कृषि र किसानखबर

एउटै गाउँबाट दुई करोडको तरुल,गाउँ नै व्यावसायिक उत्पादनमा

हरिप्रसाद कोइराला

उर्लाबारी, मङ्सिर २५ गते । माटो अनुसारको बाली छनोट गर्ने हो भने सिँचाइ सुविधा नभएका खेतबाट पनि प्रशस्त आम्दानी लिन सकिन्छ । मोरङको सुन्दरहरैँंचा नगरपालिका–७ र ८ का किसानलाई यतिबेला कन्दमूल (तरुल) खन्न भ्याइनभ्याइ छ । पहिले केरा खेती लगाएको खेतमा हात्तीले दुःख दिएपछि यहाँका किसान तीन वर्षयता तरुलको व्यावसायिक उत्पादनमा लागेका छन् ।

वडा नम्बर ७ र ८ राजमार्ग उत्तरतर्फका जमिनमा आजभोलि जताततै तरुल खेती देख्न सकिन्छ । स्थानीय किसान खेमराज कट्टेलले तीन वर्षअघि एक बिघा खेतमा तरुल रोपेर उत्पादन र बजारको परीक्षण गर्नुभएको थियो । पहिलो वर्षमै खर्च कटाएर सवालाख रुपियाँ बचत भएपछि उहाँले दोस्रो वर्ष साढे तीन बिघामा तरुल लगाउनुभयो ।

उहाँले भन्नुभयो, “रुखो खेत थियो । सिँचाइ हुँदैन । केरा खेती गर्दा हात्तीले बाली पनि खाने मान्छे पनि मार्ने गरेपछि तरुल खेती लगाउन थालेको हुँ ।” दोस्रो वर्ष पाँच लाख रुपियाँ बचत भएपछि कट्टेलले यस वर्ष सात बिघामा तरुल लगााउनुभएको छ । यो वर्ष विगतको तुलनामा दोब्बर आम्दानी गर्न उहाँको लक्ष्य छ ।

हाल सुन्दरहरैँचाको ७ र ८ वडाका किसानले १२५ बिघामा तरुलको व्यावसायिक खेती गरिरहेका छन् । हाल बजारमा प्रतिकिलो सय रुपियाँमा बिव्रmी भइरहेको तरुल किसानले बारीबाट ४५ देखि ५० रुपियाँ किलोमा बेच्छन् । अगुवा किसान कट्टेलले आफूले मात्र झन्डै २३ लाखको तरुल बेच्ने बताउँदै सबै किसानको हिसाब गर्ने हो भने दुई करोड रुपियाँभन्दा माथिको तरुल बजार जाने बताउनुभयो ।

तरुल खेती गर्दा प्रति बिघा छ सय किलो बिउ आवश्यक पर्छ । घन्सी जातको घाँसे बिरुवा बिच बिचमा रोपेपछि त्यही बिरुवामा लहरा झाँगिन्छ । बिचमा एक पटक सामान्य गोडमेल गरेपछि तरुल खन्न लायक हुन्छ ।

कट्टेलका अनुसार तरुल खेती सुरु भएपछि स्थानीय कृषि मजदुरले काम पाउन थालेका छन् । काम मौसमी हुन्छ तर काम सुरु भएपछि दुई महिना निरन्तर चल्छ । उहाँले २२ जना कामदारलाई आफूले नियमित काम दिइरहेको बताउनुभयो ।

यहाँ उत्पादन हुने तरुल मुख्यतः काठमाडौँमा बढी खपत हुने गर्छ । हात्तीछाप जातको गुलाबी रङको सजिलै खन्न सकिने भएकाले खेती गर्दा सहज हुने अर्का किसान देवीरमण खरेलले बताउनुभयो । खरेलले केरा बालीमा हात्तीको दुःखसँगै रोग बढेपछि विकल्पका रूपमा तरुल खेती रोजेको बताउनुभयो । उहाँले आफ्नै १२ बिघामा तरुल लगाउनुभएको छ ।

कट्टेल र खरेलले तरुल खेती लगाएपछि यतिबेला गाउँ नै तरुलमय भएको छ । राजु सिटौलाले चार बिघामा, हेम उप्रेतीले डेढ बिघामा र शङ्कर उराँवले छ बिघामा तरुल लगाउनुभएको छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button