स्वास्थ्यहेड लाइन

कुखुरामा एन्टिबायोटिक प्रयोग

मानव स्वास्थ्यका लागि हानिकारक

सरोज ढुङ्गेल

काठमाडौँ, पुस २७ गते । सर्लाहीका विदुर सुवेदी कुखुरापालक किसान हुनुहुन्छ । उहाँले कुखुरालाई एन्टिबायोटिकको प्रयोग गरेर तौल बढाउनका लागि पशु प्राविधिकको सल्लाह लिनुहुन्छ ।

उहाँ जस्ता हजारौँ किसान कसरी कम समयमा कुखुराको तौल बढाउने र आम्दानी गर्ने भन्नेमा बढी तल्लीन हुन्छन् । चल्लालाई एन्टिबायोटिक दिएर ३५ दिनमै ठुलो बनाउने र बिक्री गर्ने कुखुरापालक कृषकको ध्यान हुन्छ । जति धेरै दिन कुखुरा पालेर राख्यो त्यति नै घाटा बेहोर्नुपर्ने कारणले किसान लामो समयसम्म कुखुरा पाल्न चाहँदैनन् । कृषकलाई कुखुरामा कुन एन्टिबायोटिकको प्रयोग भएको छ भन्दा पनि कसरी कुखुरालाई कुनै रोग नलागी हुर्काएर बिक्री गर्ने भन्ने चिन्ता बढी हुन्छ । “प्राविधिकले जुन औषधी प्रयोग गर्न सिफारिस गर्दछ, किसानले त्यही औषधी प्रयोग गर्ने हो,” सुवेदीले भन्नुभयो, “किसानलाई एन्टिबायोटिकभन्दा कुखुरा हुर्काएर बिक्री गर्ने र आम्दानीको बढी चिन्ता हुन्छ ।”

नेपालमा उचित मापदण्ड नहुँदा अघिल्लो दिनसम्म एन्टिबायोटिक सेवन गरिरहेको कुखुरा भोलिपल्ट बजारमा ल्याएर बिक्री गर्ने गरिन्छ । कुखुरापालक किसान सुवेदी एन्टिबायोटिक प्रयोगले हुर्किएका कुखुरा ४० दिनमा बिक्री गरिसक्नुपर्ने भन्दै अन्यथा घाटा बेहोर्नुपर्ने बताउनुहुन्छ ।

कुखुरामा एन्टिबायोटिकको अत्यधिक र अनुचित प्रयोगले मानव स्वास्थ्यमा समेत असर पर्दछ । मुख्यतया एन्टिमाइक्रोबियल प्रतिरोधी क्षमताको विकासमा गम्भीर प्रभाव पार्न सक्दछ । पशु स्वास्थ्य विभागका महानिर्देशक डा. उमेश दाहालले नेपालमा कुखुरामा एन्टिबायोटिकको प्रयोग बढिरहेको जानकारी दिँदै त्यसलाई रोक्न सबैको सहकार्य आवश्यक रहेको बताउनुहुन्छ ।

कुखुरामा एन्टिबायोटिकको प्रयोगले ती औषधीप्रति प्रतिरोधी क्षमता भएका ब्याक्टेरिया उत्पादन हुने र मानिसले त्यस्तो कुखुराको मासु उपभोग गर्दा प्रतिरोधी ब्याक्टेरिया मानव शरीरमा प्रवेश गर्दछन् । महानिर्देशक डा. दाहालले एन्टिबायोटिकको उचित प्रयोग गर्नुपर्ने भन्दै एन्टिबायोटिकको आविष्कारकै समयमा वैज्ञानिकले यसको दुरुपयोग भएमा भविष्यमा गम्भीर सङ्कट आउन सक्ने चेतावनी दिएको स्मरण गर्नुभयो ।

उहाँले कुखुराको तौल वृद्धि एन्टिबायोटिक प्रयोगका कारणले मात्र नभई प्रजनन सुधार, पोषण व्यवस्थापनका कारण हुने बताउनुभयो । डा. दाहालले उपचारका लागि आवश्यक मात्रामा एन्टिबायोटिक प्रयोग उचित हुने तर त्यसको दुरुपयोग गर्नै नहुने बताउनुभयो । पशु स्वास्थ्य विभागले मासुको परीक्षण गरिरहेको भन्दै दाहाल मानिसमा एन्टिबायोटिक ‘रेसिस्ट’ हुनु (काम नगर्नु) पशु उत्पादनमा यसको प्रयोग मात्र नभई मानिसले सामान्य बिरामी पर्दा आफैँ फार्मेसीमा गएर एन्टिबायोटिकको सेवन गर्नु मुख्य कारण भएको बताउनुहुन्छ । महानिर्देशक डा. दाहालले मन्त्रालयले तयार पारेको एन्टिमाइक्रोबियल प्रयोगसम्बन्धी मार्गनिर्देश अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँ जनचेतना अभिवृद्धि र एन्टिबायोटिकका विकल्प प्रवर्धनमा विभागले सक्रिय भूमिका खेलेको दाबी गर्नुहुन्छ । डा. दाहालले अण्डामा कम्तीमा उत्पादन मिति र उत्पादन स्थल खुल्ने गरी लेबलिङ अनिवार्य गर्नुपर्ने, गलत अभ्यास गर्नेलाई कडाइका साथ कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।

उपत्यकाका तीन जिल्लामा गरिएको एक अध्ययनमा ३० पोल्ट्री फार्ममध्ये ९० प्रतिशतमा एन्टिबायोटिक प्रयोग भइरहेको पाइएको थियो । अध्ययनका क्रममा प्रतिबन्धित एन्टिबायोटिक प्रयोग, किसानलाई कुन रोगका लागि औषधी प्रयोग गरिएको हो भन्नेसमेत जानकारी नहुनु र त्यसको तथ्याङ्क नराखिएको पाइएको थियो । यसै गरी कुखुरामा मानिसको अन्तिम अवस्थामा प्रयोग हुने शक्तिशाली एन्टिबायोटिक कुखुरामा प्रयोग भएको पनि पाइएको छ । महानिर्देशक दाहाल पशु चिकित्सकको सल्लाह अनुसार मात्र किसानले एन्टिबायोटिकको प्रयोग गर्नुपर्ने बताउनुहुन्छ । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता ज्योति बानियाँ संविधानको धारा ४४ ले उपभोक्ता हित सुनिश्चित गरे पनि व्यवहारमा लागु हुन नसकेको बताउनुहुन्छ । उहाँले खाद्य गुणस्तर र सुरक्षाको प्रत्याभूति हुन नसकेको भन्दै एन्टिबायोटिक प्रयोगको नियमन र गुणस्तर सुनिश्चिततामा सरकारको प्रभावकारी भूमिका आवश्यक रहेको बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसीले कुखुरामा एन्टिबायोटिकको प्रयोग कम गर्न ‘एक स्वास्थ्य’ अवधारणाअघि बढ्नुपर्ने बताउनुभयो । कुखुरामा मात्र होइन, खसीमा समेत सुईको प्रयोगले तौल बढाउने गरेकाले सरकारले कठोर नीति अवलम्बन गर्नुपर्ने बताउँदै उहाँले एन्टिबायोटिकबिना आधुनिक चिकित्सा सम्भव नभए पनि यसको उचित प्रयोग अनिवार्य भएको बताउनुहुन्छ ।गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button