन

बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ४९ पुग्यो, ७ जना बेपत्ता

काठमाडौँ- विगत २४ घण्टामा भएको अत्यधिक वर्षाका कारण आएको बाढी र पहिरोमा पुरिएर ४९ जनाको मृत्यु भएको छ । ७ जना बेपत्ता र २० जना घाइते भएका छन् ।

इलाममा मात्र ३४ जनाको मृत्यु भएको छ । आज अपराह्न प्राप्त विवरणअनुसार चार जना बेपत्ता भएका छन् । पहिरोमा परी मृत्यु भएका ११ जनाको शव परीक्षण भइसकेको इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो ।

क्षतिको विस्तृत विवरण आउनेक्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पहिरोमा परी सूर्याेदय नगरपालिका–१ मानेभञ्ज्याङमा पाँच, इलाम नगरपालिका–६ घोसमा छ, सन्दकपुर गाउँपालिकामा चार, माङ्सेबुङ गाउँपालिकामा तीन, देउमाई नगरपालिकामा आठ, माइजोगमाई गाउँपालिकामा सात र फाकफोकथुम गाउँपालिकामा एक गरी ३४ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिनुभयो ।

विपदमा परी सन्दकपुर गाउँपालिकामा दुई तथा इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकामा एक÷एकजना बेपत्ता भएका छन् । यसैबीच बाढी पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ४९ पुगेको छ । सशस्त्र प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार मृतकको सङ्ख्या ४९ पुगेको हो । इलाममा ३७ जना, उदयपुरमा २ जना, खोटाङमा १ जना र पाँचथरमा ६ जनाको ज्यान गइसकेको छ ।

त्यसैगरी मधेशको रौतहटमा ३ जनाको ज्यान गएको छ । बेपत्ता हुनेमा इलाममा एक जना, बारामा १ जना, रसुवामा ४ जना र काठमाडौंमा १ जना गरी ७ जना रहेको छ । यसैगरी इलाममा ७ जना, उदयपुरमा १ जना, खोटाङमा ३ जना, भोजपुरमा २ जना, पाँचथरमा ६ जना र मकवानपुरमा १ जना गरी २० जना घाइते भएका छन् ।नेपाल टिभी अनलाइनबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button