
मेचीनगर । छुर्पी व्यवसायी संघको सभामा नजिकिदै गरेको नेपाल उद्योग बाणिज्य महासंघको चुनावमा उम्मेद्वार बन्न व्यवसायी नेताहरुले घोषणा गर्न थालेका छन् ।
शनिबार धुलाबारी स्थित होटल रोयल निर्माणको सभाहलमा नेपाल छुर्पी व्यवसायी संघको बार्षिक साधारण सभामा व्यवसायी नेताहरुले बाणिज्य महासंघको चुनावमा उठ्न आ–आफ्नो पदका लागि दावी गरेका हुन् ।
महासंघको चुनाव आगामी चैत २८ र २९ गते हुँदैछ । छुर्पी व्यवसायी संघको सभाका प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका वस्तुगत तर्फका उपाध्यक्ष हेमराज ढकाल पनि चुनावमा वरिष्ठ उपाध्यक्षका दावेदार रहेको बताइएको छ ।
कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले उम्मेद्वार घोषणा गरेका छन् । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले फेरि त्यहि पदमा दोहोर्याउने, केन्द्रीय सदस्यद्वय नरेन्द्रकुमार खड्का र उमेश डालमियाले उपाध्यक्ष पदमा, केन्द्रीय सदस्य कमला श्रेष्ठले महिला उपाध्यक्षमा, केन्द्रीय सदस्य लिलेन्द्र प्रधानले फेरि त्यहि पदमा दोहोर्याउने, कार्गो व्यवसायी संघका अध्यक्ष राजेन्द्र संग्रौलाले केन्द्रीय सदस्यमा, छुर्पी व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष नरेशलाल श्रेष्ठले वस्तुगत उपाध्यक्षमा उम्मेद्वार दिने घोषणा गरेका थिए ।
व्यवसायी नेताहरुले चुनाव नजिकै आएको चहलपहल बढ्न थालेको बताएका छन् । व्यवसायीहरुको विभिन्न कार्यक्रममा अब चुनाव कै बारेमा धेरै चर्चा हुने गरेको एक व्यवसायी नेताले बताए ।
कार्यक्रममा प्रमुख अतिथि ढकाल, रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोज चापागाई, मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई, उम्मेद्वारमा इच्छा राख्ने सबै व्यवसायीहरुले काम चलाउ सरकार र मुल राजनीतिक सही दिशामा नभएकोले कर, भ्याट, भन्सार लगायत व्यवसायीका विभिन्न समस्याहरु सुनुवाई नभएको बताएका थिए ।
महासंघमा आवद्व छुर्पी लगायतका १८ वटा संघ–संस्थाहरुलाई अदालतले महासंघको सदस्य बन्न रोकेको छ । ति संस्थाहरुले भोटको राजनीतिक गरेको भन्दै त्यसको विरोध गरेका थिए । प्रमुख अतिथि ढकालले ति संस्थाहरुको समस्या चुनाव अगावै समाधान गरेर जाने बताए ।
छुर्पी व्यवसायी संघलाई सरकारले उत्कृष्ट निर्यात व्यवसायी भनेर सीआईपीको मान्यता समेत दिएको छ । संघका अध्यक्ष रेशमबहादुर पोखरेलले पशुको आहारका रुपमा अमेरिकामा हिमालयन डगच्यूका छुर्पी परिचित रहेको बताए । अमेरिकामा कुकुरलाई खुवाउन छुर्पी प्रयोग गरिन्छ । यसको माग अमेरिका लगायत युरोपका देशहरुमा बढी छ ।
उनका अनुसार नयाँ उत्पादकका रुपमा डगच्यु निर्यात गर्ने पहिलो व्यवसाय हो । बार्षिक ५ अर्बको छुर्पी निर्यात हुने गरेको छ । कोशी प्रदेशमा नै ८० प्रतिशत दुधजन्य पदार्थबाट छुर्पी लगायत खाद्य सामग्री उत्पादन हुन्छ ।
अध्यक्ष पोखरेलले युरोप, चीन, भारत लगायतका देशहरुमा पनि डगच्यू पठाउने तयारी गरिरहेको जानकारी दिए ।
छुर्पी व्यवसायी संघका अध्यक्ष पोखरेलले स्वागत गरेको कार्यक्रमको धन्यवादसहित समापन वरिष्ठ उपाध्यक्ष नरेशलाल श्रेष्ठले र सहजीकरण मेची उद्योग बाणिज्य संघका कार्यकारी निर्देशक गोपाल वस्नेतले गरेका थिए ।



